|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठनको  बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो। 

मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। ‘मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल भइरहेको छ। बिहिबार पनि उहाँहरूबीच छलफल भएको थियो। त्यहीको निरन्तरतामा उहाँहरु छलफलमा जुट्नुभएको छ’ उनले भने।

प्रधानमन्त्री ओलीले केही नेताहरुलाई मात्रै विदाई गरेर रिक्त स्थान परिपूर्ती गर्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल दुई वर्षे कार्यकाल पुरा भइसकेका हरुलाई बिदा गरेर नयाँ अनुहार ल्याउने पक्षमा रहेको बुझिएको छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहिबारको भेटवार्ताको क्रममा यही बिषयमा कुरा बाझिएको थियो। तर, आजको बैठकलाई अन्तिम गृहकार्यको रुपमा हेरिएको स्रोतको दाबी छ। 

यसअघि मंगलबार पेरिस डाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो। अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय खाली रहेका छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्बाङले सम्हालेका छन्।  भदौ २६ गतेको स्थायी कमिटीको निर्णय अनुसार सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको थियो। 

पार्टीभित्रको लामो संघर्षपछि सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेकाले कसलाई लैजाने भन्ने बिषयमा पार्टीभित्र विवाद रहेको बुझिएको छ। अध्यक्षद्धयको सहमतिपछि मात्रै मन्त्रिपरिषद् हेरफेर प्रक्रिया अघि बढ्छ। 

त्यसो त अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि सरकारलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सबै मन्त्रीहरु फेर्नुपर्ने अडान राखेका छन्। सबै मन्त्रीहरु फेर्नुपर्नेमा सचिवालय बहुमत देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.