|
फाइल फोटो

काठमाडौं : पूर्व ट्राफिक प्रहरी निरीक्षकसमेत रहेका सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरीको प्रमुख भएपछि सडक पेटी (फुटपाथ) अतिक्रमणविरुद्ध अभियान शुरू गरेका छन्‌।

नगर प्रहरी बलको प्रमुखमा नियुक्त भएलगत्तै हाछेथुले पसल-कबल लिएर फुटपाथमा सामान थुपार्ने विरुद्ध कारवाही अभियान शुरू गर्ने बताएका थिए। हाछेथुका अनुसार पहिलो चरणमा ललितपुर महानगरभित्र रहेका ग्यारेजहरूबाट फुटपाथ अतिक्रमण ८० प्रतिशत घटेको छ। अस्थायी रुपमा रहेका फुटपाथभन्दा पनि सटर भाडामा लिएर सडक मिच्ने प्रवृत्ति हावी भएकोले उनीहरूलाई पत्र काटेपछि नियन्त्रणमा आएको उनले बताए।

उनले भने, 'यहाँ वर्कसपका करिब ३ सय १४ वटा सटरहरू रहेछन्। उहाँहरूलाई मैले पत्र काटेर आफ्नो व्यवसाय संचालन  कानूनसम्मत गर्न आग्रह गरिसकेको छु। यदी कसैले अटेर गर्छ भने सम्मानका साथ नियमअनुसार कारबाही गर्न म बाध्य हुन्छु।' 

उनको अनुभवमा अस्थायी रूपमा कारबाही गरेर समस्या समाधान हुन सक्दैन। समस्या समाधान गर्न २० औं वर्षदेखि स्थायी रुपमा बसेका फुटपाथ हटाउन जरुरी रहेको उनी बताउँछन्‌।

अहिले नगरमा भएका सम्पूर्ण समस्या समाधानका लागि आमजनताले महानगर र वडासँग गुनासो पोखिरहेका छन्‌। अधिकांश गुनासा सम्बोधन भएका छैनन्। अब भने आफैं सडकमा उत्रिएर नगरवासीको साझा समस्यालाई तत्काल सुनुवाइ गर्ने हाछेथु बताउँछन्‌। 'सामान्यतया ढल निकासजस्ता सामान्य समस्या भएपनि सीधा मलाई सम्पर्क गर्नुस्‌। त्यसबारे जिम्मेवार निकायलाई तत्काल जानकारी गराएर काम थाल्न म आफैं पहल गर्छु।'

हाछेथुले शहरलाई बस्न योग्य बनाउने भूमिका खेल्न नगर प्रहरीको ठूलो भूमिका रहेको बताए। सांस्कृतिक शहर ललितपुरको मौलिकता जोगाउने अभिभारा पुरा गर्ने  जीवनयापनलाई सहज बनाउन स्थानीय प्रहरीका रुपमा चरणबद्ध रूपमा कामहरू हुने उनले जानकारी दिए। 

उनी प्रमुख बनेको एक महिना हाराहारी पुग्न आँट्यो। यो बीचमा उनले शहरको सँगै नगर प्रहरीमा पनि समस्याका चाङ देखेका छन्। कतिपयलाई नगर प्रहरी भनेको फुटपाथ व्यवस्थापन गर्ने सानो अंश हो भन्ने लाग्ने रहेछ। तर, यो गलत हो। उनीहरू नगरका पहरेदार पनि हुन्।

तर, नगर प्रहरीको आचरण पनि सम्मानजनक नभएकोले त्यस्तो सोचाइ हुन गएको उनले बताए। 'यतिसम्म कि कयौं नगर प्रहरीहरूले आफ्नो पेशा भन्न पनि लाज मान्दा रहेछन्। किन भने नगर प्रहरीलाई समाज र टोलले हेप्ने रहेछन्। नगर प्रहरीले पनि ट्राफिक प्रहरीलाई झैं म पनि जनताको सेवक हुँ भन्न सकुन्‌ भन्ने हेतुले नेपालकै नमूना नगर प्रहरी बनाउने काममा मैले योजना बनाएको छु,' उनले भने, 'सर्वसाधारणको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सलाम गर्छौं। सम्मान  गर्छौं। तर, नगर प्रहरीलाई हेरिने दृष्टिकोण सम्मानजनक छैन। नगर प्रहरीले फुटपाथमा प्रहरीले गरीबलाई मात्रै कारबाही गर्दोरहेछ। धनीहरूलाई छोडिदिँदो रहेछ।  जसले गर्दा गरीबको उठीबास लगाउने पात्रको रूपमा प्रहरी परिचित रहेछ।'

नगर प्रहरीलाई कसरी सुन्दर नमूना बनाउने भन्नेबारे कसैले ध्यान नदिएको उनले गुनासो पोखे। उनका अनुसार अब वर्ग र कर्मको हिसाबले कोही कसैमाथि ललितपुरमा पक्षपात हुनेछैन। 'प्रहरीले कसैलाई पनि तल्लो स्तरको सम्बोधन गरेको खण्डमा कारबाही गर्छु। गल्ती गर्नेलाई पनि कानूनसम्मत कारबाही गर्न जरुरी छ, तल्लो स्तरको गाली गर्न जरुरी छैन,' उनले भने, 'समाजले हामीलाई सम्मान गरोस भन्ने चाहन्छौं भने हामीले हाम्रो आचरण सुधार्न जरूरी छ।' 

उनी आएपछि नगर प्रहरीलाई ६ वटा नयाँ गो-प्रो क्यामरा किनेका छन्। 'हामीले पनि सधैं फुटपाथमा व्यवसायीहरूको मात्र गल्ती देख्छौं। तर, गल्ती नगर प्रहरीको पनि हुन्छ। अब गो-प्रोले नगर प्रहरीको गल्ती पनि देखाउँछ।  अनुशासित र सभ्य प्रहरी निर्माणमा यसले थप भूमिका खेल्न सक्छ।'  यस्तै, नगर प्रहरीलाई थप व्यवस्थित बनाउन  थप १० साइकल पनि थप गरिएको छ। 

हाल ललितपुरमा ७२ जना प्रहरी कार्यरत छन्। ललितपुरलाई नमूना शहर बनाउन यती कर्मचारीले थाम्नसक्ला त? 'एउटा कुशल ट्राफिकले व्यस्त सडकमा हजारौं सवारी साधनलाई व्यवस्थापन गर्न सक्छ भने नगर प्रहरीले किन काम गर्न सक्दैन? कतिपयलाई तालिमको आवश्यकता छ। उहाँहरूलाई तालिम दिएर भएपनि कुशल कर्मचारी बनाउने मेरो काम अहिले चलिरहेको छ',  हाछेथु भन्छन्‌, 'नमूना नगर प्रहरी एक महिनामा बनाउँछु। नमूना शहर तीन महिनाभित्र बनाउने लक्ष्य छ। म यसमा प्रतिबद्ध छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.