हरेक शीर्षकमा अनियमितता, खर्च विवरण माग्दा पनि दिइएन

|

बैतडी : कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ। नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो। 

पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बिल भर्पाइ फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ।

समितिले कोभिड-१९ रोकथामका लागि खर्च गरिएको रकममा अनियमितता देखिएको जनाएको हो। पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च गरेको थियो।

छानबिन समितिका संयोजक भीमदत्त भट्टले प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ को नियन्त्रणका लागि खरिद गरिएका औषधि, आरडिटी कीटमा समेत आर्थिक ऐन नियमविपरीत खर्च गरेको देखिएको बताए। यस्तै गाडीभाडा, राहत वितरण, राष्ट्रपतिको स्वागत कार्यक्रम, इन्धन र सवारी साधनलगायत शीर्षकमा अनियमित खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ। 

यस्तै आइसोलेसन कक्ष निर्माण, सञ्चार शीर्षक, तालिम कार्यक्रम, सवारी साधन मर्मत, भ्रमण भत्तालगायत शीर्षकमा खर्च अनियमित भएको समितिले ठहर गरेको छ। यस्तै डिपिआर, सडक निर्माण, विविध, सरसफाइ तथा संरचना निर्माण, पत्रपत्रिका तथा सूचना प्रकाशनलगायत शीर्षकमा अनियमित रुपमा खर्च भएको समितिको ठहर छ। अनियमित खर्च गर्नेमा जनप्रतिनिधिदेखि कर्मचारीहरुको समेत संलग्नता रहेको समितिले औंल्याएको छ।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औंल्याएको अनियमित खर्च असुलउपर गर्नसमेत नगरपालिकालाई आग्रह गरेको छ। छानबिनका क्रममा आफूलाई नगरपालिकाको लेखा शाखाबाट शंकास्पद कागजपत्र माग्दा नदिएको समितिले आरोप लगाएको छ। साथै नगरपालिकाको लेखा समितिको प्रतिवेदन पनि माग गर्दा आफूहरुले नपाएको छानबिन समितिका संयोजक भट्टले बताए।

छानबिन समितिले प्रतिवेदनमा औंल्याएका कुराहरु कार्यान्वयन गर्ने र असुलउपर गर्नुपर्ने रकम असुल उपर गरिने नगरप्रमुख केशवबहादुर चन्दको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.