तुइन विस्थापन, मगन्तेदेखि खुला दिसामुक्तसम्मको चर्चा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  अहिलेलाई बन्दुक भन्दा संसारलाई अझै बढी मास्क चाहिएको बताएका छन। 'संसारलाई अझ बढी मास्क चाहिएको छ न कि बन्दुक। स्वास्थ्य सुरक्षाका साधनहरू चाहिएको छ न कि विध्वंसक हतियारहरू', उनले भने, 'जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको छ न कि जीवन विनाशका लागि सैनिक खर्च।'

संयुक्त राष्ट्र संघको ७५ औं महासभामा शुक्रबार साँझ सम्बोधन गर्दै सो कुरा उल्लेख गरेका हुन्। अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा जारी महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्। 

कोरोना भाइरसको विश्‍वव्यापी महामारीले यस वर्ष सदस्य देशका प्रतिनिधिमण्डलले भर्चुअल माध्यमबाटै महासभामा सहभागिता जनाइरहेका छन्। सोही क्रममा प्रम ओलीले पनि भर्चुअल माध्यमबाटै राष्ट्रसंघलाई सम्बोधन गरेका हुन्। 

उनले सम्बोधनका क्रममा विश्‍वमा देखिएका अनेक अनिश्चितताबीच कोरोना संकट देखिएको बताए। 'हामी असाधारण समयबाट गुज्रिरहेका छौं। अतुलनीय संकटका रूपमा कोभिड-१९ महामारी सामना गरिरहेका छौं', उनले भने, 'सार्वजनिक स्वास्थ्य संकटको गहिराइ होस् वा जनजीविका तथा समाजमा परेको प्रभाव होस् वा विश्वव्यापी आर्थिक मन्दी होस्, महामारीको दुष्प्रभाव अत्यन्त ठूलो छ। विश्व व्यवस्थामा देखापरेको अनिश्चितताको पृष्ठभूमिमा यस्तो संकट आउनु चिन्ताजनक विषय हो।'

ओलीले जारी स्वास्थ्य संकटमा सबैभन्दा महत्वपूर्ण कुरा कोभिड विरूद्धको खोप भएको बताए। उनले खोपको विकासपछि सबैका लागि सुपथ, सरल र सहज पहुँच; ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्तिलाई जोड दिएका छन्। 

उनले विश्‍वमा पछिल्लो समय अनेक भूराजनीतिक टकराव देखिएकोमा पनि चिन्ता जनाएका छन्। 'विश्‍वमा अहिले अनेक भूराजनीतिक टकराव पुनः देखापरेका छन्। विश्वका कैयन भागमा शान्ति र स्थिरताको आकांक्षा अझै पनि हासिल हुन सकेको छैन', उनले भने, 'हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपका चुनौतीले शान्ति र दिगो विकासको सम्भावनालाई अवरोध पुर्‍याएको छ।'

उनले अदृश्य कोरोना भाइरसले विश्‍वको अस्थिरतालाई झन् जटिल मोडमा लगिदिएको बताए। 'अदृश्य भाइरसले विद्यमान असंगतिको गहिराइलाई टड्कारो बनाइदिएको छ', उनले भने, 'यसले व्यापार विवाद, विश्वव्यापी असमानता, वित्तीय अनिश्चितता तथा ऋण संकटलाई थप चर्काइदिएको छ।'

ओलीले नेपाल सधैँ आतंकवाद, संगठित अपराध, गैरकानुनी वित्तीय प्रभाव, मानव तथा लागूऔषध ओसारपसार विरुद्ध विश्वसँगै उभिएको बताए। 'आतंकवाद, संगठित अपराध, गैरकानुनी वित्तीय प्रवाह तथा मानव तथा लागू औषध ओसारपसारजस्ता अन्तरदेशीय समस्या समाधान गर्न विश्व समुदाय एक भएर उभिनु पर्दछ', उनले अगाडि भने, 'नेपाल आतंकवाद र निर्दोष मानिसलाई दुःख कष्ट दिने सबै स्वरुप र प्रकारका कार्यको भर्त्सना गर्दछ।'

ओलीले राष्ट्रसंघबाट चाँडै आतंकवाद विरुद्धको विस्तृत महासन्धि निर्माण हुनुपर्नेमा जोड दिए। 'हामी छिटोभन्दा छिटो आतंकवाद विरूद्धको विस्तृत महासन्धि निर्माण कार्य निष्कर्षमा पुगोस् भन्‍ने चाहन्छौं', उनले भने, 'सन् २०१९ मा विश्वको कुल सैनिक खर्च १.९ ट्रिलियन अमेरिकी डलर पुगेको छ। त्यसको केही सानो अंश मात्रले पनि गरिबी, भोक र अभावमा पिल्सिएका लाखौं मानिसलाई राहत मिल्न सक्छ।'

प्रधानमन्त्री ओलीले हतियारको होडबाजीले विश्‍वलाई जटिल मोडमा लैजाने पनि बताए। 'हतियारको होडबाजी, बाह्य अन्तरिक्षको सशस्त्रीकरण र साइबर युद्धका कारण मानव मात्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ', उनले अगाडि भने, 'हामी सबैलाई थाहा छ, अहिले कुन कुराको बढी आवश्यकता छ, पारमाणविक हतियार वा कोभिड-१९ विरूद्ध खोपमा पहुँच!'

उनले आणविक अप्रसार सन्धि अन्तर्गतका दायित्वहरु सम्बन्धित पक्षले पूरा गर्नुपर्नेमा जोड दिए। 'आणविक अप्रसार सन्धिको पुनरावलोकन सम्मेलन लगायत निशस्त्रीकरण सम्बन्धी प्रक्रियाहरु स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाई राख्न सम्बन्धित पक्षहरुले सन्धि अन्तर्गतका दायित्व पूरा गरिरहनु पर्छ', ओलीले जोड दिँदै  भने, 'सबै आमविनाशकारी हातहतियारको सामान्य र पूर्ण निशस्त्रीकरणका लागि हामीले गर्दै आएको आव्हानलाई पुनः दोहोर्‍याउन चाहन्छौं।'

उनले निशस्त्रीकरणका क्षेत्रीय व्यवस्थाहरूले विश्वस्तरीय पहलहरूको परिपूरकको रूपमा काम गर्ने बताए। ओलीले एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघको क्षेत्रीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी केन्द्रको आथितेय मुलुकका नाताले 'काठमाडौं प्रोसेस' लगायतका क्षेत्रीय अवधारणालाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए।'

नेपालको कसैसँग शत्रुता छैन

ओलीले नेपालले असंलग्‍न परराष्ट्र नीति अंगिकार गरेको भन्दै कसैसँग शत्रुता नभएको बताए। 'नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताबाट निर्देशित छ', उनले भने, 'हामी 'सबैसँग मित्रता, कसैसँग छैन शत्रुता' को मान्यतामा विश्वास गर्दछौं।'

यिनै सिद्धान्तहरूमा आधारित भई नेपाल अघि बढेको उनले बताए। 'नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेकीलगायत विश्वका सबै मित्रराष्ट्रसँग असल सम्बन्ध कायम गर्न प्रतिवद्ध छ', ओलीले भने, 'समानता, आपसी सम्मान र न्यायमा आधारित स्वच्छ र समावेशी विश्व व्यवस्थाको हामी समर्थन गर्दछौं।'

ओलीले क्षेत्रीय आर्थिक सहयोगमा विश्वास राख्ने राष्ट्रको नाताले सार्क, बिमस्टेक र एसिडीमा यथोचित भूमिका खेल्दै आएको पनि उल्लेख गरेका छन्। 

नेपालको प्रगति 

ओलीले सम्बोधनका क्रममा नेपालको प्रगतिको फेहरिस्त पनि प्रस्तुत गरे। उनले राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गरेको कुरा पनि स्मरण गरे। 

'आधारभूत राजनीतिक मुद्दाहरू समाधान गरिसकेपछि अहिले हामी 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय आकांक्षा अनुरूप आर्थिक रूपान्तरण ल्याउनमा केन्द्रित छौं', उनले भने, 'हाम्रो यो आकांक्षा एजेन्डा २०३० र राजनीतिक एवम् नागरिक अधिकार मात्र नभई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार र कल्याणसहितको पूर्ण लोकतन्त्रको अवधारणाबाट निर्देशित छ।'

ओलीले नेपाल सुशासनको बाटोमा हिँडिरहेको बताए। 'हामीले समग्रमा सुशासनमा सुधार ल्याउँदै लगानी मैत्री वातावरण सृजना गरेका छौं। हामीलाई प्रविधि, प्राविधिक ज्ञान, वित्त र लगानीको रूपमा अन्तराष्ट्रिय सहायताको खाँचो छ', उनले भने, 'साधनको सीमितताका बाबजुद हामीले ग्रामिण पूर्वाधार तथा सामाजिक क्षेत्रमा लगानी वृद्धि गरेका छौं।'

उनले नेपालमा तुइनबाट हुने जोखिमबारे पनि बोलेका छन्। 'तुइनबाट हुने जोखिमपूर्ण यात्रालाई तुइन निर्माण गरी प्रतिस्थापन गरेका छौं', उनले भने, 'वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति तथा विपन्नलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गरेका छौं। वृद्धवृद्धाको स्वास्थ्य बीमा कार्यक्रमको दायरा अझ फराकिलो बनाएका छौं।'

ओलीले दलित तथा पिछडिएको क्षेत्रका बालबालिकाका लागि विद्यालयमा मासिक छात्रवृत्ति प्रदान गरिएको पनि बताए। 'पाठ्यपुस्तक र शैक्षिक सामाग्रीको व्यवस्थासहित आधारभूत शिक्षा सबैका लागि निःशुल्क गरिएको छ', ओलीले भने, 'विद्यालयमा भर्ना दर झण्डै शतप्रतिशत र पूर्ण लैंगिक समानता प्राप्त भएको छ र छात्राहरूले स्कुल छाड्ने दर उल्लेख्य रूपमा घटेको छ।'

ओलीले देशलाई खुला दिसामुक्त बनाउँदै मर्यादित जीवनयापन गर्ने शैलीको नयाँ युग सुरू गरेको पनि बताए। 'सामाजिक सुरक्षा र हेरचाहको विस्तार गरी हामीले शहरहरूलाई सडक बालबालिका, सडक-मानिस तथा मगन्तेरहित बनाएका छौं', ओलीले अगाडि भने, 'हामीले भूकम्पको घाउ पुरेका छौं। घर, विद्यालय, कलेज, अस्पताल र सम्पदा स्थलको पुनःनिर्माण गरेका छौं। असुरक्षित क्षेत्रबाट मानव वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छौं।'

यी उपलब्धिहरूबाट नेपाली जनताले आर्थिक र सामाजिक अधिकारहरूको फराकिलो उपभोग गरिरहेको दर्शाएको पनि ओलीले जिकिर गरे। 

जलवायु परिवर्तन

ओलीले जलवायु संकटले मानव अस्तित्वमाथि नै खतरा पैदा गरिदिएको बताए। 'उच्च प्रदुषकहरुको मौनता जिम्मेवारीप्रतिको असफलतासम्म पुग्नु हुँदैन', उनले भने, 'नेपालले आफ्नो कूल भूमिको ६० प्रतिशत जमिन पारिस्थितिक प्रणाली बचावटका लागि छुट्याएको छ। हाम्रा पर्वत तथा जंगलले वातावरण शुद्धिकर्ताको संयन्त्रको काम गरेका छन्।'

उनले हिमनदीहरूले सामुद्रिक इकोसिस्टम र जलवायुमा योगदान दिइरहेको बताए। 'हाम्रा पर्वतबाट बग्ने हिमनदीहरूले सामुद्रिक इकोसिस्टम र जलवायुमा योगदान पुर्‍याएका छन्। नेपालका हिमालहरूले प्राकृतिक रूपमा नै जलवायुलाई स्थिर राख्ने कार्य गरेका छन्', उनले भने, 'पृथ्वीको कर्कट र मकर रेखाको बीचमा रहेको सबैभन्दा तातो क्षेत्रमा पर्ने यी हिमालले प्राकृतिक शितलन प्रणालीको कार्य गर्दछन्। यसका अतिरिक्त हिमालले जीवित प्राणीहरूका लागि स्वच्छ पानीको निरन्तर आपूर्ति गर्ने प्राकृतिक पुनर्सेचन प्रणालीमा योगदान पुर्याएको हुन्छ।'

उनले नेपाल जस्ता साना देशले नै जलवायु परिवर्तनको मार खेप्नु परेको बताए। 'हाम्रा आर्थिक गतिविधिहरू र उर्जा उत्पादन सबैभन्दा जलवायुमैत्री छन्। नमज्जाको व्यंग्य के छ भने हामी पारिस्थितिक प्रणाली कायम राख्न महत्वपूर्ण योगदान गर्छौं र नगण्य उत्सर्जन गर्छौं', उनले भने, 'तथापि जलवायु परिवर्तनको कठोर मार हामीले नै खेप्छौँ।'

विश्वव्यापी उष्णताले उच्च पर्वत तथा पारिस्थितिक प्रणालीको स्वास्थ्य खस्काइदिएको उनले बताए। 'विश्वव्यापी प्रदुषण तथा जलवायु परिवर्तनले तीव्र रूपमा हिमाल पग्लिएको छ', ओलीले भने, 'जुन सबैका लागि चिन्ताको विषय बन्नै पर्दछ। यसले गर्दा हिमताल फुटी तल्ला क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्छ।'

अत्यधिक मानवीय क्रियाकलापका कारण समग्र सामुद्रिक पारिस्थितिक प्रणालीको बिग्रँदो स्वास्थ्यप्रति नेपाल चिन्तित रहेको उनले बताए। 'मानव मात्रको साझा सम्पत्तिको हामीले संरक्षण गर्नैपर्दछ', ओलीले थपे, 'सबै साझेदारहरू र खासगरी तटीय राष्ट्रहरूको दूरदर्शिता सामुद्रिक पारिस्थितिक प्रणालीको संरक्षणका लागि अति नै महत्वपूर्ण हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.