अर्घाखाँची : शितगंगा नगरपालिका–१२ मैदान जोख्लेगैरामा पहिरोका कारण ४० घरपरिवार विस्थापित भएका छन्। करिब ७०० रोपनी जग्गा भासिएपपछि उनीहरु विस्थापित भएका हुन्।
उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। शुक्रबार राति १४ भन्दा बढी परिवारलाई कोठिया मैदान र अन्य २६ घर परिवारलाई कुडापानी र रजिया गौरामाबिमाको सुरक्षित स्थानमा राखिएको छ।
शुक्रबार बिहान ११ बजेदेखि जमिन भासिन थालेपछि इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली, रामवाण गुल्म ठाडाबाट खटिएका नेपाली सेनाको टोली र स्थानीयले पहिरो पीडितलाई उद्धार गरेका थिए। घटनामा कुनै मानवीय क्षति भने भएको छैन। पहिरोमा परेर गाईवस्तु मरेका छन्।
जमिन भासिएर ध्वजाध्वजा भएको छ। घरहरू पुरिएका छन्। दिउँसो जमिन भासिएकाले मानिसले भागेर ज्यान बचाउन सफल भएका थिए। पीडितहरुलाई राहतका लागि शनिबार बिहानदेखि नै स्थानीय प्रशासन खटिएको जनाइएको छ।
पहिरोले बिचल्ली बनाएको पीडित ताराबहादुर नेपालीले बताए। ‘रातभरि कोठियामैदान प्रतिक्षालयमा बसेर रात कटायौं,’ उनले भने, ‘अहिलेसम्म मिहिनेतले आर्जेको घरसम्पती सबै पहिरोले पुरेको छ गाईवस्तु मरेका छन्। अहिले के खाने, कहाँ बस्ने भन्ने चिन्ताले पिरोले छ।’
यस्तै शितगंगा–११ ढुङगेसेराका पाँच घर पहिरोले पुरेको छ। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। अन्य ३० घरभन्दा बढी पहिरोको उच्च जोखिममा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।