२० लाख रुपैयाँको सामान किन्दा ७ लाख गोजीमा !

|

गुल्मी : जिल्लाको इश्मा गाउँपालिकामा कागती प्रवर्द्धन कार्यक्रम र कोभिड कृषि विशेष कार्यक्रममा कर्मचारीले अनियमितता गरेको पाइएको छ। 

गाउँपालिकाका कृषि शाखाका प्रमुख यज्ञेश्वर भारतीले कागती प्रवर्द्धन कार्यक्रमको २२ लाख ५० हजार र कोभिड १९ कृषि विशेष कार्यक्रमको २० लाख रुपैयाँमा अनियमितता गरेको पाइएको गाउँपालिकाले जनाएको छ। 

भारतीले कागती प्रवर्द्धन कार्यक्रममा तालिम संचालनको बजेटमा तालिम नै संचालन नगरी बिल भर्पाइ मिलाएको, मेसिनरी औजार खरिदमा पनि अनियमितता गरेको पाइएको हो।

उनले कोभिड कृषि विशेष कार्यक्रममा एक जनालाई २० हजार रुपैयाँका दरले अनुदान दिनुपर्ने कार्यक्रममा पनि मनोमानी गरेको पाइएको छ। भारतीले सो कार्यक्रममा आफैंले टनेल लगायतका सामग्रीहरू खरिद गरि १३ हजार रुपैयाँ बराबरका सामग्रीहरू किसानलाई दिएको र सो कार्यक्रमबाट पनि ७ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको गाउँपालिकाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

​भारतीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले छानबीन समिति बनाएको छ। गाउँपालिकाले वडा नं ५ का वडा अध्यक्ष कलानिधी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको छ।

छानबीन समिति गठन गरेपछि सामान ल्याइयो 

असार मसान्तमा कृषि औजारलगायत प्लाष्टिक टनेल र बीऊबिजनहरूको बिल भरपाई मिलाइ भुक्तानी लिएको, तर सामानहरू गाउँपालिकमा नआएको पाइएको छानबीन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

तम्घासमा रहेको लक्ष्मी एग्रोभेटबाट सामानहरू लगेको बिल भरपाईको आधारमा असार मसान्तमा भुक्तानी भएको र सामानहरू भने भदौमा मात्र आएको छानबीन समितिका संयोजक कलानिधि भण्डारीले बताए। 

सबै बिल भरपाईको आधारमा हेर्दा अनियमितता भएको पाइएको र विस्तृत रूपमा प्रतिवेदनमा जनाइने उनले बताए। यसरी हेर्दा कागती प्रवर्द्धन कार्यक्रम र कोभिड कृषि विशेष कार्यक्रममा अनियमितता भएको प्रष्ट भएको छानबीन समितिले जनाएको छ।

छानबीन समितिले १५ गतेसम्म विस्तृत अध्ययन सहितको प्रतिवेदन गाउँपालिका बुझाउने गरी अनुसन्धान थालेको छ।

बिल भरपाईको आधारमा भुक्तानी दियौं : प्रमुख प्रशासकीय अधिकृत

इश्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण महतले संलग्न बिल भरपाईको आधारमा भुक्तानी दिएको दाबी गरे।

उनले अरू विषयमा केही थाहा नभएको भन्दै ४२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको बताए। यसमा अरू कर्मचारीहरूको पनि संलग्नता त होइन भन्ने प्रश्नमा उनले अरू सबै कर्मचारी यसमा नमुछिएको बताएका छन्‌।। 

अनियमितता भए कारबाही गर्छौं : अध्यक्ष बिष्ट

​यता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले कार्यक्रममा अनियमितता भएको पाइए कारबाही गरि छाड्ने बताएका छन्।

उनले छानबीन समितिले दिने प्रतिवेदनका आधारमा अनियमितता भएको पाइए अख्तियारको प्रतिनिधि जिल्ला प्रशासनमा पठाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.