|

रौतहट : रौतहटमा एक दम्पतीकै हत्या गर्ने उद्देश्यले आक्रमण भएको छ। देवाही गोनाही नगरपालिका–५ टिकुलियामा ४ जना समूहमा आएका हतियारधारी समूहको आक्रमणबाट श्रीमतीको हत्या भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। 

सोही गाउँका महेश तिवारी दम्पतीमाथि ४ जनाको समूहले खुकुरी र खुडाले आक्रमण गर्दा पत्नी जगरामी देवीको मृत्यु भएको हो। पतिलाई जोगाउन खोज्दा उनको ज्यान गएको हो। 

महेशको टाउको र घाँटीमा चोट लागेको छ। गम्भीर घाइते महेशको भने वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेकोे छ। शुक्रबार साँझ देवाही गोनाही नगरपालिका–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए। 

प्रजित र सोनालाल दाजुभाइ हुन्। घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन्। 

कसरी भयो घटना ? 

साँझ साढे ८ बजे गाउँमा गफ गरेर बसिरहेको अवस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएका स्थानीयले बताएका छन्। आक्रमणकारीले धम्की दिएर गएको आधा घण्टापछि महेश दम्पतीमाथि आक्रमणमा भएको थियो। गत असारमा मुखिया परिवार र दुवे परिवारबीच बाटोको निकास निकाल्ने विषयमा विवाद भएको थियो।

सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए। सोही कारणले हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.