निजी विद्यालयले शिक्षक तथा कर्मचारीलाई वैशाखदेखि भदौसम्मको तलब नदिने

|

सिमरा : कोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द जितपुरसिमराका सामुदायिक तथा निजी विद्यालयहरु आफूखुसी सञ्चालनमा आउन थालेका छन्। 

उपमहानगरपालिकाले विद्यालयहरु सञ्चालन सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेको भन्दै केही सामुदायिक तथा निजी विद्यालयले स्थानीय तहको अनुमतिबिनै विद्यालय खोल्न थालेका हुन्।

गत साता बसेको नगरस्तरीय निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। जसअनुरुप असोज ५ गतेदेखि माध्यमिक तहको कक्षा सञ्चालन हुँदै आएको छ।

जितपुरसिमरा वडा न १, २, ३, ४, १४, १५, १६ नं वडाका अधिकांश निजी तथा केही सामुदायिक विद्यालयहरु सञ्चालन भएका छन् भने सोही पालिकाका दक्षिणी भेगका विद्यालयहरु भने कसरी सञ्चालन गर्ने भन्ने अन्योलमा छन्। 

एनप्यापसन्का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले सामाजिक दूरी कायम गरेर कक्षा ८, ९, र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन गरिएको बताए। ‘हामीले भौतिक दुरी कायम गरेर कोरोना संक्रमणवाट वच्न पुर्ण रुपमा सर्तकता अपनाएर विद्यालय सञ्चालन गरेका छौ’; अधिकारीले भने।

कोरोना संक्रमण फैलन नदिन सरकारले चैतको ८ गतेदेखि देशभरका विद्यालयहरु बन्द गरेको थियो। लामो समय घरमै बसेका विद्यार्थीहरुलाई मानसिक रुपमा कोरोनाको त्रास हटाउन पनि विद्यालय सुचारु गरिएको अधिकारीले दावी गरेका छन्।

सोही पालिकाको वडा नं १९ श्री सरस्वती मावि इनर्वासिरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र यादवले भने विद्यार्थीको चाप बढी भएकोले भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्न नसकिने बताएका छन्।

‘विद्यालय कसरी सञ्चालन गर्ने भनेर नगरपालिकाले पनि केही निर्णय गरेको छैन, हामीकहाँ विद्यार्थी चाप बढी छ, मास्क, सेनेटराइजर र भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्न सम्भव छैन, हामी त अन्योलमै छौं’,अध्यक्ष यादवले भने।'

सामुदायिक विद्यालयमा एउटै बेञ्चमा ५ जनासम्म विद्यार्थी खचाखच गरेर बस्ने गर्दछन्, सोही कारण कक्षाकोठामा भौतिक दूरी कायम गर्न सम्भव नहुने यादवको गुनासो छ। ‘सधैं सेनेटराइजर, मास्क प्रयोग विद्यालयको खर्चले पनि धान्न सक्दैन, भौतिक दूरी पनि सम्भव छैन,’ उनले भने। 

जितपुरसिमरा उपमहानगरअन्तर्गत मात्रै ६३ वटा सामुदायिक र ४५ वटा निजी विद्यालयहरु सञ्चालनमा छन्। जसमा ३१ हजार १ सय ४६  छात्र/छात्रा अध्ययन गर्छन्। वडा नं २ नेपाल राष्ट्रिय मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले नगरपालिकाले निर्णय गर्न ढिलाइ गर्दा विद्यालय सञ्चालन अन्योल देखिएको बताए। ‘

'विद्यालय सञ्चालनका लागि हामीले प्रस्ताव पठाइसकेका छौं, तर नगरपालिकाको निर्णय गर्न ढिला गर्दा विद्यालयहरु आफूखुसी सञ्चालन भएका छन् यो गलत हो’,आचार्यले भने।

सरकारले कोरोना संक्रमणका कारण अवरुद्ध विद्यालयको नियमित पठन पाठन सुचारु गर्न ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७’  र कार्ययोजना पनि ल्याएको छ। सो निर्देशिकाले विद्यालय सञ्चालन, अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिए पनि जितपुरसिमराले हालसम्म कुनै निर्णय गर्न सकेको छैन।

विद्यालय सञ्चालन गर्न इच्छुकहरुले विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर वडा कार्यालयको सिफारिसमा नगरपालिकामा प्रस्ताव पेस गनुपर्नेछ।उपमहानगर शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादले नगरपालिकाको निर्णयबेगर आफूखुसी विद्यालय सञ्चालन गर्दा कोरोना संक्रमण जोखिम बढेमा सम्बन्धित विद्यालय नै जिम्मेवार हुने बताए।

 शिक्षा मन्त्रालयल कोरोना संक्रमणका कारण यस वर्षको शैक्षिक सत्रको बाँकी ७ महिनामा भ्याउने गरी ४० प्रतिशत पाठ्यक्रमलाई  कटौती गरी ६० प्रतिशत मात्रै अध्यापन गराउने निर्णय गरेको छ।

बाराको १६ ओटा स्थानीय तहमध्ये जितपुरसिमरा र बारागढी गाउँपालिकाले मात्रै अनौपचारिक रुपमा पठन पाठन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बृजकिशोर प्रसादले जनाएका छन्।

विद्यार्थीसँग भदौसम्मको शुल्क नलिने, शिक्षकलाई तलब नदिने 

जितपुरसिमरा नगरस्तरीय निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुको बैठकले वैशाखदेखि भदौसम्मको विद्यार्थीहरुसँग कुनै शैक्षिक शुल्क नलिने र सोही अवधिको शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिने निर्णय गरेको छ।

कोरोना संक्रमणका कारण ६ महिनादेखि विद्यालय बन्द रहेका कारण निजी विद्यालयहरु धरासायी बन्दै गएका भन्दै शिक्षक तथा कर्मचारीको पारिश्रमिक दिन नसकिने बैठकले निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.