|
म्याद गुज्रेका बरामद सामग्री नष्ट गरिँदै ।

म्याग्दी : पश्चिम म्याग्दीको दरबाङ बजारमा महिनाको दुई पटक खाद्य सामग्री खरीद गर्दै आएकी मालिका गाउँपालिका-७, बिमकी जमुना जुग्जालीले बिहीबार चामल, दाल, सोयाविन, मैदा र खाने तेल किनिन्।

पसलबाट उनले खरीद गरेको तेलको उपभोग्य म्याद २०७६ चैत २२ गते, मैदाको २०७७ जेठ १३ गते र सोयाविनको असार २२ गते नै सकिएको थियो। पसलेले दिएको सामान उपभोग्य नै होला भन्ने ठानेर उनले घर लिएर गइन्‌। तर, म्याद हेर्दा गुज्रिसकेको थियो।

यस्तै, म्याग्दी सदरमुकाम बेनीस्थित मंगलाघाटको स्थानीय पसलबाट बेनी नगरपालका-३, भकिम्लीकी विमला घर्तीले गत बुधवार २ प्याकेट ‘फ्रुटी’ जुस किनेर ९ वर्षीय छोरालाई खुवाइन्। तत्कालै छोराले बान्ता गरे। त्यसबारे सोधीखोजी गर्दा उक्त जुसको म्याद २०७७ जेठ १७ गते नै सकिएको थाहा भयो।

स्थानीय पसलबाट म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने म्याग्दीका जमुना र बिमलामात्रै यसरी पसलेबाट ठगिएका होइनन्‌‌। म्याग्दीका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको प्रतिष्पर्धी व्यापारीहरू नै बताउँछन्‌। उपभोक्ताको स्वास्थ्यमा दिनहुँ खेलवाड हुँदा पनि यसलाई रोक्नेतर्फ सरकार र सम्बन्धित निकायले ठोस पहल गरेका छैनन्‌।

​सदरमुकाम बेनीबजारमा समेत नियमित रुपमा बजार अनुगमन हुन सकेको छैन। करिब एक वर्षअघि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी सरुवा भएर गएपछि बेनी बजारमा बजार अनुगमन हुन नसकेको स्थानीय उपभोक्ताहरू बताउँछन्‌।

​म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरू खुलेआम बिक्रीवितरण गर्नेलाई जिम्मेवार निकायले कारबाही नगर्दा संविधानमा उल्लेख भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनले व्यवस्था गरेको अधिकारबाट समेत म्याग्दीका उपभोक्ताहरू वञ्चित भएका छन्। 

गत चैत ११ गतेदेखि लकडाउन भएपछि खाद्यान्न ढुवानीमा सहज पहुँच नभएका कारण जिल्लाका ग्रामिण क्षेत्रहरूमा अझैपनि चैतअघि नै लगिएका खाद्यान्न र अन्य सामानहरूको बिक्री भैरहेको पाइएको छ।

उपभोक्ताले आफूले पसलबाट खरीद गरेको खाद्य सामग्रीको म्याद हेर्न नजान्ने, बिक्रेताले पनि सामग्रीको म्यादबारे जानकारी नदिने र नियामक निकायले बजारको नियमित अनुगमन र कैफियत पाइएका पसललाई कारबाही नगरेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका हुन्।

सामान उत्पादन भएको र उपभोगयोग्य म्याद अंग्रेजीमा लेखिएको हुने, तर आफूहरूलाई हेर्न नआउने भएकाले पनि यसबारे सजिलै थाहा नपाएको उपभोक्ताहरू बताउँछन्‌। ‘मिति नेपालीमा लेखेको भए हेर्न सजिलो हुने थियो,’ अम्बोटकी विमला किसानले भनिन्। अंग्रेजीमा लेखिएको हुनाले आफूजस्तै गाउँका धेरैले थाहा नपाएको उनले बताइन्।

गाउँमा यातायातको सहज पहुँच नहुँदा घोडा, खच्चडमा बोकाएर लगिएको अधिकांश सामान मिति नै मेटिएको अवस्थामा पुग्ने गरेको ग्रामिण क्षेत्रका उपभोक्ताहरूको भनाइ छ। ‘गाउँका अधिकांश स्थानीय तहले बजार अनुगमन नगर्दा दैनिक ग्रामीण क्षेत्रका स्थानीय अखाद्य वस्तु उपभोग गर्न बाध्य छन्,’ स्थानीय संचारकर्मी यामनाथ पौडेलले बताए।

सदरमुकाम बेनीबजारमा यदाकदा फाट्टफुट्ट बजार अनुगमन हुने गरेपनि ग्रामिण क्षेत्रका पसलहरूको अनुगमन नहुँदा व्यापारीले आफ्नो नाफाका लागि उपभोक्ताकोे स्वास्थ्यमाथि गम्भीर प्रकारको समस्या पार्ने खाद्य वस्तु विक्री वितरण गरिरहेको म्याग्दीका अधिकारकर्मीहरूले बताएका छन्।

बजार अनुगमन जिम्मेवारी पाएको स्थानीय प्रशासनले बजार अनुगमनलाई सदरमुकाममा मात्रै सीमित राख्ने र गाउँमा स्थानीय तहसँग समन्वय नगरेकाले पनि म्याग्दीका ६० प्रतिशतभन्दा बढी नागरिक म्याद नाघेका खाद्यसामग्री उपभोग गर्न बाध्य भएका उनीहरू बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.