|

सल्यान : खुट्टाको हड्डीमा क्यान्सर भएपछि पीडित बनेका बनगाड कुपिण्डे नगरपालिका-३, कारागाउँका १२ वर्षीय विष्णु रानाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै रानाको परिवारले सहयोग याचना गरेका हुन्‌।

​आर्थिक अभावकै कारण समयमै उपचार गर्न नसक्दा उनी चार महिनादेखि घरको ओछयानमै थलिएका छन्। आमा पिमली रानाले भनिन्‌, ‘एउटा छोरो जन्मेको थियो, यही पनि बिरामी भैदियो, डाक्टरहरू क्यान्सर लागेको भन्छन्‌, उपचार गर्न आफूसँग पैसा छैन, उपचारका लागि कसैले सहयोग नगरिदिए यसको जीवन नै नरहने भयो।'

यही असारमा खुट्टा सहनै नसक्ने गरी खुट्टा दुख्न थालेपछि विष्णुलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पतालमा लगिएको थियो। तर त्यहाँ चिकित्सकहरूले क्यान्सर नै भएको पत्ता लगाएका थिएनन्‌। केही औषधि पाएपछि विष्णुको परिवार घर फर्किएको थियो। 

तर, औषधि खाएको २ दिनदेखि नै बायाँ घुँडा सुन्‍निन थालेपछि उनलाई सुर्खेत माया हस्पिटल, नेपालगन्ज वस्टन हस्पिटल र वैभव टन्डनकहाँ उपचारको लागि लगिएको थियो। त्यहाँ जाँच गराउँदा विष्णुलाई हड्डीको क्यान्सर भएको थाहा लागेको हो। 

छोराको उपचारका लागि धेरै खर्च लाग्ने, तर आफूहरूसँग रकम नभएको र अहिले कोरोना महामारीका कारण काम समेत नपाएकाले बिरामी छोरालाई रुँगेर बस्र्नुको विकल्प नभएको विष्णुका अभिभावकहरूले बताएका छन्‌। 

आमा पिमली भन्छिन्‌, ‘उपचारका लागि चितवन पुर्‍याएको हुँ, तर लकडाउनका कारण उपचार नै नगरी फर्काइयो। छोरालाई एक्लै छाड्नसक्ने अवस्था छैन।’ कतैबाट सानो सहयोग मिलेमा छोरालाई उपचार गर्न लैजाने उनले बताइन्‌। 

छोरोको उपचारका लागि हालसम्म ४ लाख रुपैयाँ खर्च भैसकेको बुबा आइते रानाले बताए। आफ्नो छोरोको जीवन रक्षा गरिदिन उनले सबैमा अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.