‘ताकेता भइरहेको छ’ : मन्त्री

|

विराटनगर : प्रदेश १ का अस्पतालमा पीसीआर परीक्षण निम्ति आवश्यक कीट अभाव भएको छ।

कीट अभावसँगै प्रदेश सरकारले पीसीआर परीक्षण दरसमेत घटाएको छ। सङ्घीय सरकारबाट रिएजेन्ट केमिकल दुईसातबाट उपलब्ध नभएपछि पीसीआर परीक्षण दर घटाइएको हो।

प्रदेश सरकारले दैनिक २ हजारभन्दा धेरै मानिसको थ्रोट स्वाब नमूना पीसीआर परीक्षण गर्दै आएकामा दुई दिनयता दैनिक पाँच सय हाराहारीमा मात्र परीक्षण गरिरहेको छ।

दुई सातादेखि प्रदेशमा पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट नआएकाले परीक्षण प्रभावित बनेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश नं १ का निर्देशक जयन्द्र यादवले जानकारी दिए। यादवका अनुसार दुई सातायता संघीय सरकारले मौज्दात नै सकिएको भन्दै प्रदेशमा आवश्यक रिएजेन्ट केमिकल पठाएको छैन।

पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल सीमित भएपछि अन्य अस्पतालको प्रयोगशालामा पठाउने गरिएको केमिकलको परिमाण समेत कटौती गरिएको छ। ‘अन्य प्रयोगशालामा साविकमा स्टक रहेको रिएजेन्ट प्रयोग गरी पीसीआर परीक्षण हुँदै आएको छ,’ निर्देशक यादवले भने, ‘केन्द्र सरकारबाट प्राप्त नभएसम्म परीक्षण दर घटाउनुको विकल्प छैन।’

उनले प्रदेश प्रयोगशालाबाट अहिले सबै भन्दा बढी मात्रामा पीसीआर परीक्षण हुँदै आएको छ। दैनिक सबैभन्दा धेरै पीसीआर परीक्षण गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कीट अभाव भएपछि परीक्षण नै बन्द गरिएको छ। पीसीआर परीक्षणका लागि आवश्यक पर्ने कीट उपलब्ध नभएपछि प्रतिष्ठानमा गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको अस्पतालले जनाएको छ।

त्यसैगरी कोशी अस्पतालले पनि कीट सकिएपछि सात सय थान कीट खरिद गरेको जनाएको छ। तर त्यो कीट आउने अझै केही दिन लाग्ने भएपछि पीसीआर परीक्षण प्रभावित हुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमानलाल दासले बताए।

मेची अस्पतालका सूचना अधिकारी डा. ​गोबिन्द कँडेलले केही दिन यताबाट अस्पतालको प्रयोगशालामा आवश्यक रिएजेन्ट केमिकल नआएकाले थोरै संख्यामा मात्र पीसीआर परीक्षण भइरहेको बताए। तर,अहिले नै पूर्ण अभावको अवस्था नरहेको उनले जानकारी दिए। 

प्रदेशमा पीसीआर ल्याब ६ वटा भए पनि कोशीको एक, प्रदेश प्रयोगशालाको एक, बीपीको एक, झापाका कनकाई र मेचीका एक/एक वटा मेसिनबाट मात्रै पीसीआर परीक्षण भइरहेको छ। यी ६ वटा ल्याबबाट विगतमा दैनिक २ हजार बढीको परीक्षण हुँदै आएको थियो।

उपचार प्रभावित

पीसीआर परीक्षण नहुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीको शल्यक्रियासमेत रोकिएको छ।

सिकिस्त बिरामीको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गर्ने गरिएको थियो। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले कीट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको बताए।

प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चावार्ड लगायतमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको छ। पीसीआर परीक्षण रोकिएपछि दुर्घटनामा परेका र इमर्जेन्सी शल्यक्रिया गर्नुपर्ने बिरामी जोखिममा परेको चिकित्सकहरूले बताएका छन्।

प्रतिष्ठानमा भर्ना भएका सयौं बिरामीको पीसीआर परीक्षण नभएका कारण शल्यक्रिया हुन नसकेको प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. पशुपती चौधरीले जानकारी दिए। शल्यक्रिया गर्न प्रतिष्ठान भर्ना भएका बिरामीको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

प्रतिष्ठानले गएको बुधवार सूचना नै जारी गरेर प्रदेश र सङ्घीय सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेल सम्मलाई अब २ हजार रुपैयाँ शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने जनाएको छ।

सोहीअनुसार प्रतिष्ठानले चिकित्सको सिफारिसका अति जरुरी विरामीबाहेक अन्यको हकमा २ हजार रुपैयाँ लिएर पीसीआर परीक्षण गदै आएको प्रवक्ता डा. सापकोटाले बताए। प्रतिष्ठानको ल्याबबाट सबैभन्दा बढी दैनिक १५ सय बढीको पीसीआर परीक्षण हुँदै आएको थियो।

पीसीआर परीक्षण दर घट्यो

संघीय सरकारले परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल नपठाएपछि प्रदेश सरकारले पीसीआर परीक्षणको दरसमेत घटाएको छ।

सामान्य अवस्थामा दैनिक २ हजार बढीको परीक्षण हुँदै आएकोमा चार दिनयताबाट सो दर घटाएर ६ सय हाराहारीमा झारिएको छ। जबकी, प्रतिष्ठानको ल्याबबाट मात्र दैनिक एक हजार माथि पीसीआर परीक्षण हुँदै आएको थियो।

प्रदेश प्रयोगशालाको ल्याबबाट अहिले दैनिक २ र अन्य ल्याबबाट १ सयको हाराहारीमा परीक्षण हुँदै आएको छ। 

सामाजिक विकास मन्त्रालय प्रदेश १ का जनस्वास्थ्य अधिकृत रञ्जु रेग्मीका अनुसार प्रदेशका ६ वटा प्रयोगशालाबाट चार दिनयता दैनिक पाँचदेखि सात सयको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको छ।

गएको असोज ६ गते १ हजार ३३६ पीसीआर परीक्षण गरिएको थियो। असोज ७ गते ८ सय ८,असोज ८ गते ७ सय ९४ असोज ९ गते ६ सय २५ र असोज १० गते ५ सय ८८ मात्र पीसीआर परीक्षण भएको छ।

प्रदेशमा रहेका ६ वटा ल्याबको परीक्षण क्षमता ३ हजार ९ सय ५० छ। तर अहिलेसम्म ती ल्याब पूर्ण क्षमतामा आउन सकेको छैनन्।

मन्त्री भन्छन्‌ : ताकेता गरिरहेको छु 

प्रदेशमा रिएजेन्ट केमिकलको अभावमा पीसीआर परीक्षण प्रभावित भएपछि प्रदेश सरकारले रिएजेन्ट केमिकल तत्काल उपलब्ध गराउन माग गरेको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले रिएजेन्ट केमिकल पठाउन आफूले ताकेता गरेपनि सङ्घीय सरकारबाट रिएजेन्ट केमिकल उपलब्ध हुन नसकेको बताए।

‘संघीय सरकारको स्टोरमा रिएजेन्ट केमिकल सकिएकाले समस्या भइरहेको हामीलाई जानकारी गराइएको छ,’ मन्त्री घिमिरेले भने, ‘तत्कालको अवस्थालाई टार्न रिएजेन्ट केमिकल किन्ने कि भनेर छलफलसमेत भइरहेको छ।’

सङ्घीय सरकारबाट प्राप्त नभएसम्मका लागि रिएजेन्ट केमिकल पूर्तिबारे छलफल गरेर समस्या समाधान गर्नतर्फ प्रदेश सरकार लाग्ने उनले बताए। रिएजेन्ट केमिकल अभावमा प्रदेशमा पीसीआर परीक्षण रोकिने अवस्था भने आउन नदिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.