|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानको कुटाइबाट बेलौरी नगरपालिका–९ का १२ वर्षीय बालक घाइते भएका छन्। बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएका ती बालकलाई नेपाली सेनाका जवानले  निर्घात कुटपिट गरेका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले ती १२ वर्षीय बालक र स्थानीयलाई केही दिनअघि वनबाट नियन्त्रणमा लिएको थियो। कुटपिटबाट ती बालकको मुटु र कलेजमा चोट लागेको देखिएको अवस्था गम्भीर रहेको पीडित बालकका अभिभावक गणेशदत्त अवस्थीको दाबी छ। बालकले सेनाले नियन्त्रणमा लिई बुटले छातीमा हानेको र त्यसपछि गाडीमा राखेर लाठीले प्रहार गरेको अवस्थीले बताए। उनका अनुसार खाना खान र सुत्न समेत नसक्ने अवस्थाका पुगेको छ।

स्थानीय अन्य व्यक्तिसँगै सिकारका लागि वन गएका ती बालकलाई पक्राउ गरी सेनाले बुटले प्रहार गरेको उनको परिवारको दाबी छ । बालक घाइते भएपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडयालले कुटपिटबारे अनुसन्धान गरिने बताए। 

निकुञ्ज र सेनाको टोलीले गत मंगलबार राति सामुदायिक वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा ती बालकसहित करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, कालु राम चौधरी र देव सिंह चौधरीलाई नियन्त्रणमा लिएको थियो। निकुञ्जको बेलडाँडी कालिकिच र चानदेवबाट खटिएको ४० सैनिकको टोलीले उनीहरुलाई घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.