काठमाडौं : लामो समय कोरानाका कारण विश्वका धेरै प्रतियोगिताहरू ठप्प रहे। तर विश्व खेलकुद लामो समय सुनसान हुने संभावना थिएन।
परिणामत: कोरोना महामारीका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिताहरू शुरू गरिए तर दर्शक विहीन रूपमा प्रतियोगिता भइरहँदा अब कहिलेसम्म खाली मैदानमा प्रतिष्पर्धा हुने भन्ने बहस शुरू भएको छ।
अर्बौं डलर खर्चिएर हुने ठूला प्रतियोगिता खाली मैदानमा भएसँगै विश्वमा अब दर्शकसहित प्रतिष्पर्धा हुनुपर्ने आवाज उठ्दै गएको छ। केही दिनअघि हंगेरीको बुढापेस्टमा सम्पन्न युइएफए सुपर कपको फाइनल खेलमा २० हजार दर्शक उपस्थित भएसँगै अब मैदानमा दर्शकलाई इन्ट्री दिनुपर्ने आवाज थप बलियो भएको हो।
उक्त प्रतियोगितामा उपाधिका लागि स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बार्यन म्युनिखले प्रतिस्पर्धा गरेका थिए। जहाँ बार्यनले २–१ ले बाजी मार्दै उपाधि जित्यो। जहाँ उपाधि भन्दापनि रंगशालामा उपस्थित दर्शक समाचारको प्राथमिकतामा परेका थिए। किनकी कोरोना कहरपछि विश्वले पहिलो पटक यतिधेरै दर्शक मैदानमा पुगेको देख्यो।
पछिल्लो समय हंगेरी युरोपकै कोरोना भाइरसको तीव्र संक्रमण भएको देश बनिरहँदा उलेख्य दर्शक मैदान छिराउनु दुर्भाग्य भएको भन्दै धेरैले आलोचना गरे। अन्तराष्ट्रिय संचारमाध्यमहरुले यसलाई ‘मानव बम’को संज्ञा दिए।
बार्यनका समर्थकले तीनमध्ये एक खण्ड टिकट हात पारे । क्लबले पनि बुढापेस्टमा आफ्नो टोलीलाई समर्थन गर्नु घातक हुने चेतावनी दिएको थियो। बुढापेस्ट पुगेका दर्शकलाई कोरोना परीक्षण अनिवार्य गर्न जर्मन सरकारले भनेको छ। यद्यपि, अझैपनि चलिरहेका चर्चित खेलमा मैदानमा दर्शक पुगेका छैनन्। कहिलेसम्म दर्शक विहीन मैदानमा खेल हुने हो, अनिश्चितता कायम छ।
रेड-क्ले कोर्ट (रातो माटो) मा खेलिने चर्चित टेनिस प्रतियोगिता फ्रेन्च ओपन टेनिसमा पहिलो पटक प्रत्येक दिन २० हजार दर्शकलाई उपस्थितिको अनुमतl दिइने आयोजकको योजनामा त्यहाँको सरकार बाधक बन्यो।
आयोजकको यो निर्णयसँगै धेरैले कोरोना महामारीमा दर्शकको उपस्थितिलाई लिएर चिन्ता जनाएका थिए । तर, फ्रान्सको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ मार्गदर्शन जारी गरेसँगै अब एक दिनमा एक हजार दर्शक मात्र स्टेडियममा प्रवेश पाउने छन्।
यद्यपि, आयोजकले बलियो स्वास्थ्य सावधानीसाथ मैदानमा दर्शक छिराउने बताउँदै आएको थियो। दर्शकले सामाजिक दुरी कायम गरेर खेल हेर्ने संभावना कमजोर हुने भन्दै आलोचना भएको र युरोपमा पुन: संक्रमण दर बढ्न थालेपछि सरकारले रोक लगाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।