केही दिनमै टुंगो लगाउने तयारी

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे आइतवार छलफल भएको छ। बिहान ९ बजेबाट करिब ३ घण्टा मन्त्रिपरिषद् पुनर्गठनबारेमा दुई नेताबीच बालुवाटारमा छलफल भएको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले अन्तिम चरणमा मन्त्रीहरुको नामावली तयार गर्ने क्रममा पुगिसकेको स्रोतले बतायो। ‘उहाँहरूबीच छलफल भइरहेको छ। कसलाई ल्याउने कसरी गर्ने भन्‍ने बिषयमा छलफल भइरहेको छ। उहाँहरु बीचको सहमति अन्तिम चरणमा पुगिसकेको छ आज भोलि नै हुन पनि सक्छ', स्रोतले भन्यो।

असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको बिषयमा टुंगोमा पुर्‍याउन बैठकले अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो। त्यही निर्णयअनुरुप उनीहरु बिहीबारदेखि निरन्तर छलफलमा जुटेका छन्। 

मन्त्री फेरिने भएपछि नेकपाभित्र आकां‌क्षी समेत बढिरहेका छन्। अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय खाली छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन्। सहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन्।

ओली दाहालबीच पुराना केहीलाई राखेर नयाँलाई अवसर दिने बिषयमा छलफल भइरहेको बुझिएको छ। योग्यता र क्षमताको आधारमा नयाँलाई अवसर दिने बिषयमा जोड दिने तयारी भइरहेको छ। योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्नुपर्ने स्थायी कमिटीको निर्णय छ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलभित्र रहेकाहरूलाई सरकारमा सामेल गराउने सम्भावना बलियो रहेको देखिन्छ। मन्त्रिपरिषद् हेरफेरको चर्चा भइरहँदा कार्यदल सदस्यहरु सरकारमा जाने चर्चा चलिरहेको छ। 

संयोजक विष्णु पौडेल तथा सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मासहितका नेताहरु मन्त्रीका बलिया दाबेदार हुन्। यी बाहेक प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको पनि बलियो सम्भावना छ। प्रधानमन्त्री ओलीले केही मन्त्रालय फुटाएर थप मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी समेत थालेको बुझिएको छ। 

तत्कालै पुनर्गठन 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। ‘उहाँहरूबीच केही दिन यताबाट निरन्तर छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा अन्तिम चरणको छलफलमा हुनुहुन्छ’, उनले भने। 

मन्त्रिपरिषद् पुनर्गठनको बिषय अब धेरै परसम्म नजाने उनले बताए। ‘छलफल चलिरहेको छ। अब तत्कालै मन्त्रिपरिषद्को पुनर्गठन हुन्छ। धेरै परसम्म धकेलिँदैन,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.