फेरि बिरुवा उत्पादन गरेर लगाउनुपर्ने अवस्था

|

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि-१० का बहराची केवटले एक बिगाहामा तरकारी लगाएका थिए। मौसम अनुकूल भएको भए दशैंअघि नै उनले तरकारी बेच्न पाउँथे।

तर, यो पटक पानी लगातार परेपछि खेतमा लगाएका काउली, बन्दा, टमाटर, खुर्सानी, ब्रोकाउली लगायतका बिरुवा सखाप भएका छन्। पछिल्ला दुई दिनसम्म परेको ठूलो वर्षाले त वर्षदिनसम्मका लागि उनले रोपेको तरकारीखेती नै नष्ट गरिदिएको छ। 

‘लकडाउन सुरू भएदेखि नै मारमा परेको छु। पहिले फलेका तरकारी कोरोनाका कारण तरकारी सस्तोमा बेच्नुपर्‍यो। यो पटक सलहले पनि आधाजति तरकारी खाइदियो। अहिले फेरि पानीले सबै फसल नष्ट गरिदिएको छ, लगानी सबै खेर गयो,' केवट भन्छन्‌, 'चाडपर्वको बेलामा परेको विपतले सबै कृषकको सपना चकनाचुर पारेको छ।'


पानीले चुटेपछि ओइलाएका बिरुवा ।

लोहरौलाका कृष्ण मोहन केवट पनि कृषिकर्ममै निर्भर छन्‌। गैर सरकारी संस्थाको जागिर छाडेर उनले तरकारी खेती, माछा र कुखुरापालन थालेका थिए। यही बीचमा कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइयो। हुर्किएका कुखुरा खोरमै रहन थाले। प्रतिगोटा एक सय रुपैयाँमा बेच्दा उनलाई कम्तिमा तीन लाख रुपैयाँ घाटा त लागेको थियो नै, बारीमा लगाएको तरकारी पनि बर्खेझरीले मासिदिएपछि उनी यतिखेर दु:खी देखिन्छन्‌। 

लगातार दुई दिनसम्म पानी पर्दा बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा तरकारी खेती सखाप भएको छ। तरकारी जोनका अध्यक्ष रमेश केवट भन्छन्, ‘जोनभित्र ४१० हेक्टरमा तरकारी खेती गरिएको हो। करिब पाँच सय कृषकले बन्दा, काउली, ब्रोकाउली, खुर्सानी, टमाटर, काँक्रा, मुला लगायतका तरकारी लगाएका थिए।

उत्पादन दिनुअघि नै बारीमै तरकारीका बेर्ना नष्ट हुँदा कृषकको लगानी र मेहनत खेर गएको छ।' यहाँका सामान्य कृषकले पनि एक सिजनमा न्यूनतम ३० हजार ?रुपैयाँको त बीऊबीजन नै किन्ने गरेको उनी बताउँछन्‌।

​बुद्धभूमि-१० का देवपुरा, लोहरौला, झलवा, भगवानपुर, मोतिनगर लगायतका ठाउँ तरकारी खेतीको मूख्य क्षेत्र हुन्‌। यहाँका खेतमा लगाएका तरकारीका बिरुवा काम नलाग्ने भएका छन्। बन्दाका बिरुवा ओइलाएर खेतमा पल्टिएको छ। टमाटरमा बोटका जरा कुहिएका छन्। काउली लगाइएको खेतमा नष्ट भई खेल मैदानजस्तै देखिएको छ।

वाणगंगा नदीका बगरमा लगाइएका बगरे खेतीमा पनि बर्खेझरीको असर परेको छ। नदीको बगर क्षेत्रमा पाँच सयभन्दा धेरै कृषकले तरकारीखेती गर्दै आएका छन्‌।

तरकारीबारीमा बिरूवा देखिएपनि जरा कुहिएकाले केही दिनमै सुकेर मर्ने गरेको छ। कृषकले अब पुन: बेर्ना उत्पादन गर्नुपर्ने भएको छ। नयाँ बेर्ना तयार गर्दा पुस/माघमा बल्ल तरकारी उत्पादन हुनेछ। पुस माघमा तरकारीको मूल्य पनि घट्छ। 

तरकारीबाली नष्ट भएपछि मर्कामा परेका किसानहरूले राज्यबाट सहयोग अपेक्षा राखेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.