कोरोनाबाट मृत्यु भएका अघिल्ला तथ्यांक पनि विवादास्पद

|

जनकपुरधाम : शहिदनगर नगरपालिका १ का ६८ वर्षीय एक पुरुष असोज ९ गते शुक्रबार प्रादेशिक अस्पतालमा भर्ना भए। चिकित्सकलाई ती व्यक्तिले आफूलाई निमोनिया भएको र सास फेर्न समस्या भइरहेको पीडा सुनाए। चिकित्सकले उनमा कोरोनाको आशंका गरे। 

भर्नालगत्तै उपचार सुरु भयो। तर उनको स्वास्थ्य अवस्थामा सुधार आएन। सास फेर्ने समस्याले उनको मृत्यु भयो। अस्पतालले कोरोनाको आशंकामा चिकित्सकले  स्वाब संकलन गराए। पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।

कोरोना रिपोर्ट आउन्जेलसम्म उनको शव अस्पतालकै शवगृहमा राखिएको थियो। कोभिड–१९ धनुषा संयोजक डा. जामुन प्रसाद सिंह भन्छन्, ‘उनको रिपोर्ट पोजेटिभ आएपछि श्रीनाथ गणको डेथ बडी मेनेजमेन्ट टिमलाई खबर गर्‍याैं। टोलीले शव बुझेर व्यवस्थापनका लागि लग्यो।’ उनको शव कहाँ व्यवस्थापन गरियो भन्ने मलाई थाहा भएन,' डा. सिंहले थपे।

योसँगै प्रदेश २ मा कोरोनाले ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। धनुषामा हालसम्म शहिदनगरका मृतकसहित १६ जनाको कोरोनाले ज्यान लिएको छ।

मन्त्रालय भने अनभिज्ञ

शहिदनगरका ती पुरुषको शनिबार नै शव व्यवस्थापन भइसक्दा पनि प्रदेश २ का सामाजिक विकास मन्त्रालयलाई भने यसबारे थाहै छैन। मन्त्रालयले नियमित रुपमा गर्दै आएको दैनिक कोभिड–१९ अपडेटको मृत्यु हुनेहरुको सुचीमा शहिदनगरका ती पुरुषको नाम अपडेट गरिएन।

हरेक दिन ४ बजे प्रदेश २ का कोरोना गतिविधि अपडेट गरिन्छ। शनिबार ४ बजेअघि नै शहिदनगरका मृतकको शव व्यवस्थापन भइसकेको थियो। तर न शनिबारको तथ्यांकमा उनको नाम राखियो, न आइतबारको तथ्यांकमा उनलाई समावेश गरिएको छ।

डा. सिंहले मृतकको रिपोर्ट आएलगत्तै मन्त्रालयमा खबर गरेको दाबी गरे। मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले शहिदनगरका मृतकबारे अपडेट  नभएको विषयमा बुझ्ने बताए। ‘शहिदनगरका एक जनाको मृत्यु भएको खबर त आएछ’, उनले उल्टै प्रश्न गरे, ‘आजको अपडेटमा छैन?’ छैन भन्ने जवाफपछि उनले थपे, ‘खै किन आएन म यसबारे बुझ्दैछु।’

नेपालमा कोरोना संक्रमित भेटिन थालेको केही दिनपछि कोरोनाले मृत्यु हुनेको तथ्यांक सरकारले लुकाइरहेको हल्ला खुबै चलेको थियो। अहिले त्यस्ता हल्ला बन्द छन्। तर यसरी सरकारी अधिकारीबाट भइरहेको लापरबाहीले ती झुठा हल्ला सत्य थिए कि भन्ने प्रश्न उठेको छ। 

विगतमा पनि त्रुटि

चार दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा एक जनाको कारोनाले मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो। तर प्रदेश २ का सामाजिक विकास मन्त्रालयले अझै सो व्यक्तिको नाम कोरोनाबाट ज्यान जानेको तथ्यांकमा समावेश गरेको छैन। यसले प्रदेश र संघबीच तालमेल नमिलेको वा जिम्मेवार अधिकारीले लापरबाही गर्ने गरेको स्पष्ट बुझ्न सकिन्छ।

सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक झा भन्छन्, ‘संघलाई पटक पटक सम्पर्क गर्छु। तर कहिलेकाहीँ सूचना नै दिँदैन। जसका कारण प्रदेश २ का कुनै व्यक्तिको काठमाडौं वा अन्य ठाउँमा कोरोनाले मृत्यु भएमा ती व्यक्तिलाई यहाँको तथ्यांकमा समावेश गर्न सकिरहेका छैनौं,’ तथ्यांक अपडेटमा समन्वयको अभाव देखिएको उनको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.