|

विराटनगर : सुनसरीको बराह क्षेत्रमा बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएकी एक बालिका आफन्तबाटै मारिएकी छिन्।  

बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईलाई नाताले मामा पर्ने रञ्‍जित राईले बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। शनिबार राति आफ्नै घरमै बालिका मृत अवस्थामा फेला परेकी थिइन्। 

सुनसरी प्रहरीले घटनामा संलग्न १५ वर्षीय रञ्‍जितलाई आइतबार पक्राउ गरेको छ। धरानस्थित संघीय प्रहरी इकाइ कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर लगेर अनुसन्धान गर्दा कुकुर घटनास्थलदेखि रञ्‍जितको घरसम्म पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

प्रहरीमा रञ्‍जितले दिएको बयानअनुसार मीनालाई बलात्कार प्रयासपछि उनले प्रतिकार गरेकी र आफूले घाँटी थिचेर हत्या गरेको बताएका छन। मीनाले प्रतिकार गर्ने क्रममा रञ्‍जितको हात टोकेपछि आक्रोशमा आएर आफूले बियरको बोत्तलले टाउकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको बताएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताए। रञ्‍जितको हातमा मीनाले टोकेको चोट पनि भेटिएको छ। 

एक्लै घरमा भएको समयमा बलात्कारको प्रयास

शनिबार साँझ मीना छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी थिइन्। धामी हेर्ने क्रममा मीनालाई निद्रा लागेपछि सुत्न एक्लै घर फर्किएकी थिइन्। प्रहरीका अनुसार शनिबार राति मीना घर आएपछि ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन्। 

मीनाको घरमा किराना पसल रहेकोले रञ्‍जित साँझ ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेका थिए। मीना सुतेको देखेपछि रञ्‍जित पनि सोही झ्यालबाट छिरेर मीनाको कोठा प्रवेश गरेका थिए। त्यसपछि मदिराको नसाले लठ्ठिएका रञ्‍जितले मीनालाई जबरजस्ती गर्न खोजेका थिए।

तर मीनाले प्रतिकार गरेपछि आक्रोशमा आएर घटनाले हत्यासम्मको मोड लिएको थियो। एक महिनाअघि गाउँमा ट्याक्टर चलाउँदा मान्छे किचेर फरार भएका रञ्‍जित केही दिनअघि मात्र गाउँमा आएका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि रञ्‍जितसहित अन्य ७ जनालाई पनि नियन्त्रणमा अन्यलाई भने  छाडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.