सुरुमै विद्यार्थीलाई कोभिडबारे जानकारी, उच्च सुरक्षा सतर्कता अपाउन पनि सिकाइँदै

|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालय खुलेका छन्। गाउँपालिकामा रहेका सबै विद्यालय खुलेसँगै आइतबारबाट पठनपाठन सुरु गरिएको छ।

अजयमेरुका ३० वटा सामुदायिक र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयले सामाजिक दूरी कायम गरी स्वस्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरेका गाउँपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले जानकारी दिए।

‘नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानेर विद्यालयमा पठनपाठन सुरु गरेका हौं,’ उनले भने।

दुई पटक अभिभावकसँग छलफल गरी सहमति र सहयोगमा विद्यालय संचालन गरेको भद्रपुर माध्यमिक विद्यालय भद्रपुरका प्रधानाध्यापक हेमराज पाण्डेयले बताए। 

प्रधानाध्यापक पाण्डेयका अनुसार विद्यालय संचालन भएको पहिलो दिनमा विद्यार्थीलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीमार्फत जानकारी गराइएको छ। विद्यार्थीहरुलाई विद्यालयको गेटमा पुग्ने बित्तिकै साबुनपानीले हात धुन लगाउने, एउटा बेन्चमा दुई जना राख्ने गरिएको छ भने अभिभावकले विद्यार्थीका लागि आवश्यक खाजा तथा पानी घरबाटै पठाउनुपर्ने व्यवस्था गरिएको छ।

२० जनाभन्दा कम विद्यार्थी रहेका कक्षामा नियमित पठनपाठन हुने र २० भन्दा माथि विद्यार्थी भएका कक्षालाई दुई सिफ्टमा विभाजन गरी पठनपाठन सुरु गरिएको सहश्रलिङ माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर ऐरले बताए।

अजयमेरुका सबै समुदायमा अनलाइनबाट पठनपाठन गराउन सम्भव नभएको र सबै अभिभावकसँग इन्टरनेट प्रयोग गर्ने क्षमता नभएकाले सामाजिक सुरक्षा सतर्कता अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

विगतका दिनमा क्वारेन्टाइन बनाइएका विद्यालयका कक्षाकोठा पूर्ण रुपमा सेनेटाइज गरी पठनपाठन सुचारु गरिएको शिक्षक बताउँछन्। हालका लागि विद्यालयको चौरमा समाजिक दूरी कायम गरी पठन कार्य गराइएको अमयमेरु-१ मा रहेको बालकल्याण माविका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए।

कृषिधारको प्राविधिक शिक्षाको समेत पढाइ हुने बालकल्याणमा बाहिर जिल्लाबाट पनि विद्यार्थी  पढ्न आउँछन्। अन्य विद्यालयभन्दा सो विद्यालयमा जोखिम बढी भए पनि सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै विद्यालय खोलिएको प्रअ भण्डारीले बताए। बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्थापन गरिएको उनले जानकारी दिए।

जिल्लाका अरु स्थानीय तहमा पनि विद्यालय खोल्न छलफल भइरहेको छ। स्थानीयस्तरमा कोरोना महामारीको संक्रमणको जोखिमलाई हेरी नियमित विद्यालय संचालनको छलफल बढाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.