|

पर्सा : प्रमुख स्थलमार्गबाट मुलुक भित्रिने पर्यटकलाई वीरगन्ज नाकामा रोक्न नसकिएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताएका छन्। 

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको पर्यटकीय स्थल भिस्वामा भएको कार्यक्रममा विकास र पर्यटनका कुरा गर्दै नगरप्रमुख सरावगीले नेपालमा संघीयता कार्यन्वयन नभएको दाबी पनि गरे। 

जनअपेक्षाअनुसार कसैले पनि अरुलाई दोष लगाउने मात्र नभई आफू पनि सुध्रिनुपर्ने समय आएको उनको भनाइ थियो। कोरोनाको कारण मुलुकभर नै पर्यटन बर्ष असफल भएको नगरप्रमुख सरावगीले बताए। सरकारहरूले गरिदिएनन् भनेर मात्र अब वीरगन्जवासीले उम्किन नमिल्ने उनको तर्क थियो।

‘पर्यटन क्षेत्रको पुनःउद्धार' विषयक अन्तरक्रियामा स्थानीय सरोकारवालाले वीरगन्जमा दुई दिन मात्र पर्यटकलाई रोक्न सके पर्यटन क्षेत्रबाट ठूलो लाभ लिन सकिने उनले सुझाव दिए। यसको लागि पर्यटन पूर्वाधारको विकास गर्न हिमाल वा पहाड नै नचाहिने उनीहरूको भनाइ थियो। 

वीरगन्ज क्षेत्रको पर्यटकीय स्थल भिस्वा स्तुपा, घडीअर्वा पोखरी, पारसनाथ मन्दिर, सिम्रौनगढ, जानकी मन्दिर र पर्सा राष्ट्रिय निकुञ्ज जस्ता प्रदेश २ का पर्यटकीय स्थलहरूको पर्यटकीय सर्किट बनाइ यो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवालाको सुझाव छ। 

भाषण गर्ने आधार भए तर प्रवद्र्धन भएन 

पर्यटकलाई केही दिन नाकामा नै टिकाउने ठोस् पूर्वाधारहरू अझै बनाउन नसकिएको सरोकारवाला मध्येका वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए। भिजिट मधेस नेपालका ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा ठोस योजनाका साथ सबैको साथले मात्र दीर्घकालीन पर्यटन प्रवर्द्धन गर्न सकिने उनले तर्क गरे। 

'पर्यटकलाई मनोरञ्जन, सुरक्षा प्रत्याभूति र घुम्‍ने डुल्ने ठाउँ चाहिन्छ। त्यो ठोस रुपमा विकास गर्न सकिएन,' संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, 'भाषण गर्न प्रदेश नम्बर २ मा पनि केही ठाउँको नाम पहिचान भए। तर त्यसको दीर्घकालीन प्लान बन्न र त्यसको पूर्णताका लागि कार्य सम्पादन हुन अझै सकेन।'

बनेन भिस्वा चैत्यको माष्टर प्लान  

बौद्ध समितिका उपाध्यक्ष तथा वीरगन्जका शिक्षाविद् डा दीपक शाक्यले बुद्धको अस्तुधातु रहेको पर्यटकीय स्थल भिस्वाको माष्टर प्लान बनाउन अझै नसकिएको बताए।

११ बिघा १९ कठ्ठा जग्गामा रहेको बुद्धको अस्तुधातु भएको भिस्वामा निर्मित पञ्चम बुद्ध भएको ठाउँमा परापूर्व कालमा दक्षिण तर्फबाट नेपाल आउने भिच्छुहरू बास बस्ने गरेकोले यो ठाउँलाई भिच्छा भन्दाभन्दै भिस्वा भएको डा शाक्यले बताए।

यो ठाउँको विकास गर्न सके र यस्ता चार-पाँच वटा पर्यटकीय स्थलको विकास गर्न सके वीरगन्ज नाका भएर नेपाल भित्रिने पर्यटकहरूलाई केही दिन यो नाकामा नै रोक्न सकिने उनको भनाइ थियो।

होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य माधव बस्नेत, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं, पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्य लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रम प्रदेश नम्बर २ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, वीरगन्ज महानगरपालिका र भिस्वा युवा समाजको सहयोगमा भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.