|

उर्लाबारी : प्रदेश १ का शिक्षा मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रण नभएसम्म पहिले जस्तो सामान्य जीवन र अनियन्त्रित खुला गतिविधिको प्रयास गर्नु दुस्साहस ठहर्ने बताएका छन्।

शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणासँगै ‘प्रदेश १ मा विद्यालय संचालनको अभ्यास र सम्भावना’ विषयक सो भर्चुअल संवाद कार्यक्रममा मन्त्री घिमिरेले सो विचार व्यक्त गरेका हुन्।

कोरोना लागेर आफू पनि उम्किएको प्रसंग सुनाउँदै मन्त्री घिमिरेले सबैले जाने भोगेका कुरा, स्थानीय अनुभव, पूर्वाधार, चेतनाको पृष्ठभूमिका आधारमा विद्यालय खोल्न सकिने बताए।

उनले एउटै नीति सबैतिर लागु हुन नसक्ने बताउदै तराई र सीमावर्ती जिल्लाहरुमा अझ समस्या जटिल रहेको उल्लेख गरे। मन्त्री घिमिरेले भारतमा कोरोनाले विकराल रुप लिइरहेकोले तत्काल हामीलाई कोरोनाले छोडिहाल्छ भन्ने नसोची योजना बनाउन आग्रह पनि गरे।

तर अब बिस्तारै कोरोनासँगै बाँच्ने कला, प्रतिरोधी काम र बचाउका लागि अपनाउनुपर्ने सावधानीका नियम पालन गरेर बढ्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री घिमिरेले भने, 'अब दैनिक जीवन चलाउने कामका साथै जीवन बाँच्ने बचाउने काम गर्नुपर्छ।'

कार्यक्रममा सामाजिक विकासमन्त्री घिमिरेसहित विभिन्न स्थानीय तहका प्रमुखरउपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखाका प्रमुख, शिक्षक संघसंगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईंटेललगायतको सहभागिता थियो।

शिक्षा पत्रकार समूहको आज घोषित समन्वय समितिमा अन्नपूर्ण पोष्टको प्रतिनिधि झापाकी पत्रकार राधा खनालको संयोजक छन् भने समितिका सदस्यहरुमा कुमार लुइँटेल (बाह्रखरी डट कम, विराटनगर), सुमन सुस्केरा (उज्यालो रेडियो नेटवर्क, विराटनगर) प्रकाश तिमिल्सिना (प्रदेश पोर्टल, इटहरी)  राम योङहाङ (नयाँ बुलन्द डटकम, इलाम), बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर), प्रदीपचन्द्र राई (अन्नपूर्ण पोष्ट दैनिक, भोजपुर), उपेन्द्र येक्तेन खाम्सा इगल एफएम, पाँचथर) र सुम्निमा चाम्लिङ (कान्तिपुर दैनिक, धरान) रहेका छन् ।

दुई दशकअघि शिक्षा पत्रकार समूह गठन भएको शिक्षा पत्रकार समूहले गत २२ साउनमा प्रादेशिक तहमा सांगठनिक संरचना विस्तार गर्न सातवटै प्रदेशमा संयोजकहरू तोकेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.