|
फाइल फोटो

काठमाडौं : दशैं र तिहार लगायतका प्रमुख चाडपर्व आउँदै गर्दा उत्तरी छिमेकी देश चीनतर्फको नाका बन्द छ। अर्बौं रूपैयाँका सामान सीमापारी नै कन्टेनरभित्र छन्‌। 

नाका सहज रूपमा खुल्न नसक्दा वस्तु आयात र निर्यात ठप्प छ। रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङ र गोरखा नाकाबाट सहजै सामान ल्याउन सकिएको छैन। 

आठ महिनायता रसुवा नाका जम्मा दुई पटक मात्र खुलेको छ। पछिल्लोपटक गत बुधबार नाका खोलिएपनि चीनतर्फ पहिरो जाँदा पुन: बन्द भएको छ। 

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित संख्या बढदै गएको कारण देखाउँदै चीनले नेपालसँगको नाका खोल्न आनाकानी गरिरहेको छ। नाका बन्द हुँदा सामान ल्याउन सकिएको छैन।

यसको असर सर्वसाधारण नागरिकदेखि देशको अर्थतन्त्रसम्ममा परेको छ। यसो हुनुको प्रमुख कारण नेपाल सरकारले ठोस कुटनीतिक पहल नगर्नु र वाणिज्य वार्ता नगर्नु नै हो।

'वाणिज्यस्तरको वार्तामार्फत समाधान गर्छौ'

गत माघ महिनादेखि चीनको नाकाबाट सहज ढंगले नेपाली व्यवसायीको सामग्री आयात हुन नसकेको उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल बताउँछन्। उनका अनुसार पछिल्लो समयमा चीनसँग विभिन्न तहमा वार्ता प्रयास भइरहेको छ।

'केही दिनयता नाकामा अड्केका सामान नेपालतर्फ आयात हुन थालिसकेको छ,' सचिव अर्यालले भने, 'दुवै देशको वाणिज्यस्तर प्रतिनिधिको वार्ता हुन लागेको छ। उत्तरी नाका मात्र होइन, दक्षिणका नाकाका पनि केही समस्या रहेको छ। दुवैतर्फको नाकामा देखिएका समस्या समाधान गर्छौं।'​

स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए जुनसुकै समयमा चिनियाँ पक्षले नाका बन्द गर्न सक्ने उनको भनाइ छ। तत्कालै पहिरो हटाएर पनि नाका खुलाउन कम्तीमा पाँच दिन उनले बताए।

'सामान झिकाउन पहल भएन'

बुधबारदेखि नाका खुलेपनि पर्याप्त सामान आउन नसकेको राष्ट्रिय व्यवसायी महासंघका एक प्रतिनिधिले बताए। नेपाल सरकारले पहल नगरेमा सामान ल्याउन केही समय अझै ढिला उनी बताउँछन्‌।

'सामान ल्याउँदै गर्दा चीनतर्फ फेरि पहिरो गयो, ल्याइँदै गरेको सामान फेरि रोकियो,' उनले भने, 'रोकिएका सामान पठाउनका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्छ।'

सामान आयातका लागि सरकारले समयमै पहल नगर्दा अर्बौं रुपैयाँ बराबरको फेन्सी आइटम बर्बाद भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.