शिक्षामन्त्री समेतको आग्रहले पठनपाठनमा अन्योल थपियो

|

काठमाडौं : प्रशासन र स्थानीयको कुरा बाझिँदा विद्यालय खोल्ने-नखोल्नेबारे अन्योल बढेको छ। 

कोरोना महामारीका कारण लामो समयसम्म पठनपाठन नहुँदा सिकाइमा असर परेपछि अहिले स्थानीय तहहरूले आफू मातहत रहेका विद्यालयहरू धमाधम खोल्न अनुमति दिएका छन्‌। तर, प्रशासनले भने भीडभाडका कारण कोरोना सर्ने भन्दै विद्यालय नखोल्न निर्देशन दिएको छ।​

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर असोज १६ गतेदेखि नगरभित्रका सबै निजी र सामुदायिक विद्यालय सञ्‍चालन अनुमति दिएको छ। विद्यालय खोल्न अभिभावक  विद्यालय व्यवस्थापन समितिबीच आपसी छलफल समेत गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाले पनि असोज ११ गतेदेखि नै आलोपालो प्रणालीबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिसकेको छ। नगरपालिकाका प्रमुख कृष्णहरि थापाले भने, ‘लकडाउनका कारण समयदेखि विद्यालय बन्द छन्। धेरै बालबालिकाको पढाई रोकिएको छ। वैकल्पिक माध्यमबाट पढाउँदा कक्षाकोठा मा सिकाएजस्तो प्रभावकारी हुँदैन। त्यसैले, विद्यार्थीहरूलाई २ देखि ३ सिफ्टमा विभाजन गरी स्कुलमै पठनपाठन गराउने निर्णय गरिएको हो।’

ललितपुर महानगरपालिकाभित्रका केही विद्यालय पनि सञ्चालनमा आउन थालेका छन्‌। महानगरपालिकाका शिक्षा विभागका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले भने, ‘केही विद्यालयले सिकाई सहजीकरणका लागि विद्यालयले विद्यार्थीलाई बोलाउन थालेको छ। तर, औपचारिक रुपमा भने विद्यालय सञ्चालनमा आएको छैन।’ विद्यालय सञ्चालनको लागि अहिलेसम्म केही निर्णय भने नगरेको उनले बताए।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलले पनि विद्यालय सञ्चालनबारे केही निर्णय नगरेको जानकारी दिँदै सिकाई सहजीकरणका कार्यहरू भने भैरहेको बताए।

गुल्मी जिल्लाको मदाने गाउँपालिका–१,अगुलङफेदीस्थित श्री रघुफेदी प्रतिमान निम्‍न माध्यमिक विद्यालय, मोरङस्थित केराबारीको बुद्ध माध्यमिक विद्यालय लगायत विभिन्न जिल्लामा पनि विद्यालय खोल्न थालिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने तत्काल विद्यालय सञ्चालन नगर्न सबै स्थानीय तह र स्कुललाई आग्रह गरिसकेका छन्‌। वैकल्पिक माध्यमलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्‌। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि विद्यालय सञ्चालन नगर्न विद्यालयलाई आग्रह गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी जीवन प्रसाद दुलालले स्कुल सञ्चालनको लागि कुनै निर्णय नभएको बताए। ‘उपत्यकाका तीनवटै जिल्लाले अहिलेसम्म कुनै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छैनन्‌,’ उनले भने, ‘कोरोना महामारी रहिरहेकोले केन्द्र सरकारले नै केही निर्णय गरेको छैन। त्यसैले विद्यालय खोल्न पाइँदैन।’

सरकारले निर्णय गरेपछि मात्रै स्थानीय तहहरूले मातहतका विद्यालय सञ्चालनका लागि निर्देशन दिनुपर्ने उनले बताए। ‘वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न पाउँछन,’ उनले भने, ‘विद्यालय नै खोल्न भने पाउँदैनन्। अब आफैँ अनुगमन गरेर भएपनि विद्यालय बन्द गछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.