भैंसीगोठ हिँडेकी सम्झनाको आधा बाटोमै बलात्कारपछि हत्या

|

धनगढी : २०७५ साउन १० गते बिहान कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। निर्मलाले हत्या भएको दुई बर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। अपराधी अझै गुमराहमै छन्। 

उक्त घटनाले अन्तर्राष्ट्रिय रुपमै चर्चा पायो । अपराधीलाई कारबाहीको माग राखी लगातार पदर्शन भइरह्यो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि रचनात्मक तरिकाले निर्मलाको न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्। 

केही दिन अगाडि मात्रै प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको फोटोमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्ने अभियाननै चलेको थियो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। 

निर्मलाझैं सुदूरपश्चिममा फेरि अर्को बीभत्स हत्या भएको छ। बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरिएको घटना बाहिरिएको छ। असोज ७ गते (बुधबार) दिउँसो ५ बजे भैंसीगोठ हिँडेकी सम्झनाको आधा बाटोमै बलात्कारपछि हत्या भएको हो।

घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको (सिममाडौं) मन्दिरभित्र सम्झानाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। सम्झनाको हत्या प्रकरणमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको छ। 

प्रहरी नायव निरीक्षक (डिएसपी) रुपक खड्काका अनुसार हिजो आइतबार पक्राउ गरिएका बोहरालाई सार्वजनिक गरिएको र थप कानुनी प्रक्रियाका लागि अदालत पेस गरिएको छ। उनले पीडित परिवारसँग छलफल भइरहेको र मृतक बालिकाको शव उठाउने तयारी भइरहेको बताए। 

सम्झना गाउँकै मष्टा निमाविमा ६ कक्षामा पढ्दै थिइन्। उनका आमाबुवा बिजुली कामी र आमा धैली कामी रोजगारीका लागि चार वर्षदेखि भारतमा थिए। सम्झना बाजेसँगै बस्दै आएकी थिइन्। उनको हत्यापछि कानमा भएको सुनसमेत लुटिएको छ। जिल्ला अस्पताल बझाङले सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ।  
घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रहरीलाई दबाब दिन देशभर विरोधका कार्यक्रमहरु भइरहेका छन्। यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ। विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन्।

प्रहरीले सार्वजनिक गरेका राजेन्द्र बोहोरामाथि अर्को मुद्दा 

सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका राजेन्द्र बोहरामाथि अर्को बलात्कारको घटना दर्ता भएको छ। बोहोरामाथि १३ वर्षीया रिता कामी (नाम परिवर्तन) ले जाहेरी दिएकी हुन्। उनले आफूमाथि बोहराले गत २९ साउन बेलुकी जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन्। 

हत्या गरिएकी बालिकाका बाजेले ८ असोजमै जिल्ला प्रहरी कार्यालयमा जबरर्जस्ती गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दिएका थिए। घटनामा संलग्न रहेको भन्दै प्रहरीले बोहोरालाई आइतबार सार्वजनिक गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.