|

बैतडी : बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ। 

आयोगको कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको हो। कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि अख्तियारले कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।

कोरोना नियन्त्रणको नाममा अनियमितताका गरेको भनेर फोन र लिखित उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएका उनले बताए। उनले भने, ‘अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लियौं।’ 

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो। कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा ५३ लाख १५ हजार ७ सय २१ रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो। 

सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्न अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरण त्यसैगरी सवारी साधन खर्चको विवरण सहितको फाइल नियन्त्रणमा लिएको हो।

‘छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरुका आधारमा सबै कागजात लगिएको छ,’ उनले भने, ‘अनुसन्धान स्थलगत पनि हुन्छ।’ छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औंल्याएको अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो। जवाफमा नगरप्रमुख केशब बहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.