तलैबाट परीक्षण भएकालाई मात्रै नेतृत्वमा लैजाऊँ

|

कांग्रेसको आगामी १४ औं महाधिवेशनलाई पार्टीमा आस्था भएकाहरूले मात्र नभई भारतलगायत अन्य राष्ट्रका पर्यवेक्षकहरुले व्यग्रताका साथ पर्खिरहेका छन्। कोरोना महामारीकै बीच प्रस्ताव गरिएको महाधिवेशनबाट कांग्रेस हाँक्ने नयाँ नेतृत्व चुनिनेछ।

महाधिवेशन मिति (७-१४ फागुन, २०७७) नजाकिँदै गर्दा छापा तथा सामाजिक संजालमा यसबारेका चर्चा त्यति नै छाउन थालेको छ। नेपाली कांग्रेसमा आफ्नो नेतृत्व अपरिहार्य भन्दै उम्मेदवारी घोषणा गर्नेको पनि कमी छैन। त्यतिले नपुगेर, अरुलाई उमेदवार बनाएर उचाल्नेहरू पनि निकै सक्रिय देखिएका छन्।

शेर बहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौला र रामचन्द्र पौडेल सभापतिको दौडमा छन्। महामन्त्रीका लागि महेश आचार्य, गगन थापा र विश्वप्रकाश शर्माको चर्चा छ।

७० वर्षभन्दा बढीको इतिहास बोकेको पार्टी, सुब्बा देवी प्रसाद सापकोटा र कृष्णप्रसाद कोइरालाहरूको प्रेरणा, विश्वेश्वर प्रसाद कोइरालाको सपना र विचार, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय र गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको संघर्ष, कयौं देशभक्त सपुतको रगतले सिँचिएको र युवाहरूले गोडमेल गरेर यहाँसम्म ल्याएको पार्टीले आफ्नो आगामी नेतृत्व छनौट प्रक्रियामा जान तत्पर छ। अवश्य पनि यो सबैको स्वाभाविक चासोको विषय भएको छ।

तीन सभापतिका दावेदार प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाको पृष्ठभूमिले गर्दा यस महाधिवेशनलाई अझ रोमाञ्चक बनाएको छ । 

इतिहास साक्षी छ : कुशल राजाले विवेक राखेर आफ्नो उत्तराधिकारी आफू जिवित रहँदै घोषणा गर्दछ। त्यो उत्तराधिकारी आफ्नै सन्तान हुनु जरुरी छैन। तर योग्य हुनु अत्यन्त जरूरी छ। उदाहरणको लागि प्राचिन भारतमा भरत नाम गरेका एक चक्रवर्ती राजा थिए रे !जसको बल, बुद्धि र कुशल शासन क्षमताले गर्दा नै त्यस देशको नाम 'भारत' हुन पुग्यो। 

निःस्वार्थ रुपले दुरदर्शी नेतृत्व गर्ने राजा भरतले आफ्नो पाँच भाइ छोराहरूलाई अयोग्य देखेर गुरू वृहस्पतिको भाइ र श्रीमतीको कोखबाट जन्मेका वीरथलाई आफ्नो उत्तराधिकारीका रुपमा राजा घोषणा गरेका थिए। यसबाट अवश्य पनि केही शिक्षा लिन सकिन्छ।

कांग्रेसभित्रका तत्कालिन राजाहरू गणेशमानजी, निधिजी र गिरिजाबाबुले आफू जीवित रहँदै पार्टीभित्र आफ्नो उत्तराधिकारी छान्ने क्रममा आफ्नो सन्तानलाई मन्त्री र कोहीले त बिना विभागीय उप-प्रधान मन्त्रीसम्म पनि बनाउन सफल भए। 

यसरी छानिएकाहरू योग्य हुन् वा होइनन् भन्‍ने कुराको चिन्तन नगरी निर्णय गरे। केहि समयपछि कोइराला परिवारको योगदान र संघर्षलाई उच्च सम्मान गर्दै कोइराला परिवारका अन्य दुई सदस्य : डा. शशांक र डा. शेखर कोइरालालाई सक्रिय राजनीतिमा भित्र्याइयो। 

उनीहरू पार्टीभित्र त भित्रिए। तर, विशेष योग्यता हासिल गरी आफ्नो पेशामा दक्ष भएका यी व्यक्तिहरू राजनीतिमा आउँदा स्वागत हुनेको साटो कोइराला परिवारका सदस्य भित्रिएको भने टिप्पणी गरिरहे।

त्यतिले नपुगेर, १३ औं महाधिवेशनमा शशांक महामन्त्रीका प्रत्यासी रहँदा कतिले त भोट माग्ने क्रममा शशांक कोइरालालाई भोट माग्नुको सट्टा, 'बिपी पुत्रलाई एक मत!' सम्म भनेर पनि मागे। विपी पुत्रलाई मत आयो कि शशांक कोइरालालाई, त्यो मत हालेर जिताउनेलाई नै थाहा होला। पारिवारिक विरासतको खेल यो पुस्तामा रोकिएन। 

तरूण दल पोखरा महाधिवेशनमा पनि प्रकाशमान पुत्र प्रकाशमान सिंह र विश्वेश्वरप्रसाद प्रसाद कोइरालाका नाति, प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइराला तरूण राजनीतिमा सक्रिय भूमिका दिने ठूलै प्रयत्‍न गरियो। रगतमै राजनीति भएकाहरू ढिलो-चाँडो सक्रिय राजनीतिमा आउने प्रयत्‍न फेरि पनि हुने छैन भनेर भन्‍न सकिन्‍न। न कसैले रोक्न सक्छ, न त छेक्न मिल्छ।

सभापति बन्‍न पारिवारिक विरासतभन्दा योग्यतालाई प्राथमिकतामा राख्दा संस्था बलियो बन्छ। संगठन विस्तार र पार्टी शुद्धीकरणका लागी सभापति नै बन्नुपर्दैन। जबसम्म जरा बलियो हुँदैन, तबसम्म रुख बलियो हुँदैन। जरा बिनाको रुख कदापि टिक्दैन। सभापति बन्नेको जराको अवस्था के छ भनेर हेर्न ग्रास रुटमा राजनीति कस्तो छ भनेर बुझ्न सक्नुपर्छ।

केन्द्रमा बसेर ग्रास रुट स्तरमा आफ्नो जीत सुनिश्चित गर्न नसक्नेले र हार्ने डरले स्वत केन्द्रमा प्रतिष्पर्धा गर्न खोज्नेले सफल रुपमा नेतृत्व के गरी गर्ला ?

कुनै बेला तत्कालीन एमालेका नेता मदन भण्डारीले राजालाई श्रीपेच खोलेर मैदानमा आउन आह्वान गरेका थिए। कांग्रेसमा पनि अबको अधिवेशनमा ग्रास रुटबाट परीक्षण गरिएकाले मात्र केन्द्रमा प्रतिस्पर्धी हुन पाउनु पर्छ। श्रीपेच लाएर होइन श्रीपेच फुकालेर नेताले चुनावमा जान सक्नुपर्छ। 

कांग्रेसका राजा र युवराजहरू ग्रास रुटबाट जाँच पास गरेर आउनु होस्। पार्टी फुटाएर, घुर्की लगाएर, पैसा खुवाएर र कसैको तागतमा विरासत थेग्न नआउनु होस्। हैन भने यस पटक, सभापतिको दौडमा अरुले मैदान खाली गरौं। मधेशी समुदायको प्रतिनिधित्व गरिरहेका गान्धीवादी नेता पुत्र, बागमती प्रदेशका खम्बा मानिने लौहपुरूष तथा सर्वमान्य नेता पुत्र र बिपी पुत्रलाई मात्र विरासतको लडाइमा भिड्न दिएर हेरौं।

चार वर्षसम्म कार्यसमिति गठन गर्न नसक्ने, ६ महिनाभित्र गठन हुनुपर्ने विभाग आफ्नो कार्यकाल सकिनुभन्दा ६ महिना पहिले गठन गर्ने र आफ्नो चेला-चपेटाभन्दा बाहेक कसैलाई समेट्नु पर्दैन भन्‍ने मान्यता राख्ने सभापतिलाई अब कांग्रेसले उच्च सम्मानका साथ बूढानीलकण्ठ दरबार मै राख्दा राम्रै होला। नत्र विरासतमा नेतृत्व दावा गर्ने पालो आरजु र जयवीरको हुनेछ।

विरासत थेग्न परिवार मै जन्मनु नपर्ने रहेछ। अहिंसा, त्याग र बलिदानका मुर्ति मानिने महात्मा गान्धीसँग प्रेरित भएर इन्दिरा नेहरू र उनका श्रीमान फिरोज जहांगीरले गान्धी थर लेख्न थाले। 

फलस्वरुप उनका सन्तानले पनि हालसम्म गान्धीको नाम बदनाम हुन दिएका छैनन्। महात्मा गान्धीको त्यागलाई निरन्तरता दिदैं सोनिया गान्धीले केही वर्षअघि पाइसकेको प्रधानमन्त्री पद पनि त्यागेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.