|

नेपालगञ्ज :  कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि देशभर लागू भएको लकडाउनले सञ्चालनमा रहेका उद्योगहरु पनि बन्द भए। लाखौं श्रमिकहरुले रोजगारी गुमाए।

तर‚ बाँकेको कोहलपुरस्थित पिपिरीमा लकडाउन अवधिमै गत बैशाख १२ मा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना भयो। यस कम्पनीले अस्पतालका लागि आवश्यक सामान्य बेडदेखि आइसियु बेड‚ टेबुल‚ र्‍याकलगायतका फर्निचरका सामग्री उत्पादन गर्छ।

कम्पनीले ती सामग्री उत्पादन सुरु गरेपछि धमाधम बिक्री हुन थाल्यो। स्थापना भएको पाँच महिनामै एक करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ। उत्पादनहरुले  आइएसओ गुणस्तर चिह्न पाउन सफल भएपछि कम्पनीका अध्यक्ष २८ वर्षीय सतिस केसी निक्कै उत्साहित छन्।

कम्पनीका उत्पादन माग बढ्दै गएपछि कम्पनीले करिब ३५ जना युवालाई रोजगार दिएको छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशबाट धेरै माग आएको केसी बताउँछन्। अहिले उनीहरुलाई भ्याइनभ्याई छ। नेपालमा अस्पतालका लागि आइसियू बेड उत्पादन गर्ने पहिलो कम्पनी नै युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि भएको अध्यक्ष केसीको दाबी छ।

उद्योग सञ्चालनका लागि आवश्यक पर्ने  इन्जिनियर र दक्ष श्रमिक सुरुका दिनमा भारतबाट ल्याए पनि  स्थानीय युवालाई दक्ष बनाउँदै लैजाने योजना उद्योगको छ। लकडाउनका बेला गाउँ मै खुलेको उद्योगमा काम पाउँदा स्थानीय युवा निरज थारु र श्याम बर्नबाल पनि उत्साहित छन्।

भारतको बैंलोरको रेभा इन्टरनेसनल कलेजमा कम्प्युटर साइन्सबाट डिप्लोमा गरेका केसीले पढाइ सकेर फर्किएपछि परिवारका सदस्य र साथीहरुसँग मिलेर करिब तीन करोड रुपैयाँ लागतमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना गरेका हुन्।

उनले आफूसँगै भारतको बैंलोरमा सँगै पढेका साथीको मुम्बईको नासिकस्थित प्रियङ्का वाइनटेकसँग सहकार्य गरेर केसीले उद्योग सञ्चालन गर्दै आएका छन्। युनाइटेड एग्रो इन्जिनियरिङबाट उत्पादन हुने सामग्रीको डिजाइन र गुणस्तर मुम्बईको नासिकस्थित प्रियङ्का वाइनटेकसँग मिल्दोजुल्दो छ।

कम्पनीमा लकडाउनका बेला सबैभन्दा बढी कारोबार नै आइसियू बेडको भएको छ। अस्पतालका लागि आवश्यक पर्ने सामान्य बेड २० देखि २५ हजार रुपैयाँमा तयार हुन्छ भने सेन्सरसहितको आइसियू बेडलाई डेढदेखि अढाई लाख रुपैयाँ पर्दछ। सेन्सर बेडमा रहेका बिरामीलाई आवश्यकताअनुसार माथि उठाउने र तल झार्ने जस्ता सुविधा हुन्छ।

आइसियू बेडका लागि आवश्यक पर्ने अधिकांश सामग्रीहरु आफ्नै उद्योगमा उत्पादन गर्ने र केही पाटपुर्जाहरु भारत वा चीनबाट ल्याउने गरेका छन्। नेपाल मै मेसिनरी सामान उत्पादन सुरु भएका कारण आइसियू बेड बजार मूल्यभन्दा करिब २५ प्रतिशत सस्तोमा तयार हुने गरेको कम्पनीले जनाएको छ।

त्यस्तै‚ जिम क्लबका लागि आवश्यक पर्ने बेञ्च प्रेस मेसिन र अरू सामग्री, मदिरा राख्ने ट्यांकी, फोहोर व्यवस्थापनमा चाहिने उपकरण र कृषि उपकरण बोतलमा प्रशोधन गरिएको पानी भर्ने मेसिन उत्पादन पनि सुरु गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.