|

म्याग्दी : तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ र एक सातादेखि अवरुद्ध बेनी-बागलुङ सडक सोमबार साँझदेखि सञ्चालनमा आएको छ।

गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडकखण्डको तल्ली बान्द्रे, बाग्लुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीवन लगायतका ठाउँमा पहिरो झरेपछि गत असारदेखि नै सडक अवरुद्ध भएको थियो।

सडकमा झरेको पहिरो सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पन्छाएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए। यसअघि सोही सडक तीन महिनासम्म अवरुद्ध हुँदा समेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बाग्लुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए।

बेनी–मालढुंगा सडकको विकल्पको रुपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा–१ रत्नेचौर र वडा नम्बर २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने यात्रुहरु समस्यामा परेका थिए। सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजारल्याउन समस्या भएको थियो।

यसैगरी पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै बागलुङ जिल्लाका दर्जनौं गाउँहरुलाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक एक सातापछि सञ्चालनमा आएको छ। २४ किलोमिटर लम्बाइको उक्त सडक खण्डका विभिन्न ठाउँहरुमा पहिरो गएर अवरुद्ध भएको थियो।

सडकको घुमाउने भिर, बाङ्गे पहिरोलगायतका स्थानमा मर्मत गरी सञ्चालनमा ल्याइएको म्याग्दीका डिएसपी किरनजंग कुँवरले जानकारी दिए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र निर्माण व्यवसायीमार्फत पहिरो हटाइएको हो। 

दुखुखोलामाथिको पुलमा भने अर्को सूचना नआउँदासम्म बस, ट्रक, टिपरलगायतको ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। पुलको दुईतिरको बेस खोलाले कटान गर्दा जोखिम भएकाले तत्कालका लागि ठूला सवारी साधन सञ्चालमा रोक लगाइएको कुँवरले बताए। 

सडक सञ्चालनमा आएपछि म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिका साथै बाग्लुङ जिल्लाका तमान, लामेला, ढोरपाटनलगायत गाउँका बासिन्दाहरुलाई सुविधा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.