|

काठमाडौं : समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले सत्याग्रही डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग जोडदार माग गरेको छ।

संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था कमजोर बन्दै गएका केसीको जीवनरक्षाको माग गरेका हुन्।

‘कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जन उत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रहमार्फत सरकारलाई दबाव दिँदै आउनुभएका आदर्श व्यक्तित्व डा गोविन्द केसीले पटकपटक आमरण अनशन बस्दै आउनुभएको विदितै छ,’ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारले उहाँका जायज मागहरूलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित सहमति गर्ने, तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको घामजत्तिकै छर्लङ्ग छ।’

हाल डा. केसीले दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थमा सहज पहुँच हुनुपर्छ भन्ने माग राखेको र सो माग सही तथा जनहितमा रहेकाले समाजवादी विद्यार्थी युनियनले उनको मागप्रति पूर्ण ऐक्यबद्धता पनि जनाएको छ।

‘डा गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रका एक असल, सादगी जीवनशैलीसहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो। उहाँले हरेक दलका सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनुभएको छ। उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘हाल डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरूले बताउनुभएको छ। उहाँको मागहरू तत्काल सम्बोधन गर्दै जीवन रक्षा गर्न समाजवादी विद्यार्थी युनियन सरकारसँग जोडदार माग गर्दछ।’

केसीमाथि राजनीतिक अभिष्ट राखेर खेलबाड नगर्न पनि युनियनले भनेकाे छ।  'यदी एक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनुपर्‍यो भने त्यसपछिको परिस्थिति भयानक हुनेछ। उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं,' विज्ञप्तीमा भनिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.