|
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ। केही समय अघिबाट ओली दाहाल बीचको छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले बताए। 

'उहाँहरु छलफलमा बस्‍नुभएको छ। केही दिन यताबाट छलफल चलिरहेको छ। त्यही बिषयलाई सहमतिमा पुर्याउनुको लागि निरन्तर छलफल चलिरहेको छ,' उनले भने।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी काम, संवैधानिक नियुक्तिलगायतका बिषयमा छलफल गर्न बिहीबारदेखि जुटिरहेका छन्। आइतबार र सोमबार मन्त्रिपरिषद् पुनर्गठनमा उनीहरू केन्द्रित भएका छन्। तर, वार्ता निष्कर्षविहीन भइरहेको छ। 

दुवै नेताहरु अडानबाट पछि नहटेपछि वार्ताले सहमतिको बिन्दु भेट्न सकेको छैन। पुनर्गठनको क्रममा हटाउने र नयाँ मन्त्रीमा कसलाई लैजाने भन्‍ने बिषयमा कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भइरहेको बुझिएको छ। 

प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको देखिन्छ। तर, अध्यक्ष दाहाल केही तत्काल गरिहाल्ने पक्षमा नरहेको बुझिन्छ। दुवै नेताहरुले आफ्नो अडान राखेपछि मन्त्रिपरिषद् पुनर्गठन केही ढिला हुने देखिन्छ।

प्रधानमन्त्री ओली केही मन्त्रालय फुटाएर नेता व्यवस्थापन गर्ने पक्षमा रहेपछि अध्यक्ष दाहाल दुई वर्षे कार्यकाल पुरा भइसकेकालाई सरकारबाट फिर्ता बोलाउने पक्षमा रहेको स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.