|

काठमाडौं : दुधकोशी हाइड्रो पावर नेपालले (दुधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ। 

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पर्ने दुधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए। 

यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोशीमा ड्याम बनाइ सुरुङ मार्गबाट खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो। नेपाल सरकारको गौरवको आयोजना दुधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दुधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्नेगरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए।

यसअघि दुधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पुर्‍याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्ग मार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्‍याइने छ। जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ। 

'भारतको लगानीमा निर्माण हुन लागेको दुधकोशी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा छ', जनसम्पर्क अधिकृत खनालले भने, 'यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ।'

आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ। त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ। ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरू गरिने उनको भनाइ छ।

यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ। त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहण लगायतका काम शुरू हुने कम्पनीले जनाएको छ। उक्त आयोजना सम्पन्न गर्न करिब १४ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.