ट्राफिक प्रहरी मूकदर्शक, दुर्व्यवहार भोगिरहेछन्‌ यात्रु

|

काठमाडौं : लामो समयको लकडाउनपछि मन्त्रिपरिषद बैठकले असार २३ गते उपत्यकाका तीन वटै जिल्लामा स्वास्थ्य मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा सवारीसाधन चलाउने निर्णय गर्‍यो।

सरकारले गरेको निर्णय अनुसार सिट क्षमताको बढीमा आधा यात्रु राखेर सावारी साधन सञ्चालन गर्नुपर्छ। सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्न पाइन्छ।

त्यस्तै, चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ। सवारीसाधनको ढोका र यातायातका साधनभित्र स्यानिटाइजर अनिवार्य राख्नुपर्छ।

सिट क्षमताअनुसार सवारीसाधन सञ्चालन गर्न नसकिने र आधा मात्रै यात्रु राख्दा व्यवसायीलाई घाटा लाग्ने भन्दै सरकारले साविकमा कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय पनि गर्‍यो।

तर, यात्रु ठग्न र नियम मिच्न पाए खुशी हुने यातायात व्यवसायीहरू कोरोना महामारीमा पनि नचेतेको देखिएको छ। लकडाउनका बेला 'गाडीमा खिया लाग्यो, हामी आफैं मापदण्ड पालना गरेर चलाउँछौं, अनुमति देउ' भनी सरकार गुहारेका व्यवसायीहरूले अहिले न नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता देखाएका छन्‌, न पूर्व प्रतिवद्धता नै पालना गरेका छन्‌।

​यतिखेर काठमाडौं उपत्यकामा चलिरहेका सार्वजनिक सवारीसाधनमा यात्रुहरू कोचाकोच राख्ने गरिएको छ। सिट भरेर उभ्याउँदा पनि नपुगेर गाडीका चालक र सहचालकहरू यात्रुलाई जबर्जस्ती गाडीभित्र ठेलिरहेका हुन्छन्‌।

​गाडीभित्र न स्वास्थ्य मापदण्ड पालना गरिएको छ, न त ५० प्रतिशत बढाइएको भाडामा व्यवसायीहरू इमान्दार देखिएका छन्‌। महामारीमा पनि यात्रु ठग्ने धन्दा फेरि दोहोरिएको छ।

सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बसमा भेटिएकी सुन्दरीजल नयाँपाटीकी मञ्जु श्रेष्ठले मनपरी लिने गरेको बताइन। ‘म सुन्धाराको एक पसलमा काम गर्छु दिनहुँ बसबाटै आवतजावत गर्छु,’ मञ्‍जुले भनिन्‌, ‘नयाँपाटीबाट रत्नपार्कसम्मको भाडा कहिले ४० रुपैयाँ त कहिले ५० रुपैयाँ असुल्ने गरेका छन्‌।’

उनका अनुसार कोरोना महामारीअघि यो दूरीको भाडा २५ रुपैयाँ कायम थियो। हाल सरकारले बढाइदिएको ५० प्रतिशत जोड्दा नयाँपाटीबाट रत्नपार्कसम्मको भाडा ३५ रुपैयाँमात्रै हो। तर सहचालकहरूले ४० देखि ५० रुपैयाँसम्म असुल्ने गरेका छन्‌। बढी भाडा नलिन आग्रह गर्दा यात्रुहरूले सहचालकबाट दुर्व्यवहार सहनु परिरहेको छ। 

सोही रुटमा चलिरहेको बसमा यात्रा गरिरहेको अर्की यात्रु सदीक्षा चापागाईंले पनि बसमा जबर्जस्ती यात्रु कोच्ने गरिएको बताइन्‌। उनले भनिन, ‘सरकारले एक सिटमा एक जना मात्रै चढाउने निर्णय गरेको छ। तर, बसले दुई जना नै राख्ने गर्छ। रातीको समयमा त झन बसभित्र कोचाकोच हुन्छ। बसभित्र न सेनिटाइजर राखिएको छ, न त अन्य स्वास्थ् सजगता नै अपनाइएको छ।’

बसभित्र धेरै भीडभाड हुँदा कोरोना संक्रमण त्रास लिएर यात्रा गर्नुपरेको उनले बताइन। उनका अनुसार जोरपाटीदेखी सुन्दरीजलसम्मको रुटमा कुनै ट्राफिक प्रहरी खटाइएको छैन। त्यसैले, चालक र सहचालकले मनपरी यात्रुहरु चढाउने र भाडा लिने गरिरहेका छन्‌। सोही रुटमा चल्ने चार वटा बसमा थाहाकर्मी रिपोर्टिङ प्रयोजनका लागि यात्रा गर्दा पनि सिटभर यात्रु कोचिएको पाइयो। बसमा सेनिटाइजर प्रयोग समेत गरिएको छैन।

सुन्धारामा भेटिएकी सोह्रखुटेकी शोभा मगरले पनि सरकारले तोकेको कुनै पनि नियम बसहरूले पालना नगरेको पाएको ​बताइन्‌। ‘म गाडीमा चढ्दा कुनै पनि सवारीसाधनले सेनिटाइजर राखेको भेट्दिनँ,’ उनले भनिन्‌, ‘सिट पनि प्याक हुन्छ। भाडा पनि धेरै लिने गर्छन्‌। २० रुपैयाँ लाग्ने ठाउँमा २५ रुपैयाँ भाडा लिइरहेका छन्‌।’ सरकारले गरेको निर्णयविपरीत सवारीसाधन चल्दा पनि ट्राफिक प्रहरी मूकदर्शक बन्ने गरेको शोभाले अनुभव गरेकी छिन्‌।

उनले थपिन्‌, ‘आज सोह्रखुटेबाट सुन्धारासम्म आउँदा सिट फुल भएको पनि धेरै ट्राफिक प्रहरीले देखिरहेको थियो। तैपनि उनीहरुले बस चालकलाई केही भनेनन्‌। कारबाहीको त कुरै छैन।’ सिटको क्षमता अनुसार नै यात्रुहरु राख्न पाउने भए साविक भाडादर नै कायम हुनुपर्ने उनको माग छ। ‘सामाजिक दूरी कायम गर्नका लागि सरकारले एक सिटमा एक जना मात्रै बस्ने निर्णय गरेको हो,सिटभरी राख्ने भए भादादर घटाउनुपर्छ। यसरी भाडा पनि तिर्ने, ज्यान पनि जोखिम पार्नुपर्ने, यो ठीक भएन,’ उनले थपिन्‌।

‘व्यापक अनुगमन गरिरहेका छौँ’

पछिल्लो पटक जोरबिजोर पनि मिचेर सवारीसाधन चल्न थालेका छन। तर, महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने व्यापक ढंगले अनुगमन गरिरहेको दाबी गर्छन्।

‘हामीले स्वास्थ्य मापदण्ड अपनाएर सवारीसाधन सञ्चालन भएको छ कि छैन भनेर व्यापक अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘सादा पोसाकमा पनि प्रहरीलाई खटाएका छौँ।’

उनका अनुसार उपत्यकाका विभिन्न ठाउँका एक सय ५२ ठाउँमा चेक प्वाइन्ट राखिएका छन्‌। रात्री समयका लागि ३९ ठाउँमा चेक प्वाइन्ट राखिएको छ।

सरकारले तोकेको मापदण्ड विपरित सञ्चालन गरिएको सवारीसाधन दैनिक आठ सयको हाराहारीमा कारबाही गर्ने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.