|

काठमाडौं चारसय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक अस्तित्व नामेट पार्ने प्रयास थालिएको भएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्‌।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालीन इतिहासलाई अस्तित्व विहीन बनाउने गरी मुद्दा-मामिला गर्न थालिएकाले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकतावद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी लगनबासीले दिएका हुन्‌।

शिलखाना नमास्न माग गर्दै त्योभन्दा धेरै पूरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएका हुन्।

अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशील विक्रम थापाले सिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्।

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ स्थानीय शैलेश शाक्यले भने, ‘ती विहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ।

उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरू नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेख तथा चैत्यहरू अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन्।

तर, अहिले भीमसेन थापाको भाइको इतिहाससँग जोडेर प्रताप मल्लकालीन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरूको गुनासो छ। ‘भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालीन इतिहासलाई तोडमोड गर्ने काम भैरहेको छ,’ शाक्यले भने, ‘नृपेन्द्र मल्लका पालाको चैत्य तथा अन्य विहार र वास्तुकला कलाकृति अहिले पनि त्यहाँ पाइन्छ। त्यसैले पनि यो मल्लकालीन सम्पदा हो भन्ने प्रमाण हुन्छ।’

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेकी र उनका छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार लगं बहालमा बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ।

शाक्यले लगं बहालको बाहिरपट्टि रहेको अर्को मल्लकालीन विहार (जहाँ अहिले पार्क बनाउन लागिएको छ,) जीर्णोद्वार गरी आफ्नो छोराहरूलाई बौद्ध विहारमा स्थापित गरेको इतिहास प्रमाणकै रुपमा रहेको पनि जानकारी दिए।

अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहार र बौद्ध-चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मूर्ति र शिलापत्रसहितका भग्नावशेषहरू भेटिनुले पनि त्यहाँ बौद्ध विहार रहेको तथ्यलाई कसैले नकार्न नसक्ने उनको तर्क छ।

‘जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातू मण्डल लगायत अन्य बौद्ध मूर्तिहरू स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ। त्यसैले यो क्षेत्र पौराणिक ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले अति नै महत्वपूर्ण स्थान हो,’ शाक्यले भने, ‘भीमसेन थापाका भाइका लागि निर्माण गरिएको निजी निवास र तबेलाभन्दा मल्लकालीन बौद्ध विहार ऐतिहासिक  तथा पुरातात्त्विक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ। त्यहाँ निर्माण गरेका बौद्ध विहार यहीँका स्थानीय जनताको पुर्ख्यौली सम्पत्ति पनि हो। तर, अहिले रणबीर सिंह थापाको मात्रै इतिहास जोडेर मल्लकालीन इतिहास मेटाउने काम भएको छ। त्यसमा हाम्रो ध्यानाकर्षण भएको हो।’

उनले उक्त ऐतिहासिक स्थानमा काठमाडौँ महानगरपालिकाले पार्क निर्माण गर्ने जानकारी पाएपछि आफूहरूले २०७६ साल जेठमा नै महानगरपालिकाको शहरी योजना आयोगलाई अस्तित्वमा रहेको बौद्ध विहार नै पुनर्निर्माण गर्न माग गर्दै निवेदन दिएको पनि जानकारी दिए। काठमाडौँ महानगरपालिकाले ऐतिहासिक र पुरातात्त्विक महत्वलाई जीवित राख्दै पार्क निर्माण गर्न पटक–पटक छलफल गरेपछि आफूहरू सकारात्मक भएको स्थानीयहरूको भनाइ छ।

काठमाडौं महानगरपालिकाले पनि स्थानीय र थापाहरूसँग पटक–पटक छलफल गरेपछि लगन विहार र शीलखाना दुवैको ऐतिहासिक महत्वलाई जीवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माण योजना अघि बढाएको जानकारी दिएको छ। घना बस्ती रहेको भित्रि शहरमा ऐतिहासिक तथा अद्वितीय कलाकृति भएको यो स्थानमा पुरातात्विक महत्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। 

‘पार्कसँगै ऐतिहासिक दस्तावेज र पुरातात्त्विक महत्वका सामग्री राख्नका लागि संग्रालय निर्माण गर्ने गरी काठमाडौँ महानगरपालिकाले डिजाइन तयार पारेपछि र नाम पनि इतिहास नमेटिने गरी लगंपार्क राख्ने भनेपछि हामी सकारात्मक भएका हौँ,’ स्थानीय रिपक शाक्यले भने, ‘लगन टोल ऐतिहासिक महत्वको स्थान हो। भित्रि शहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण गर्दै पार्क निर्माण गर्ने कुरामा हाम्रो समर्थन छ। तर, इतिहास नै मासेर संरचना निर्माण गर्ने काम हुन्छ भने कानुनी लडाइँको बाटो खोज्न बाध्य हुनेछौँ।’

उनले लामो समय प्रधानमन्त्री बनेका भीमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गर्दै शाक्यहरूलाई स्थानान्तरण गरी घर र तबेला बनाएको इतिहास रहेको पनि स्मरण गराए। ‘उक्त घरमा प्रधानमन्त्री भीमसेन थापाका भाइ रणवीर सिंह थापालाई बस्ने व्यवस्था मिलाएका थिए,’ शाक्यले भने, ‘भीमसेन थापाको पतनपछि थापा परिवारलाई सर्वस्वहरणसहित देश निकाला गरेपछि उनीहरू छिन्नभिन्न भएका थिए।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.