|
फाइल फोटो

चितवन : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले मंगलबार(आज) ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख रेणु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'लाई सो चेक हस्तान्तरण गरेका हुन्। 

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँमध्ये पहिलो चरणमा ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने उनले विश्वास दिलाए।

महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले निर्माणको काम बढाइरहेकोमा खुसी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन्। 

रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ थियो। भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रंगशाला निर्माणको काम भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.