|

सल्यान : कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिम कम गर्न सल्यानमा सुत्केरीको घरमै पुगी स्वास्थ्य सेवा दिन थालिएको छ। कोरोना महामारीको समयमा सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम उच्च हुने भएकाले त्रिवेणी गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको हो।

नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरीको घरमै पुगी स्वास्थ्य सेवा दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले बताए। ‘नेपाल सरकारको प्राटोकलअनुसार सुत्केरी भएको २४ घण्टा तीन दिन र सात दिनमा जाँच गराउनु पर्ने हुन्छ,’ उनले भने‚ ‘तर दुर्गमताका कारण  स्वास्थ्य संस्था जान नसक्ने र त्यसमा पनि कोरोनाको महामारी फैलिएको समय भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घर पठाएका छौं।’

गाउँपालिकाका छवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी सुत्केरीको घरघरमा पुगी स्वास्थ्य परीक्षण गरिरहेको उनको भनाइ छ। गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिँदा निकै सहज भएको वडा नम्बर ५ कैलेज्युलाकी सुत्केरी सुस्मिता रावतले बताइन्। उनले भनिन्, ‘पहिले सुत्केरी भएको तीन दिनमा सकी नकसी चेकजाँच गराउन स्वास्थ्य संस्था जानु पर्थ्यो तर अहिले घरमै स्वास्थ्य सेवा पाएका छौं।’ गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्थाप्रतिको डर पनि कम भएको अर्की सुत्केरी दुर्गा केसीले बताइन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुत्केरी महिलाको घरमै पुगी स्वास्थ्य सेवा दिने कार्यक्रमम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए। अबको केही दिनमा नै ज्येष्ठ नागरिकहरुलाई पनि घरदैलोमा नै स्वास्थ्य सेवा दिने गरी कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.