|

पर्वत : ​ ३३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेशमा संक्रमितहरूको कूल सङ्ख्या तीन हजार ८३३ पुगेको छ। सङ्क्रमणको पुष्टि भएकामध्ये दुई हजार ७३५ जनाले सङ्क्रमणलाई जितेका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशिक्षक नवराज शर्माका अनुसार गण्डकीमा मङगलबार साँझसम्म ६८ हजार ९४२ वटा स्वाब परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६५ हजार १०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सक्रिय संक्रमित सङ्ख्या एक हजार ६५ रहेको छ। 

यस्तो छ जिल्लागत अवस्था

११ वटा जिल्ला रहेको गण्डकीमा हिमाल पारीको मुस्ताङमात्रै कोरोना शून्य अवस्थामा रहेको छ। त्यहाँका एक वृद्ध पुरुषमा सङ्क्रमण रहेको पुष्टि भएको भएपनि उनी निको भएर घर फर्किसकेका छन्।

हिमाल पारीकै अर्को जिल्ला मनाङमा भने चार जना सक्रिय संक्रमित रहेका छन्‌। त्यहाँका आठ जनामा सङ्क्रमणको पुष्टि भएकोमा चार जनाले कोरोनालाई जितेका छन्।

५१ जनामा सङ्क्रमण भएको म्याग्दी जिल्लामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ। कूल सङ्क्रमितमध्ये ४९ जनाले सङ्क्रमणलाई जितेका छन् भने आइसोलेसनमा राखेर एक जनाको उपचार चलिरहेको छ।

सङ्क्रमण रहेको अवस्थामा एक जनाको मृत्यु भएको बागलुङ जिल्लामा सक्रिय केसको सङ्ख्या ६५ रहेको छ। कूल ३८९ जनामा सङ्क्रमण पुष्टि भएकामा ३२३ जनालाई निको भएको छ।

पर्वतमा १२३ जना सङ्क्रमित भेटिएकोमा ११४ जना निको भएका छन्। आइसोलेसनमा राखेर नौ जनाको उपचार चलिरहेको छ। उनीहरू सबै लक्षण विहीन छन्।

महामारी फैलँदा शुरूमा नै धेरै जना सङ्क्रमण भेटिएको स्याङ्जा जिल्लामा तीन जना संक्रमितको मृत्यु भएको छ। कूल ३९८ जनामा सङ्क्रमणको पुष्टि भएकोमा ३७५ जनालाई निको भएको छ। २० जना आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन्।

सङ्क्रमितको कूल सङ्ख्या ८६१ रहेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ६२६ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६ जनाको पोजेटिभ रहेकै अवस्थामा मृत्यु भएको छ भने सक्रिय केसको सङ्ख्या २२९ रहेको छ।

यस्तै, तनहुँका ३३६ जनाले सङ्क्रमणलाई जितेका छन्। ४३३ जनामा सङ्क्रमणको पुष्टि भएकोमा ९२ जनाको उपचार चलिरहेको छ, ५ जनाको मृत्यु भएको छ।

गोरखा जिल्लाका ६ जना संक्रमितको मृत्यु भएको छ। २५२ जनामा सङ्क्रमणको पुष्टि भएकोमा १९८ जनालाई निको भएको छ भने ४८ जना आइसोलेसनमा छन्।

लमजुङमा उपचारपछि ३१५ जना कोरोनामुक्त भएका छन्। कूल ३७७ जनामा सङ्क्रमणको पुष्टि भएकोमा अब सक्रिय केसको सङ्ख्या ६२ मात्र रहेको छ।

मानवीय हताहतीका हिसाबले सबैभन्दा बढी प्रभावित कास्कीमा हालसम्म ११ जनाको मृत्यु भएको छ। ९४० जनामा सङ्क्रमण रहेको पुष्टि भएकोमा ३९४ जनालाई निको भएको छ भने सक्रिय केसको सङ्ख्या ५३५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.