|
होटल जेनियल ।

विराटनगर : कोरोना महामारीका कारण आगन्तुक नआएपछि विराटनगरका दूई ठुला होटल बन्द भएका छन्‌।

​पर्यटनसँग जोडिएको व्यापार लयमा फर्कन नसकेपछि विराटनगरको पहिलो स्तरीय होटल ‘होटल नम्सकार’ मंगलबारदेखि औपचारिक रुपमा बन्द भएको छ। चार दशकअघी २०३७ सालमा युवराज श्रेष्ठले होटल स्थापना गरेका थिए। 

यसअघि गएको असार १ गतेदेखि विराटनगरकै अर्को ठूलो र स्तरीय होटल जेनियल पनि बन्द भएको थियो। जेनियल भने सञ्चालन नहुनेगरी सदाको लागि बन्द भएको हो। १४ करोड रुपैयाँ लगानी गरी शुरू भएको होटल जेनियलले २२ वर्षदेखि सेवा दिँदै आएको थियो।

यता, ठूलामध्येका एक नम्सकार होटलले पनि कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय तत्काल तङ्ग्रिने अवस्था नदेखिएकाले होटल बन्द गरिएको सूचना जारी गरेको छ।  कोरोना महामारीको कारण सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था भएको र विल्डिङ पनि पुरानो भएकोले बन्द गरिएको युनेशराज श्रेष्ठले बताए।

महामारीका कारण व्यापार बन्द भएपछि तत्काललाई होटल बन्द गरिएको श्रेष्ठको भनाइ छ। अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्ने व्यवस्थापन पक्षले जनाएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको ६ महिना लामो लकडाउन र निषेधाज्ञा अन्त्य गरेसँगै भदौ १ गतेबाट होटल बजार भने खुलेको छ। तर, ग्राहक नआउँदा होटलले सञ्चालन खर्च पनि उठाउन नसक्ने अवस्था रहेको व्यवस्थापकले बताएका छन्‌।

अहिलेको अवस्थामा विराटनगरका होटलहरूले मासिक ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको व्यवसायीहरू बताउँछन्‌। कर्मचारीको सेवा सुविधा, बैंकको ब्याज, बिजुली र पानीको खर्च तिर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाई छ। 

विराटनगरमा जेनिय र नम्सकारसँगै इस्टर्न स्टार, एसियाटिक, स्वागतम, ह्यारिसन, होटल बिग र रत्ना लगायतका स्टार होटलहरू सञ्चालनमा रहेका छन्। यहाँका होटलहरूमा करिव आठ सय जनाले रोजगारी पाएका छन्।

सरकारले होटलहरूका लागि विशेष सुविधासहितको प्याकेज घोषणा गरेर सञ्चालन गर्नतर्फ अग्रसर नभए बन्द गरेर साँचो बुझाउनुपर्ने परिस्थित बनेको सञ्‍चालकहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.