|

नेपालगञ्ज : बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सञ्चालन भएको चार वर्ष भयो। तर‚ अस्पतालले बिरामीहरुमा क्यान्सर भए नभएको यकिन गर्नका लागि गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेसन अर्थात  बायस्पी परीक्षण सेवा दिन सकेको छैन।

यहाँका बिरामीमा क्यान्सरका शंकास्पद बिरामीहरुको बायस्पी परीक्षणका लागि चितवनको भरतपुर या भक्तपुर क्यान्सर अस्पतालमा पठाउनु पर्ने बाध्यता छ। क्यान्सर अस्पतालमा करिब ७० करोड रुपैयाँ लगानी भइसकेको छ। प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका नागरिकलाई क्यान्सरको उपचार सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा कार्यकारी निर्देशकसहित पाँचजना मात्रै चिकित्सक छन्। तीमध्ये एकजना मात्रै क्यान्सर रोग विशेषज्ञ हुन्।

अस्पतालको भवन भव्य छ। क्यान्सरका बिरामीहरुको उपचारका लागि आवश्यक उपकरणहरु पनि छन्। अस्पताल सञ्चालनका लागि नेपाल सरकारले वार्षिक ६ देखि ८ करोड रुपैयाँ बजेट दिँदै आएको छ।  स्थानीयवासी र नेपाल सरकारले अस्पतालका सञ्चालन गर्न करिब ७० करोड रुपैयाँ लगानी गरिसकेको छ। तर‚ लगानी अनुसारको सेवा अस्पतालले दिन सकेको छैन।

स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डअनुसार क्यान्सर अस्पताल सञ्चालनका लागि कम्तीमा २० जना  चिकित्सकसहित रेडियोग्राफी‚ ल्याब, नर्सिङ, बायोमेडिकल इन्जिनियर‚ प्रशासन र लेखाका लागि करिब १३० जना दरबन्दी आवश्यक पर्छ।  अर्थ मन्त्रालयले २०७७ जेठ ८ मा १३० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। तर‚ मन्त्रिपरिषदबाट अन्तिम निर्णय हुन ढिलाई हुँदा क्यान्सर अस्पतालले आवश्यक जनशक्ति पाउन सकेको छैन। हाल पाँचजना चिकित्सकसहित करिब २० जना जनशक्तिले जनतेन अस्पताल धान्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयबाट दरबन्दीअनुसार चिकित्सक नआउँदासम्म नेपालगञ्ज मेडिकल कलेज र सैनिक अस्पततालमा कार्यरत चिकित्सकहरुलाई पार्टटाइम करारमा राखेर भए पनि एक महिनाभित्रै बायस्पी परीक्षण सेवा सुरु गर्ने तयारी अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक कृष्णप्रसाद आर्चायले बताए। क्यान्सर अस्पताल मै कोरोना विशेष अस्पताल सञ्चालन गरिएकाले प्रभावित भएको किमो सेवा पनि कोरोना विशेष अस्पताल भेरी अस्पतालमा पछि पुनः सुरु भएको छ।

अन्य अस्पतालबाट क्यान्सर पहिचान भई सकेका बिरामीहरुलाई औषधिमार्फत दिइने किमो सेवा प्रदान गरिँदै आएको अस्पतालका क्लिनिकल अन्कोलोजिष्ट डा प्रदीप भण्डारीले बताए। अस्पतालले पछिल्ला दिनहरुमा दैनिक ८ देखि १० जना बिरामीलाई किमो सेवा प्रदान गर्दै आएको छ।

चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत खजुरास्थित क्यान्सर अस्पतालका बिरामीको परीक्षण गर्दै आएको थियो। अस्पतालले ओपिडी‚ डे केयर क्यान्सरको स्क्यानिङ र किमो सेवा सञ्चालन गर्दै आएको छ । 

२०५६ सालदेखि निर्माण शुरु भएको क्यान्सर अस्पतालमा अपरेसन थिएटर र १० शय्याको आइसियु वार्डसहित करिब १०० शय्या छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.