वैकल्पिक विधि प्राथमिकतामा

|
शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीको कार्यालय ।

बैतडी : लामो समयदेखि विद्यालय बन्द भएपछि वैकल्पिक माध्यमबाट पठनपाठन गर्नका लागि बैतडीमा विद्यार्थीको अभिलेखीकरण र वर्गीकरण थालिएको छ। कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भइरहँदा यहाँ शिक्षकहरू विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्‌। 

सरकारले गत भदौ १९ गते लागू गरेको वैकल्पिक शिक्षण सिकाई निर्देशिका, २०७७ अनुसार विद्यार्थीको पहिचान गर्न काम भइरहेको हो। यही असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू पालिकाअनुसार अभिलेखीकरणमा खटिएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए।

उनले भने, ‘पठनपाठन थाल्न पूर्व तयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएका हो।’​ अभिलेखिकरणमा कति विद्यार्थी टिभी, अनलाइन, रेडियो एफ एमको पहुँचमा छ,न् त्यसको पहिचान हुने जनाइएको छ। विद्यार्थीको पहिचान गरेर विद्यालयले कार्ययोजना बनाउने र सहज विकल्प प्रयोग गरी पठनपाठन अघि बढ्ने इकाइ प्रमुख अवस्थीले बताए।

‘शिक्षण सिकाइका लागि औपचारिक, अनौपचारिक र वैकल्पिक शिक्षा रहेकोले अहिलेको अवस्थामा वैकल्पिक शिक्षा नै उपयुक्त हुन्छ,’ उनले भने, ‘सरकारले नै तत्काल विद्यालय सञ्चालन नगर्न भनेकfले अर्को निर्णय नहुँदासम्म सञ्चालनमा आउँदैनन्।’

जिल्लाको पुर्चौडी नगरपालिकाले प्रत्यक्ष रूपमा विद्यालय सञ्‍चालन गरेकोले अभिलेखीकरणको काम नभएको शिक्षा शाखा प्रमुख दिनेश नागरीले बताए। उनले भने, ‘हाल नगरपालिका सिल भएकाले विद्यालय बन्द रहेपनि पुनः सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमै पठनपाठनको काम हुन्छ।’ 

७० प्रतिशत विद्यार्थी भर्ना भइसेकेकाले सूचना प्रकाशित गरेर उनीहरूलाई सम्पर्कमा ल्याउने काम भइरहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए। उनले भने, ‘ असोज १५ सम्म सम्पर्कमा नआएपछि त्यसपछि टोलटोलमा जान्छौं।’ 

वैकल्पिक प्रणाली प्राथमिकतामा 

बैतडीमा पनि वैकल्पिक प्रणालीलाई नै प्राथमिकतामा राखेर शिक्षण सिकाइलाई अगाडी बढाइने भएको छ। अन्‍तरपालिका बैठकले वैकल्पिक शिक्षण सिकाई निर्देशिका २०७७ अनुसार नै पठनपाठन कार्य अगाडी बढाउने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। उनले भने, ‘सरकारले जारी गरेको निर्देशिकामा टेकेर शिक्षण सिकाइको काम अगाडी बढाइने निर्णय भएको छ।’

शिक्षण सिकाइका लागि औपचारिक, अनौपचारिक र वैकल्पिक शिक्षाका विकल्प रहेकोले अहिलेको अवस्थामा वैकल्पिक शिक्षा नै उपयुक्त हुनेमा सबै पालिका सहमत भएका छन्। वैकल्पिक शिक्षाका लागि शिक्षण सिकाई केन्द्र, टोल शिक्षा, जोरबिजोर रोल नम्बर, रेडियो शिक्षा लगायतका विकल्प रहेका छन्।

ती विकल्पमध्ये पालिकाले आफ्नो पालिकामा कोरोना संक्रमणको जोखिमको अवस्था हेरेर उपयुक्त विकल्प छनौट गरि शिक्षण सिकाइको कार्य अगाडी बढाउने भएको हो।

जिल्लाका केही स्थानीय तहहरूमा विद्यालयमै पठनपाठन सञ्चालनमा रहेको भएपनि उनीहरूले पनि जोरबिजोर प्रणाली तथा धेरै समय दिन नसकेको शिक्षा विकास तथा समन्वय इकाई, बैतडीले जनाएको छ। 

बैतडीमा ५४२ सामुदायिक र २० संस्थागत विद्यालय गरी ५६२ विद्यालय छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.