|

नयाँदिल्ली : बाबरी मस्जिज विध्वंसका सबै ३२ आरोपीले सफाइ पाएका छन्। २८ वर्षअघिको घटनाबारे तीन साताअघि सुनुवाइ सकेको सिबिआईको विशेष अदालतले सबै आरोपीलाई सफाइ दिएको हो। उनीहरुविरुद्ध ठोस प्रमाण नपाइएको अदालतको ठहर छ।

आरोपीको सूचीमा एलके आडवाणी‚ मुरलीमनोहर जोशी‚ कल्याण सिंह‚ उमा भारती लगायतका नेताहरू सामेल थिए। कूल ४९ जनाविरुद्ध आरोप लगाइएकामा १७ जनाको मृत्यु भइसकेको छ।

सोह्रौं शताब्दीका मुगल सम्राट बाबरको शासनकालमा बनाइएको अयोध्यास्थित बाबरी मस्जिद ६ डिसेम्बर १९९२ का दिन हिन्दू समर्थक समूहले ध्वस्त पारिदिएको थियो। त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा सयौँको ज्यान गएको थियो।

बुधबार अदालतको फैसला आउँदै गर्दा लखनउको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

फैसलापछिका प्रतिक्रिया

अदालतको फैसलाबारे आरोपीमध्येका एक लालकृष्ण आडवाणीले भने‚ ‘अदालतले ऐतिहासिक निर्णय दिएको छ। यो असाध्यै खुशीको दिन हो। त्यस दिन जे भएको थियो‚ अचानक भएको थियो‚ कुनै षड्यन्त्र थिएन भन्ने प्रमाणित भएको छ।’

त्यस्तै‚ केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गर्दै ‘ढिलै भए पनि न्यायको जीत भएको’ प्रतिक्रिया दिएका छन्।

हालै मात्रै अदालतको मानहानीको मुद्दा बेहोरेका वरिष्ठ वकिल प्रशान्त भूषणले भने अदालतको फैसलाप्रति असहमति जनाएका छन्। उनले भनेका छन्, ‘न्यायपालिकाले न्याय गर्छ भन्‍नु भ्रम मात्रै हो‚ यो फैसलाले न्यायपालिकाले न्याय दिँदैन भन्ने देखाएको छ।’

त्यस्तै‚ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटमा लेखेका छन्, ‘सत्यमेव जयते। पूर्वाग्रहपूर्वक पूज्य सन्त, भारतीय जनता पार्टीका नेता तथा समाजसेवीमाथि झुटो मुद्दा चलाएर बदनाम गरेकोमा कांग्रेसले जनतासँग माफी माग्नुपर्छ।’

मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले अदालतको फैसलालाई ‘मजाक’ भनेका छन्। ट्वीटरमा उनी लेख्छन्, ‘यो न्यायको मजाक हो। आरोपी सबैलाई सफाइ दिइएको छ। त्यसो भए के मस्जिद आफैँ ढल्यो ? लज्जास्पद।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.