आइजिपी थापा भन्छन् : निर्मलाको केसलाई पनि टुंगोमा पुर्‍याएर छाड्छौं

|

काठमाडौं : नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा क्षत्रीले पछिल्लो समय बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढिरहेको बताएका छन्। 

संघीय संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा बुधबार भाग लिँदै थापाले बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि बताए। 

बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको थापाले बताए। 

पहिलेको घटनालाई मिलापत्र गराउनेहरूलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले बताए। 'सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्वीकारेको अवस्था छ', उनले भने, 'पहिलेको घटना मिलापत्र गरेकालाई पनि प्रतिवादी बनाउने गरी मुद्दामा लैजाने तयारी गरेका छौँ। मिलापत्रमा पीडितको दाजु पनि बसेका अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी अगाडि बढ्दै छौँ।'

सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको पनि उनले बताए। त्यो प्रताडना सहन नसकेर पीडितले आत्महत्या गरेको भन्‍ने प्रहरी अनुसन्धानले देखाएको उनले बताए। 

बलात्कारका घटना रोकथामका लागि प्रहरीले आफ्नो तर्फबाट कार्यक्रम गरिरहेको उनले बताए। समाजले फौजदारी अभियोगमा मिलापत्र गर्ने परम्पराले यस्ता घटनाहरूलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उनले बताए।

निर्मलाको घटनाले प्रहरीमा कालो धब्बा

निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्‍ने गरी काम भइरहेको प्रहरी महानिरीक्षक थापाले बताएका छन्।

उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङकी सम्झना कामीको बलात्कारपछि हत्याको अनुसन्धान गर्न सहयोगीका रूपमा पनि खटिएको बताए। 
पन्तको घटनापछि प्रहरीको छविमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्‍नेमा आफुहरु सचेत रहेको बताए। 

'निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ। प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ। घटनाको अहिले रिभ्यू गरिरहेका छौँ', उनले भने, 'त्यो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ। त्यो सफाइले तत्कालीन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्‍ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्‍ने भयो। त्यसलाई छिट्टै टुंगोमा पुर्‍याउने गरी काम भइरहेको छ।'

थापाले निर्मला प्रकरणले नेपाल प्रहरीमा लागेको धब्बा मेटाउन कुनै पनि हालतमा यो घटना पार लगाउनु पर्ने उल्लेख गरे। 'यदि हामीले सकेनौँ भने सदाका लागि धब्बा हुनेछ', उनले भने, 'यसो हुन नदिन हामी सचेत रहेका छौँ। छिटो निष्कर्षमा पुग्‍ने गरी काम गरिरहेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.