सरकारले आश मात्र देखायो

|
शीला तिम्सिना

काठमाडौं : कोरोनाको संक्रमण पछिल्लो समय प्रहरी संगठनमा तीव्र गतिमा फैलिइरहेको छ। सुरक्षा व्यवस्था मजबुत बनाउन दिनरात नभनी खटिरहेका कैयाैं सुरक्षाकर्मी कोरोनाको सबैभन्दा बढी जोखिममा छन्। 

हुलमुलमा जानुपर्ने, संक्रमितको व्यवस्थानदेखि कोरोना रोकथाममा अंग्रपंक्तिमा उनीहरु खटिइरहेका छन्। कतिपय भने मुक्त भइसेकेका छन्। 

सरकारले यसरी अंग्रपंक्तिमा खट्ने प्रहरीलाई जोखिम भत्तावापत रकम उपलब्ध गराउने बताए पनि हालसम्म भने उनीहरुले पाउन सकेका छैनन्। 

कोरोनाबाट उपत्यका थप बढी जोखिममा छ। हाल उपत्यकामा करिब १ हजार ५ सय ७१ जना प्रहरीमा संक्रमण भइसकेको छ। जसमध्ये ९ सय २९ जना कोरोना मुक्त भएका छन्। यस्तै ६ सय ४२ जना प्रहरी हाल अस्पताल र होम क्वारेन्टाइनमा छन्।

यस्तै, ट्राफिक प्रहरीका करिब ३ सय ४५ जना संक्रमित भइसकेका छन्। उपत्यकामा हाल ४४ वटा ट्राफिक इकाइ छन्। जसमा स्वीकृत जनशक्ति १ हजार ८७ जना ट्राफिक जवान छन् भने कार्यरत १ हजार ४ सय ९ जना छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसबी कुबेर कडायतका अनुसार कोरोनामुक्त भएका प्रहरीहरू पुन आफ्नो काममा फर्किसकेका छन्। 'कोरोना लागेका प्रहरीहरू आइसोलेसनमा राखेर नेगेटिभ रिपोर्ट देखिएपछि थप ७ दिन आरामका लागि बिदा दिने गरेका छौं', उनले भने, 'उहाँहरुलाई निगरानी गर्दै  ७ दिनपछि भने काममा फर्किने गर्नुभएको छ।'

एकातिर कोरोना हुँदाहुँदै पनि सुरक्षा चुनौती र समस्या समाधान गर्ने जिम्मेवारी पनि प्रहरीको हातमा छ। त्यसमाथि हरेक दिन हुने आन्दोलन र हुल दंगामा पनि प्रहरी नै फ्रण्टलाइनमा खटिएका छन्। प्रहरीमा कोरोनाको बढ्दो संक्रमण सामान्य नागरिकको तुलनामा बढी छ।

उपत्यकाको बढ्दो सवारी व्यवस्थापन खटिएका ट्राफिकहरूमा पनि कोरोना संक्रमणले आक्रान्त बनाएको छ। उनीहरु पनि कोरोनामुक्त भएको ७ दिन आराम गरेर सडकमा खटिएका छन्। महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीम प्रसाद ढकालले कोरोनामुक्त भएका ट्राफिकलाई उनीहरूको शरीरको सुरक्षा गर्दै काममा खटाइएको बताए।

'संक्रमित भएर निको भएका ट्राफिकलाई कम सवारी हुने र भीड नहुने स्थानमा खटाएका छौं। कतिपय आफ्नै घर वा कोठा नजिकै ड्युटीमा छन्', उनले भने, 'हामीले ट्राफिकहरुको मनोबल उच्च बनाउन सम्बन्धित अधिकृतहरुको कमाण्डमा निगरानी र सुरक्षाबारेमा आवश्यक काउन्सिलिङ गरिरहेका छौं।'

कतिपय प्रहरी कोरोनामुक्त भएको ७ दिनमा नै सडकमा काममा फर्किँदा उनीहरु पूर्ण रुपले फिट हुन सकेका छैनन्। 

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा निर्देशक डा. सागर राजभण्डारीले उपचार क्रममा भेण्टिलेटर र अक्सिजन नै  प्रयोग भएका कुनै पनि बिरामी कोरोनामुक्त भएको महिनौंसम्म आराम गर्नुपर्ने बताउँछन्।

'कतिपय जटिल केशमा रहेका बिरामीहरू निको हुने बितिक्कै आफ्नो काममा फर्किन नसक्ने हुन सक्छन्', उनले भने, 'सामान्य लक्षण नदेखिएका बिरामी भने १५ दिनमा पुन  काममा फर्किन सक्छन्।' कोभिड-१९ लाग्दैमा रोगहरुले आक्रमण गरिहाल्छन् वा कमजोर भइ हालिन्छ भन्ने पनि नरहेको राजभण्डारीले बताए।

संक्रमित र संक्रमण मुक्त प्रहरीहरूलाई बेला बेला काउन्सिलिङ गर्ने काम भएको प्रवक्ता कडायतले उल्लेख गरे।

प्रहरी निको भएको ७ दिनमा नै काममा फर्किनुपर्ने त्यस्तो अवस्था किन आयो त ? नेपाल प्रहरीमा लामो समयदेखि भर्ना प्रक्रिया रोकिएको र यो लकडाउन अवधिमा रिटायर्ड हुने अधिकृतहरु आफ्नो घर लागेपछि प्रहरीमा थप कार्यभार थपिन पुगेको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'जस्तोसुकै कठिनाइमा पनि काम गर्न सक्ने प्रहरीको विशेषता हो। तर, कोरोनामुक्त भएर सडकमा आइहाल्नुपर्ने बाध्यता पनि प्रहरीमा छ', उनले थपे, 'प्रहरीमा कोरोना संक्रमण थपिएको छ। उनीहरू बिरामी हुँदा, कोरोना नलागेका प्रहरीमा कामको चाप थपिँदै गएको देखिन्छ।'

कोरोना मारमा जोखिम त छँदैछ। कामको चाप पनि उस्तै छ।  सरकारले जोखिम भत्ताको ललिपप पनि बाँडेको थियो। सीमित जनशक्तिले आफ्नो 'ड्युटी आवर' भन्दा बढी काम गरिरहँदा पनि आजसम्म सरकारले जोखिम भत्ताबारे भने कुनै चासो नदेखाएको एक प्रहरी अधिकृत बताउँछन्।

प्रहरीले कोरोना महामारीमा जोखिम उठाएर काम गरिरहनुपरेको छ। काममा थपिँदै गएको छ। तर सरकार आफूहरुलाई प्रोत्साहन गर्न भने चुकिरहेको उनले बताए। 'सरकारले आश पनि देखाउने, काममा पनि खटाउने तर निर्णय कार्यान्वयन नगर्ने प्रवृत्तिले प्रहरीहरुमा निराशा थपेको छ', उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.