|

हेटौंडा ः गत हप्ता परेको वर्षाले नेपालकै ठुलो मानव निर्मित जलाशय टिलपिल छ। इन्द्रसरोवर गाउँपालिका र थाहा नगरको आर्थिक स्थितिमा समेत जोडिने जलाशयमा गत वर्ष यति बेला पर्यटकको भीड लाग्ने गर्थ्यो, तर यसपालि कोरोनाको कारण भरिएको इन्द्रसरोवरमा खासै पर्यटक आएका छैनन्। 

मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ। पानीको सतह हाल १ हजार ५ सय २३  मटरमाथि पुगेको छ। साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गते देखि नै बढ्न थालेको हो।  

गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो। जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ। मकवानपुर उत्तरीक्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’को रुपमा परिचित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा गत मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुलेखानी जलविद्युत प्रथम ‘ए’ का आयोजना प्रमुख धीरेन्द्र चौधरीले बताए। 

तर भरिभराउ जलाशयमा यसपालि पर्यटक, मोटरबोट र डुंगा सवार गर्नेहरु नहुँदा मार्खु, चित्लाङ क्षेत्रका पर्यटन व्यवसायी र होटल सञ्चालहरुमा सन्नाटा छाएको छ। इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामा भन्छन ‘पर्यटक नआउँदा, कुलेखानीको पर्यटन व्यवसाय र अन्य आर्थिक क्षेत्रमा समेत असर परेको छ।’ कुलेखानी क्षेत्रमा यो मौसममा दैनिक ४ सय सम्म पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन्। तर यो वर्ष भने कोरोनाको कारण इन्द्रसरोवर खाली भएको छ।

कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी भरिन सक्छ। कुलेखानी ड्याममा १ हजार ५ सय २७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीको ढोकाहरु खोलिने उनले बताए।

लगातार वर्षाका कारण ७ किलोमिटर लम्बाइ भएको कुलेखानी जलाशयको बढेको हो। उनले जलसतह बढेपछि विद्युत पनि बढी उत्पादन हुने बताए। अहिले कुलेखानी ‘ए’ ले ६० मेगावाट बिजुली उत्पादन गर्दै आएको छ। काठमाडौंको लोड व्यवस्थापन केन्द्र(एलडिसी) को निर्देशनअनुसार आयोजना सञ्चालन गरिने चौधरीले बताए। साउन र भदौमा पूर्ण क्षमतामा २४ घण्टा नै चलेको आयोजनामा पानीको सतह घटेको थियो। असोजमा कम चलेकोले सतह बढ्न थालेको उनले बताए। 

गत वर्ष असोजमा कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलब ७० पुगेको थियो। कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन वटै आयोजना निरन्तर चलेकाले गत वर्षको जति पानीको सतह नबढेको उनले बताए। कुलेखानी प्रथममा ६० मेगावाट, र दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १ सय ६ मेगावाट जलविद्युत् उत्पादन क्षमता छ। 

कुलेखानीको जलसतह बढेर यो वर्ष गत वर्षहरु जस्तै विद्युत् उत्पादनमा फाईदा भएता पनि पर्यटन व्यवसायमा भने फाइदा हुन सकेन। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.