|

गान्धी (२ अक्टोबर १८६९- ३० जनवरी १९४८) भारतीय स्वतन्त्रता  आन्दोलनले जन्माएका भारतका यो युग कै सम्मानित र ख्यातिप्राप्त  राजनैतिक र आध्यात्मिक नेता हुन। अंग्रेजहरुको लामो औपनिवेशिक शासनबाट भारत र भारतीय जनतालाई मुक्त गर्न र दक्षिण अफ्रिकाको रङ्गभेदलाई अन्त्य गर्न  मोहनदास करमचन्द गान्धीले निर्वाह गरेको  भूमिका विश्व राजनीतिको इतिहासमा  विशेष उल्लेखनीय र प्रशंसनीय छ।

सत्य, अहिंसा र सत्याग्रहका माध्यमले विश्वको सैन्य शक्तिलाई पनि झुकाउन र परास्त गर्न सकिन्छ भन्ने विश्वासले नै गान्धीजीलाई सत्याग्रहको आविष्कारकको रुपमा  विश्वमा सम्मानित र जीवित राखेको छ। सत्याग्रहका प्रणेताका रुपमा संसारका अहिंसावादीहरुले गान्धीबाट सधैं उर्जा र आशिर्वाद लिन्छन। संसारका सैन्य शक्तिले सुसज्जित तानाशाहहरु पनि गान्धीजीको धोती ,लगौटी र काठको खराउ लगाएको दुब्लो  शरीरको तस्वीर मात्रले  अहिलेपनि थर्कमान छन्। 

सत्याग्रह अर्थात  अहिंसात्मक आन्दोलनको शक्ति गान्धीजीले सर्वप्रथम दक्षिण अफ्रिकामा प्रयोग गर्नु भएको थियो। त्यसपछि भारतबाट संसारकै शक्तिशाली अंग्रेज शासन र शासकलाई हटाउन प्रयोग गर्दा प्राप्त सफलताले संसारलाई नै चकित पार्‍यो। 

भारतीय जनता र अंग्रेज शासक बीच त्यसबखत हिंसात्मक आन्दोलन  शुरु भएको भए संसारको इतिहासमै  नघटेको नरसंहारको घटना  घट्ने थियो। अत्यन्तै कम मानवीय क्षतिबाट भारतबाट अंग्रेजको शासन परास्त गर्न प्राप्त सफलताले नै गान्धीलाई संसारभर अनन्तकालसम्म सम्मानित हुने अवसर प्राप्त भएको छ। अंग्रेज शासकहरुलाई भारतबाट फिर्ता गर्न भारतीयहरुद्वारा भएको अहिंसात्मक आन्दोलनको सफलताले विश्व राजनीति र राजनेताहरुलाई नै अहिंसाको बाटोमा हिंड्न दिशानिर्देश गरिरहेको छ।

गान्धीजी सशरीर जीवित नहुदा नहुदै संसारभर संचालन हुने सत्याग्रहको आन्दोलनमा आजपनि सहभागीता जनाएको विश्वास गरिन्छ। किनकि गान्धीको बिचारले संचालित आन्दोलनमा वहाँ विचार र दृष्टिकोणका साथ उपस्थिति हुने विषय स्वाभाविक  हुन्छ। संसारको हिंसात्मक राजनैतिक आन्दोलनको मनोविज्ञानलाई अहिंसात्मक राजनैतिक  आन्दोलनको मनोविज्ञानमा रुपान्तरण गरेर गान्धीले मृत्यु पछि पनि संसारका मानव जातिलाई बचाउन ठूलो योगदान गर्नु भएको छ।
विश्व राजनीतिमा यो नयाँ  सिद्धान्त र चिन्तनले  मानव कल्याणको क्षेत्रमा पुर्याएको योगदानको  लेखाजोखा गर्ने हो भने विश्व राजनीतिमा गान्धीको योगदान साँच्चिकै अतुलनीय हिंसात्मक आन्दोलन  अर्थात सत्याग्रहको विश्व  राजनीतिमा प्राप्त लोकप्रियता र विश्वमा भएको  प्रयोगले महात्मा गान्धीलाई भारतीय नागरिकमा मात्र सीमित  नगरेर  विश्व नागरिक नै बनाएको छ।

सत्याग्रह विश्व सम्पदा

अहिले  सत्याग्रह शब्द भारतीय  सम्पत्तिमा सीमित नभएर  विश्व सम्पदा बनेको छ। विश्व राजनीतिमा अहिंसाको शक्ति  अतुलनीय प्रमाणित भएका कारण  गान्धीजी विश्व राजनीति कै अतुलनीय र सम्मानित  नेता मात्र  हैन  अहिंसात्मक आन्दोलनको विधि र प्रविधिका  एकमात्र  अभिभावक बनेका छन।

गान्धीको जन्मदिन २ अक्टोबरलाई संयुक्तराष्ट्र संघले विश्व अहिंसा दिवसको रुपमा मनाउने  निर्णय र प्रचलनले महात्मा गान्धीलाई विश्व राजनीतिक सम्पदाका रुपमा सम्मान प्राप्त हुनु हामी एशियाली अझ विशेष गरेर हिन्दूहरुका लागि विशेष  गर्वको विषय हो।

एकजना  महात्मा गान्धीले हिन्दूलाई  सम्मानित मात्र हैन विश्वले नै पुज्ने अवस्था  सिर्जना हुनु हाम्रा लागि  खुशीको विषय हो। यसले हिन्दू समुदायको  शिरलाई सगरमाथा जस्तै उच्च बनाएको छ। 

महात्मा गान्धी अहिंसाका प्रणेता मात्र नभएर विश्व राजनीतिका अनुकरणीय साथै  आदर्श पुरुष पनि हुन। राजनीतिमा  हिंसात्मक विचार, भ्रष्टाचार, अनियमितता,अनुशासनहीनता र विकृतिहरुलाई सधैं खबरदारी गर्ने आदर्शका प्रतीक हुन गान्धी। अहिले महात्मा गान्धीका विचार, आदर्श र जीवनशैली विश्व राजनीतिलाई शुद्धीकरण गर्ने प्रभावकारी सूत्र बनेका छन्। 

राजनीतिलाई सधैं  खबरदारी गर्ने सत्याग्रहको शक्तिले विश्व राजनीतिलाई नै हिंसा मुक्त बन्न पुर्याएको योगदानलाई विश्व मानव समुदायले नै  सम्मान गर्नुपर्छ। यो अहिंसाको सिद्धान्त र सूत्र मानव जातिलाई नै युगयुग सम्म स्वच्छ र निष्कलङ्क राख्ने सूत्र हो। 

सत्याग्रहको आविष्कार र सफल प्रयोगले गान्धीलाई भारतीय राजनेताबाट विश्व राजनेतामा रुपान्तरण गरेको छ। आजपनि मानव जातिका लागि अत्यन्तै  सान्दर्भिक र प्रासङ्गिक विषय हुन सत्य, अहिंसा र आदर्शको बाटो जसले गान्धीका विचार र दर्शनलाई रेखाङ्कित गर्दछन। आजको मानवमा विकसित लालच, हिंसात्मक र प्रतिशोधको भावना राख्ने जीवनशैलीको एकमात्र समाधानको सूत्र बनेको छ गान्धी जीको अहिंसात्मक ज्ञान र शिक्षा।

संयुक्तराज्य अमेरिकामा मार्टिन लुथर किंग, दक्षिण अफ्रिकामा नेल्सन मण्डेला र बर्माकी नेतृ आङ साङ सुकि जस्ता विश्वकै चर्चित नेताहरुले उत्पीडित जातजाति र जनतालाई न्याय र समानताको प्रत्याभूति दिन गान्धीवादलाई अवलम्बन गरेका कारण पनि यसका सिद्धान्त र आदर्शलाई विश्वमा लोकप्रिय बनाएको छ।

जहाँ सत्य छ त्यहाँ ईश्वरको बास हुन्छ। नैतिकता नै सत्य र अहिंसाको आधार हो। अहिंसाको अर्थ हुन्छ उदारताको पराकाष्ठा जहाँ प्रतिशोधको भावना शून्य हुन्छ। अहिंसक व्यक्तिको विशेषता भनेको नै अर्कालाई मानसिक वा शारीरिक पीडा नदिने। सत्याग्रहको अर्थ हो सबै प्रकारका अन्याय, उत्पीडन र शोषणको विरुद्धमा आत्मबलको  प्रयोग गर्नु। 

सत्याग्रहको शुरुवात र गान्धी

सत्याग्रहको उत्पत्तिको इतिहासको अध्ययन गर्दा उपनिषद् , बुद्ध महाबीरका साथै टाल्सटाय र रस्किन सहितका दर्शनहरुमा पनि पाइन्छ। सत्य,अहिंसा सर्बोदय र सत्याग्रह गान्धी दर्शनका आधारहरू हुन जसले गान्धीका विचारलाई जीवित राखेका छन्। महात्मा गान्धी विश्वकै शान्तिदूत हुन जसले संसारलाई अहिंसाको मार्गमा हिड्न प्रेरित गरिरहन्छ। महात्मा गान्धीको सत्याग्रहको अर्थ हो व्यापक सविनय अवज्ञा जसले अत्याचारको शान्तिपूर्ण प्रतिकार गर्छ।

महात्मा शब्द हिन्दू साहित्यमा अत्यन्तै  सम्मान सूचक शब्द हो। सन् १९१५ मा भारतीय राजवैद्य जीवनराम कालिदासले सर्वप्रथम गान्धीलाई महात्मा नामले सम्बोधन गरेका थिए भने अन्यको मत के छ भने सन् १९१५ मा नै स्वामी श्रद्धानन्दले गान्धीलाई महात्माको उपाधि दिएका हुन। तेस्रो मत के पनि छ भने प्रख्यात कवि रविन्द्रनाथ टैगोरले महात्माको उपाधिले गान्धीलाई  विभूषित गरेका थिए।

गान्धीका अनुयायीहरुले उनलाई वापू अर्थात  पिता भनेर सम्बोधन गर्थे। गान्धीलाई वापू भनेर सर्वप्रथम सम्बोधन गर्ने पहिलो व्यक्ति हुन सावरमति आश्रमका उनका शिष्य सुभाषचन्द्र बोस । सुभाषचन्द्र बोसले नै ६ जुलाई १९४४ मा गान्धीजीका नाममा बर्माबाट रेडियो  प्रसारणमा रङ्गुन रेडियोबाट उनलाई भारतका राष्ट्रपिताका नामले सम्बोधन गर्दै आजाद हिन्द फौजका सिपाहीहरुलाई शुभकामना दिएका थिए। बोसले आजाद हिन्द फौजलाई दिएको भाषण नै उनको अन्तिम भाषण थियो। 

संयोग नै भन्नुपर्छ वि सं २०७५- ७६ सालमा बर्मा यात्राको क्रममा बर्माको माण्डले र लाशियो शहरको बीचमा पर्ने पिउले शहर जसलाई फूलैफूलको शहर पनि भनिन्छ त्यहाँ पुग्दा हिन्द फौजबाट बर्माको स्वतन्त्रता संग्रामको युद्धमा लड्ने ९५ वर्षीय डी आर शर्मा नाम गरेका नेपाली मूलका पूर्व सैनिक अधिकारीसंग अचानक भेट भयो।  

उनले आजाद हिन्द फौजको आफू मात्रै एक जीवित सैनिक भएको बताए। उनले बर्मामा सुभाषचन्द्र बोसको अन्तिम भाषण सुनेको पनि बताए। उनका भाषणका प्रत्येक शब्दमा सैनिहरुलाई युद्धमा विजय प्राप्त गर्न उत्साहित गर्ने विशेष प्रकारको उर्जा प्राप्त भएको पनि बताए।

गान्धीको दक्षिण अफ्रिका बसाइका क्रममा भारतीय नागरिक प्रति तत्कालीन  सरकारको विभेदको अनुभूति आफैले गरे। विभेदका  विविध अनुभवले दिएको आन्तरिक पीडाले नै वहाँलाई भारतीय मूलका नागरिकहरुको हक हितमा संघर्षको विकल्प देखेनन्।

गान्धीको पारिवारिक परिवेश नै शाकाहारी र शान्ति प्रतिको अगाध आस्थाका कारण उनी अहिंसाको पक्षमा वकालत गर्ने  भए मानिसको विवेक ,चेतना र संस्कारको जग नै परिवार र उसको परिवेश हो। 

मानिस कुन परिवेश मा जन्मन्छ , हुर्कन्छ उसको विचार र धारणा पनि तदनुकूल नै हुन्छ। गान्धी भित्र जागेको अहिंसाको भावले बिस्तारै सिद्धान्तको रुप धारण गर्‍यो। अहिंसा र सत्याग्रह को सिद्धान्तलाई प्रयोग गर्ने थलोको रुपमा उनले सर्वप्रथम दक्षिण अफ्रिकालाई प्रयोग गरे। 

दक्षिण अफ्रिकी प्रयोग र भारत

सम्भवत  अफ्रिकामा  वहाँको अहिंसात्मक सत्याग्रहको प्रयोगको सफलताले नै गान्धीलाई भारत फर्कन प्रेरणा र उत्साह दिएको हुनुपर्छ। सन् १९१५ मा दक्षिण अफ्रिकाबाट भारत फर्किए। उनले भारतीय किसान,मजदुर ,शहरी श्रमिकहरुलाई  अंग्रेज सरकारले  लिएको अत्यधिक भूमि कर र भेदभाव विरुद्ध  सरकारको विरोधमा आवाज उठाउन सबैलाई  एकजुट गरे।

यसले सरकारको विरोधमा जनतालाई एकजुट गर्न प्रारम्भ गर्दै गर्दाको अवस्थामा गान्धीले सन् १९२१ मा भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वको जिम्मेवारी प्राप्त गर्नु भयो। यो पदले उनलाई सरकारको विरोधमा जनतालाई  एकजुट पार्न सहज बनायो। भारतीय  राष्ट्रिय काँग्रेसको नेतृत्वको  जिम्मेवारी पाएपछि उनले देशभरका गरीबहरुलाई राहत प्रदान गर्न, महिला अधिकारको विस्तार गर्न,धार्मिक र जातीय एकतालाई सुदृढ गर्न थाले। 

यसले अंग्रेज शासन र शासक विरुद्ध  सशक्त आन्दोलनको वातावरण  निर्माण हुन थाल्यो। दक्षिण अफ्रिकामा प्रयोग गरेको अहिंसात्मक आन्दोलनको अनुभव नै गान्धीजीको आन्दोलनको उर्जा र साहस बनेको थियो। 

अंग्रेज धवाओ र नुनकरको विरोध 

भारतीयहरुलाई संगठित गर्ने सजिलो र लोकप्रिय सूत्र थियो 'अंग्रेज धवाओ' आन्दोलन। अंग्रेज शासनको थिचोमिचोका कारण 'अंग्रेज धवाओ' आन्दोलन  भारतीय नागरिकहरुका लागि ऐक्यबद्ध गर्ने सशक्त उर्जा बन्यो। नागरिकमा देखिएको उत्साहले गान्धीजीलाई उत्साहित बनाउने विषय स्वाभाविक नै भयो। 'अंग्रेज धवाओ' आन्दोलनको उद्देश्य थियो स्वराज,आत्मनिर्भरता जस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिनु। 

तत्कालीन ब्रिटिश सरकाले  लगाएको  नुन करको विरोधमा सन् १९३०मा 'नमक सत्याग्रह'  पनि गान्धीको नेतृत्वमा भएको थियो। सन् १९४२ मा अंग्रेजहरुका विरुद्ध 'भारत छोडो' आन्दोलनको पनि शुरुवात गरेका थिए। भारतमा भएको 'नमक सत्याग्रह' र 'भारत छोडो' आन्दोलनको  सफलताले नै भारतलई अंग्रेजहरुको औपनिवेशिक  शासनबाट मुक्त गराउन सफलता मिलेको हो। 'नमक आन्दोलन' र 'भारत छोडो' आन्दोलनले नै गान्धीजीलाई सफलताको र  प्रसिद्धिको उचाइ  प्राप्त भएको हो। 

सत्याग्रह र सादा जीवनशैली भन्न जति सजिलो छ व्यवहारमा उतार्न त्यतिकै कठिन। संसारका राजनीतिका हस्तीहरू यसमा चुकेका कारण नै शासकीय विकृतिको सिकार हुनु परेको तीतो सत्यलाई इतिहासले देखाइ सकेको छ। गान्धीले प्राप्त गरेको प्रसिद्धि , जीवनको जोखिम पूर्ण यात्रा  र सत्य प्रतिको निष्‍ठाको प्रतिफल हो। 
त्यसलाई प्राप्त गर्ने तपस्या गान्धीको जीवनमा पनि पक्कै सहज थिएन। गान्धीले नागरिक अधिकार स्थापनार्थ अफ्रिका र भारतमा समेत जेलको कष्टकर यात्रा गर्नु परेको थियो। गान्धीले जीवनमा अत्यन्तै प्रतिकूल  अवस्था र परिस्थितिमा पनि अहिंसा र सत्यको कठिनतम व्रत  पालना गरे। यसरी सत्य र अहिंसाको उच्च कोटीको विश्वमा नै विशेष पहिचान बनाउने व्यक्ति महात्मा गान्धी नै हुन्।

सादा जीवन र चर्खा आन्दोलन

खानपिनमा ,पहिरनमा,रहनसहनमा  सरलता र सादगी गान्धीका विशेषता र पहिचान हुन। जिन्दगीका पछिल्ला दिनमा पनि सावरमती नामक आफ्नै आश्रममा आफ्नै हातले आफैले चर्खामा तयार गरेको धागोबाट बुनेको र बनेको भारतीय राष्ट्रिय पोशाक धोती गान्धीलाई संझने , आदर गर्ने र प्रेरणा लिने जबर्जस्त आधार हुन्। 

उनी सादा र साकाहारी भोजन गर्दथे। आत्म शुद्धि र शरीरलाई स्वस्थ ,शुद्ध राख्न लामो उपवास उनको जीवन चर्या हुन्थ्यो। प्राकृतिक चिकित्सा विधालाई भारतीय भूमिमा शुरुआत गर्ने र त्यसलाई लोकप्रिय, गुणस्तरीय बनाउने काममा गान्धीको जबर्जस्त योगदान छ। भारतमा प्राकृतिक चिकित्साको थालनी ,विकास र विस्तारको इतिहास गान्धीको जीवनीसँगै जोडिएको छ।

अहिले पनि भारतका प्रख्यात प्राकृतिक चिकित्सालयहरू ,प्राकृतिक चिकित्सा विश्वविद्यालयहरुको इतिहासको जग नै गान्धीको प्राकृतिक जीवनशैलीसंग  जोडिएको छ अर्थात यो विधाको अन्योन्यास्रित सम्बन्ध छ।  

संसारका  विशेष गरेर गरिव तथा  विपन्न  नागरिकहरूका लागि त प्राकृतिक  चिकित्सा पद्धति वरदान नै हो। पार्श्व​प्रभाव मुक्त यो पद्धति मानव जीवनका लागि वरदान नै भन्नुपर्छ। प्राकृतिक चिकित्सा पद्धतिको  शुरुआत  र विकासका माध्यमले आजपनि गान्धीका कारण  धेरै गरीव र धनी रोगीहरुले समेत पुनर्जीवन पाएका छन् भन्दापनि अत्युक्ति हुँदैन।

अहिंसा ,सत्याग्रह,अनुशासित र सभ्य जीवनशैली , सत्य,सदाचार ,सादगी र प्राकृतिक चिकित्सालाई जीवनको अभिन्न  अङ्ग बनाउन गान्धी हामी नेपालीहरूका लागि  अहिले पनि विशेष प्रेरणाको स्रोत हुनुहुन्छ। गान्धीको सत्कर्म,सत्य प्रतिको अगाध निष्ठा र सरल जीवनशैलीले संसारभर व्याप्त  भ्रष्टाचार ,अन्याय ,अत्याचार ,थिचोमिचो , अनियमितता ,विधि विहीनता ,हिंसात्मक गतिविधि ,दमनलाई सधैं खबरदारी गरेको छ। 

राजनीतिक  परिवर्तन र पदको नाजायज लाभ सत्तामा बस्नेले लिनु हुदैन  भन्ने  सन्देशले नै आजपनि गान्धीलाई संसारभर लोकप्रिय बनाउने साधन बनेको छ। भारतीय राजनैतिक परिवर्तनमा अहम् भूमिका हुँदाहुँदै पनि सत्ताको सुख भोग त्याग गर्ने गान्धीजी संसारकै  विरलै  राजनेता मध्येकै अग्रणी हुनुहुन्छ। महात्मा गान्धी भारतीय  राजनैतिक बगैचाको  दुर्लभ विरूवा हो  जो फल्छ तर फल आफै  फल खादैन।

गान्धीको चर्खा आन्दोलनले जन्माएका खादी उद्योग र ग्रामीण व्यवसाय नै अहिले  भारतमा विकसित कपडा उद्योगहरूका जननी मानिन्छन्। भारतीयहरुले चर्खाबाट शुरुआत गरेको  कपडा उद्योगको प्रविधिमा समयानुकूल सुधार र परिवर्तन गर्दै आज विश्वकै उत्कृष्ट कपडा उद्योगहरु भारतले विकसित गरेको छ। आधुनिक कपडा उद्योगहरुको विकासको आधार वा पूर्वाधारको प्रेरणा स्रोत र श्रेय  गान्धीजीको चर्खा आन्दोलनलाई  नै जान्छ। 

राजनीतिलाई धर्ममा आबद्ध गर्दा राजनीतिमा विद्यमान आपराधिक मानसिकता स्वत: नष्ट हुन्छ भन्ने गान्धीको दृष्टिकोण  र निष्कर्ष संसारभरका सरकारहरूका लागि  शुद्धीकरणको सूत्र हो।

नेपालमा  धेरै पटक राजनीतिक परिवर्तनहरु त भए तर अद्यावधि परिवर्तनको लाभ आम जनसमक्ष नपुगेको मात्र हैन पुग्ने सम्भावना सम्म पनि देखिएको छैन। यसको एकमात्र कारण हो नेपालका राजनीतिक आन्दोलनहरूले एउटा मात्र पनि इमानदार , सत्यप्रति निष्ठा र सादा आचरण भएको नेता जन्माउनै सकेनन्।

धोती ,कुर्ता र टोपीको आवरणमा आफूलाई तथाकथित गान्धीवादी हुँ भन्नेहरु व्यबहारले र आचरणमा आफूलाई  गान्धीवादी प्रमाणित गर्न सकेको भए आज नेपालीहरुले भोगेको दमन , अत्याचार , थिचोमिचो , कानून र नियमको उपहास, भ्रष्टाचार, परिवारवाद , धोखा र असत्यमा आधारित शासन र शासक भोग्नु नै पर्ने थिएन।

गान्धीको जीवनलाई स्मरण गर्दा र भारतको स्वाधीनता पछिका उपलब्धिहरुलाई संझदा, देख्दा र पढ्दा  नेपालका  राजनीतिका जिम्मेवारहरुको क्रियाकलाप , व्यबहार , आचरण , जीवनशैली प्रति घृणाको पहाड नै खडा हुन्छ। गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका प्रणेतालाई स्मरणसम्म गर्दा पनि विश्व राजनीतिले विकृतिहरुबाट बच्न शिक्षा लियो भने गान्धीजीको सपना साकार हुने थियो। गान्धीलाई उनको राजनीतिक र सामाजिक योगदानको बर्णनमा मात्र  सीमित नगरेर  विश्वका सरकार र नागरिकले व्यबहारमा नै प्रयोग गरेभने त्यो नै गान्धी प्रति उच्च सम्मान र श्रद्धा हुनेछ। 

ढकाल  त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका अवकाशप्राप्त प्राध्यापक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.