|

इलाम : वि.सं. १९९० को दशकमा पेट्रोलम्याक्स बालेर राणा र रैती टिमबीच खेलिएको फुटबलको किस्सा होस् या पानीमा रुझ्दै खेलिएको कराते, भूकम्पपीडित स्मृति कप, माईभ्याली गोल्डकप या फुटबलरको घर, यी सबै इलामका आकर्षण हुन्।

इतिहास खोतल्दा होस् या वर्तमान नियाल्दा, इलाममा खेलकुदको लय कहिल्यै कमी आएन। प्राकृतिक छटाले भरिपूर्ण इलामका लागि खेलकुद अर्को गौरवको विषय हो। तर, केन्द्रमा मात्र लगानी गर्नु नेपाली खेलकुदको कमजोरी हो। इलाम र आसपासका क्षेत्रमा खेलकुदमा भएको लगानी हेर्दा त्यो कुरा छर्लङ्ग हुन्छ।

मोफसलमा छिटफुट प्रतियोगिता आयोजना हुन्छ। त्यसैले होला लगानी पनि कम हुन्छ। यस्तो अवस्थामा मोफसलका जिल्लालाई खेलकुदमा टिक्नु नै चुनौती हो। जसोतसो प्रतियोगिता धान्ने, जिल्ला स्तरका टिम बनाउने, खेलकुदका सामान्य गतिविधि गर्नेबाहेक जिल्ला स्तरमा नौला गतिविधि विरलै हुन्छन्।

खेलकुद क्षेत्रका लागि काठमाडौं र मोफसलमा सुविधा र अवसरमा धेरै फरक छ। तर, मोफसलमा स्टारडम र परिपक्व भएपछि मात्रै खेलाडीहरुलाई केन्द्रले अवसर दिन्छ। इलामको हकमा भने यो लागु हुँदैन। अभावबीच पनि इलामले खेलकुद गरिमालाई कायमै राख्दै आएको छ। त्यसैले पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले इलामलाई खेलकुदको अर्को राजधानीको उपमा दिएको थियो। राखेपले आठ वर्ष अघि इलामबाट खेलकुद सम्भाव्यताको अध्ययन पनि सुरु गरेको थियो।

फुटबल र इलाम

इलामको फुटबल इतिहास कम चाख लाग्दो छैन। सुगौली सन्धिपछि सन् १८२६ मा दार्जिलिङ भारतमा गाभिएपछि इलाम र भारतको आउजाउ राम्रोसँग हुन थाल्यो। त्यही बेला ब्रिटिस सेनाको भर्ती केन्द्र दार्जिलिङको गुम पहाडमा भयो। भारतमा काम गर्ने र सेनामा भर्ती भएका नेपाली आउँदा कोसेलीको साथमा भकुण्डो अर्थात् फुटबल लिएर आउन थाले। उनीहरुले आफूले सिकेको खेल पुस्तान्तरण गरे। इलाममा फुटबल टिम बनाएरै खेल्ने चलन भने वि.सं. १९८० को दशकमा शुरु भएको हो।

‘गोरु नारेर खारिएको सेनाको स्वामित्वमा रहेको ठूलो टुडिखेलमा फुटबल खेल टुट्दैनथ्यो,’ इलामको इतिहासबारे जानकार युद्धप्रसाद वैद्यले भने। इलाममा वडाहाकिमको रुपमा जर्नेल र कर्नेलहरु काठमाडौंबाट आउँथे। राज शमशेर जबरा बडाहाकिम भएर आए। उनी खेलाडी समेत भएकाले फुटबल सुुरु हुन सहज भएको वैद्य बताउँछन्। इलामलाई फुटबलसँग परिचय दिलाएको उनै राज शमशेरले हो।

वि.स. १९९० सालमा जर्नेल महावीर शमशेर जबरा बडाहाकिम भएर इलाम पुगे। त्यसपछि इलाममा फुटबलको रंग बदलियो। उनी फुटबल खेलाडी तथा खेल संयोजक समेत भएकाले बसुन्जेल आफ्नो फुटबल टिम बनाए। उनको टिमसँग फुटबल खेल्न थालेपछि इलाममा धेरै खेलाडी उत्पादन भए। बडाहाकिमहरु स्थानीयसँग फुटबल खेल्थे। इलामे टिमलाई बडाहाकिमको टिमले नजितेसम्म खेल जारी रहन्थ्यो। रात परे मैदानको चारैतिर पेट्रोलम्याक्स बालेर खेल्ने चलन थियो।

‘बडाहाकिमको टिमले जितेपछि तोप पड्काएर भोजको संकेत गरिन्थ्यो,’ इतिहासविद् वैद्यले भने, ‘दुवै टिमका खेलाडीलाई बडाहाकिमले दरबारमा लगेर भोज खुवाउँथे।’ 

बडाहाकिमले सुरु गरेको फुटबल बिस्तारै फस्टाउँदै गयो। इलाममा फुटबल खेलाडी उत्पादन हुन थाले। केही समयको अन्तरालमा इलामले धेरै राम्रा राम्रा खेलाडी पायो। रुपकराज शर्मा नेतृत्वको विश्वकप छनौट खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीमा इलामका धिरेन्द्र प्रधान (जो एन्फाको महासचिव समेत भए) र गणेश पाण्डे समावेश थिए। त्यसपछि झ्याङ्गिएको इलामको फुटबलले लोकबन्धु गुरुङ, सुवास राईजस्ता हस्ती दियो। सविन रेग्मी, नवयुग श्रेष्ठजस्ता भरपर्दा खेलाडी इलामले जन्मायो। अहिले छिरिङ गुरुङ, विवेक बस्नेत, विशाल तामाङ, मनिष थापा, दर्शन गुरुङको पुस्तासम्म पुग्दा इलामको फुटबल उस्तै उल्लासमय छ।

नेपाली फुटबलसँग इलामले प्रत्यक्ष सरोकार राख्छ। २०४० सालमा राष्ट्रिय टोलीमा अवसर पाएर पनि सहभागी हुन नसकेका मंगेश बस्नेत हुन् या अहिले राष्ट्रिय टोलीमा रहेका नवयुग श्रेष्ठ, एन्जिला तुम्बापो सुब्बा, मनिष, छिरिङ र दर्शन, उनीहरुले इलामको फुटबल संस्कारलाई बुझाउँछन्। इलाममा यतिधेरै स्टार खेलाडीहरु छन् कि काठमाडौंका धेरै क्लब इलामका खेलाडी बेगर पूर्ण हुँदैनन। ए डिभिजन र बि डिभिजन लिगमा इलामे खेलाडीहरुको चर्चा हुने गरेको छ।

माईभ्याली गोल्डकप र इलाम

इलाममा आयोजना हुने माईभ्याली गोल्डकपको चार्म देखेर सबै लोभिन्छन्। फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वयं पनि लोभिन्छ। हरेक वर्ष हुने माईभ्याली गोल्डकप हेर्न एन्फा पदाधिकारी लर्को लागेर इलाम आउँछन्।

‘इलामेको अर्को दशैं’ उपमा पाएको माईभ्याली गोल्डकप हेर्न गाउँगाउँबाट दर्शकहरु इलाम भित्रिन्छन्। फुटबल सुरु हुने बेलामा बजार नै सुनसान बनाएर खेल हेर्न पुग्छन्। माईभ्याली गोल्डकपमा एकै दिन दर्शकबाट १४ लाख ५० हजाररुपैयाँभन्दा बढी रकम संकलन भएको छ। १० हजारभन्दा बढी स्थानीय दर्शकले एकै दिन खेल हेरेको पनि तथ्यांक छ। ‘आफ्नै घरको छतमा बसेर प्रतियोगिता हेर्दा पनि शुल्क तिर्छन् इलामेली,’ माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ भन्छन्, ‘दर्शकको अपार मायाले छैटौं संस्करणसम्म प्रतियोगिता सभ्य र भव्य रुपमा आयोजना गर्न सकेका छौं।’

खेल मैदानको अभावमा नेपाली सेनाको स्वामित्वमा रहेको टुडिखेलमा गोल्डकप प्रतियोगिता आयोजना हुन्छ। पूर्वाधार अभावलाई सम्बोधन गर्न एन्फाले सूर्योदय नगरपालिकाको करफोकमा एकेडेमीको काम अघि बढाए पनि त्रिपक्षीय स्वामित्व विवादले अपेक्षाअनुसार गति लिन सकेको छैन। 

‘भने जस्तो खेलमैदान भइदिएको भए फुटबलले अझै उमंग ल्याउँथ्यो,’ अध्यक्ष चेम्जोङले भन्छन्, ‘देशविदेशमा रहेका इलामेहरुको सहयोग नै प्रतियोगिता सम्पन्न गर्ने आधार हो।’ बेलायत, अमेरिकालगायतका देशबाट मात्र होइन, गाँस कटाएरै भए पनि खाडी मुलुकमा हुने इलामेहरुको पनि अपार माया छ माईभ्यालीलाई।

फुटबल प्रतियोगिता इलामबाहिर पनि आयोजना हुन्छन्। तर, इलाम भनेपछि खेलाडीहरुको जोश बेग्लै हुने राष्ट्रिय टोलीका पूर्वकप्तान विराज मर्हजन बताउाछन्। ‘आयोजकको व्यवस्थापन र दर्शकको माया नै इलामको सम्पति हो,’ मर्हजन भन्छन्, ‘ इलाममा फुटबल खेल्ने भनेपछि बेग्लै उत्साह हुन्छ। भरिभराउ दर्शकका माझमा आउने हुटिङ र आयोजकको व्यवहारले सधै इलाम आइरहन मन लाग्छ।’

कराँते र इलाम

इलाममा फुटबल मात्र होइन, अभावबीच भलिबल, कराँते, चेसलगायतका खेलहरु आयोजना हुँदै आएका छन्। इलामको पूर्वी भेगमा गतिलो पूर्वाधारबिना पनि हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना हुन्छ। जहाँ नेपाल, भारत, भुटान, बंगलादेशका खेलाडीहरुको सहभागिता रहन्छ। 

२०७५ चैतमा सातौं संस्करणको अन्तर्राष्ट्रिय प्रतियोगिता पर्यटकीय क्षेत्र श्री अन्तुको खुला मैदानमा आयोजना गरिएको थियो। पानी पर्‍यो, खेलाडीहरु रुझेरै सहभागी भए। छैटौं संस्करणमा सहभागी भएका १०० भन्दा बढी खेलाडी र उनका अभिभावकलाई समेत आयोजकले व्यवस्थापन गरेर राख्यो।

२०४५ सालमा योगेश चाम्लिङको पहलमा इलाममा कराँते भित्रिएको हो। उनकै प्रशिक्षणमा अहिले इलामका २०० भन्दा बढी खेलाडीले दक्षिण एसियाका विभिन्न प्रतियोगितामा सहभागिता जनाएर मेडल भित्र्याएका छन्। पूर्वाधार अभावमा पनि इलामले ऊर्जा र प्रतिभाले भरिएका खेलाडी उत्पादन गर्दैछ। योगेशकै उत्पादन सुस्मिता निरौला, विमोचना गुरुङ, सरोज निरौला, सुनिता श्रेष्ठलगायत खेलाडी अहिले दुबईमा प्रशिक्षकको रुपमा छन्।

महिला फुटबलमा इलाम

महिला फुटलमा पनि इलामको योगदान उल्लेख्य छ। इलामको पूर्वी क्षेत्रको फिक्कल–पशुपतीनगर क्षेत्रबाट महिला फुटबल उदय भयो। यस क्षेत्रमा तत्कालीन समयमा महिलालाई फुटबल खेल्न सामाजिक परिवेश अनुकूल थियो। त्यसको फाइदा धेरै महिलाले लिए।

रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत,  शोभा राई, जमुना पाण्डे समावेश थिए। उनीहरुबाट अन्य खेलाडीलाई पनि प्रेरणा मिल्यो। २०४० साल आसपास महिला फुटबलका लागि इलाम खेलाडीको हब नै थियो। २०४३ सालमा तेस्रो राष्ट्रिय महिला फुटबल जितेको मेचीको फुटबल टोलीमा १२ जना इलामेली खेलाडी थिए। त्यही क्रमलाई पछ्याउदै रञ्जना दर्जी, संरचना प्रधान, एन्जिला तुम्बापो सुब्बालगायतले महिला फुटबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन्।

चेस र अन्य

चेसमा नेपालबाट अन्तर्राष्ट्रिय आयोजकको मान्यता पाउने एक मात्र विदुर गौतमको गृह जिल्ला पनि इलाम हो। उनकै पहलमा चार वर्षअघि इलाममा १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसिप आयोजना भयो। जहाँ नेपालका चर्चित फिडे मास्टरहरुको सहभागिता थियो।

विदुरकै पहलमा उनको गृह क्षेत्र मंगलबारेमा स्थापना भएको गजुरमुखी चेस क्लबले राष्ट्रिय स्तरमा आयोजना हुने चेस प्रतियोगितामा इलामे खेलाडीहरुलाई सहभागिता गराउँदै आएको छ। विदुरले आफ्नै लगानीमा आफ्नी आमा टंकमाया गौतमको स्मृतिमा प्रदेश स्तरीय चेस आयोजना गरेका छन्।

नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सात वर्षसम्म नेतृत्व गरेकी बिनिता बुढाथोकी र बास्केटबल खेलाडी विजय वुर्जाको गृह जिल्ला पनि इलाम हो। नेपाली राष्ट्रिय बास्केटबल टिमका कप्तान सदिश प्रधानको पनि सम्वन्ध इलामसँग छ। उनी फुटबलर धिरेन्द्र प्रधानका छोरा हुन्।

प्रदेश स्तरीय फुटबल, उसु, कराँतेलगायतका विधामा इलामले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ। देशका अन्य जिल्लामा संघहरु दर्ता भएर निष्क्रिय हुने क्रम तीव्र हुँदा इलाममा रहेका ११ वटा संघले सक्रिय रुपमा काम गरिरहेका छन्।

उसु संघका जिल्ला अध्यक्ष भिम पौडेल भन्छन्, ‘इलाममा खेलकुदको माहोल छ। अभावबीच पनि प्रतियोगिता रोकिएका छैनन्।’ प्रदेश १ मा हुने जिल्ला स्तरीय होस् या नगर स्तरीय खेलकुदमा इलामले सधै उत्कृष्ट स्थान हासिल गर्दै पौडेल बताउँछन्। इलामका खेलाडीले देशलाई पदक दिलाएको र त्यो इलामको गौरवको पाटो भएको उनको भनाइ छ। 

गत मंसिरमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुदमा इलाम स्थायी घर भएका छजना खेलाडीले पदक प्राप्त गरे। जसमा उसुकी जुनी राई र फुटबलका छिरिङ गुरुङ एक एक स्वर्ण, महिला फुटबलमा एन्जिला तुम्बापो सुब्बाले एक रजत तथा बाँस्केटबलका विजय बुर्जा, बीच भलिबलकी विनिता बुढाथोकी र जुडोकी सुमित्रा राईले कास्य पदक देशलाई दिलाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.