दार्चुला : महाकाली पारी बन्दै गरेको भारतीय सडकले नेपाली घोरेटो बाटोमा क्षति हुने क्रम अझै रोकिएको छैन। महाकाली पारी किनारै किनार भारतले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ (जिलेटिन) पड्काउँदा महाकालीमा चट्टान खस्ने गरेको छ।
त्यसले नदी किनारमा रहेको नेपालतिरको बाटोमा क्षति हुने क्रम जारी रहेको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिएका छन्।
नेपाली सेनाले निर्माण गरेको घाँटीबगर घोरेटो बाटोभन्दा केही तल (दक्षिणतिर) को भत्किएको वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता बुढाथोकी बताउँछन्। ‘भारतीय सडक निर्माणका क्रममा जिलेटिन पड्काउँदा चट्टान महाकाली नदीमा खस्छ', उनले भने, 'महाकालीको सतह बढ्छ र नदीको धार परिवर्तन भई नेपालतिरको घोरेटो बाटो बगाउँछ।
ब्याँस गाउँपालिकाको बजेटबाट निर्माण गरिएको उक्त बाटो बगाएकाले बाटो अवरुद्ध रहेको गाउँपालिकाका सब-इन्जिनियर वीरेन्द्र सिंह विष्टले बताए। एक हप्ताअघि त्यही बाटो भएर ब्याँस गाउँपालिका-१ मा गएका प्राविधिक विष्टको टोली फर्किँदा बाटो बगाएको पाइएको उनले बताए।
भारतीय सडकका कारण नेपाली घोरेटो बाटोमा क्षति भएकोबारे जिल्ला प्रशासनलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताएका छन्।
विगतमा पनि नेपाली घोरेटो बाटो भारतीय सडकका कारण बेला–बेला क्षति पुग्दै आएको थियो । भारतीय सडक निर्माणका क्रममा जिलेटिन पड्काउँदा नेपालतिर ढुंगा समेत पुग्ने गरेका छन्। बेला-बेला महाकाली नदी नै थुनिने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।