मजदुरी गर्ने बाबु गुमाएपछि नानीहरुको बिचल्ली

|

काठमाडौं : गरिवीबीच बाँचेको एउटा साधारण मान्छेको सपना परिवारलाई खुशी राख्दै जीवन सहज बनाउने नै हुन्छ। तर, ती सपना पूरा गर्न समय र परिस्थितिले सधैँ साथ दिँदैन। समय सधैँ आफू अनुकुल चल्दैन। मानिसले जीवनमा सोचेका कयौँ सपना पानीका फोका झैँ फुटेर हावामा विलीन हुन्छन्। अनि उसको सपनामा पनि पूर्ण विराम लाग्छ।

असोज ८ गते सबेरै चन्द्र पौडेल मजदुरीका लागि घरबाट निस्किएका थिए। उनी आफ्नै दाजुसँग काम गरेर त्यो दिन बेलुका ६ बजे छुट्टिएका थिए। घर फर्किँदै गर्दा उनी बाटोमै दुर्घटनामा परे।

उनी तिलोत्तमा नगरपालिका-६ स्थित गोरकट्टाको तिनाउमा निर्माणाधीन पुलबाट १४ फिट तल खसी पिलरमा अड्किएका थिए। उनले चढ्ने साइकल भने खोला किनारमा भेटिएको थियो।

'तिनाउ पुलको किनारमा उहाँ बेवारिसे अवस्थामा हुनुहुन्थ्यो',  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीतसिंह राठौरले भने, 'हामीले नै उद्धार गरेर अस्पताल पुर्‍याएका थियौं। तर, उपचारका क्रममा उहाँको ज्यान गयो।'

अविरल वर्षाले तिनाउ नदीको बहाव उच्च थियो। लामो समयदेखि निर्माणाधीन पुलबाट साइकल चलाएर आएका उनी खसेपछि टाउकोमा गम्भीर चोट लागेको थियो। पिलरमा अड्किएका थिए। बेलुका अड्किएका उनी त्यो रातभर त्यही नै रहेको पौडेलकी छिमेकी शारदादेवी रेग्मीले जानकारी दिइन्।

'त्यो साँझदेखि उनी तिनाउ पुलमा अड्किएका थिए। भोलिपल्ट 'मर्निङ्वाक' जानेले देखेपछि मात्रै अर्धचेत अवस्थामा उद्धार गरिएको थियो। अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो', उनले भनिन्, 'सायद बेलैमा उपचार पाएको भए सायद भाइ बाँच्‍न सक्थ्यो कि।'

परिवारको मेरुदण्ड गुमाएपछि बाँचेकाहरूको बिचल्ली भएको छ। उनको सास गएसँगै परिवारको खुशी खोसिएको छ। छोरीहरुलाई आड दिने टेको भाँचियो। ५ जना क्रमश : १४, १२,९, ७, ५ वर्षका नानीहरूको भविष्य कहालीलाग्दो बनेको छ। रेग्मीले आफ्नै सक्रियतामा नानीहरूको रेखदेखका लागि सहयोगको याचना गरिरहेकी छिन्।

'अब परिवारको रेखदेख गर्ने जिम्मा हाम्रो हो। छोरीको पढाइका लागि र परिवारको समस्या समाधान गर्न विभिन्‍न क्षेत्रबाट सहयोग उठाउने काम भइरहेको छ', रेग्मीले भनिन्, 'हालसम्म १ लाख ३५ हजार बैंकमा जम्मा भइसकेको छ। थप दाताहरूले दिने वचन दिनु भएको छ।'

पौडेलको स्थायी घर फलेवास नगरपालिका-१० पर्वतमा पर्छ। उनको जायजेथाले तीन महिना पनि भरथेग गर्न नसकेपछि परिवारलाई बुटवल लिएर आए। त्यहाँ उनको परिवारले अधियाँमा खेती गरेर जीविका चलाउँथे। अन्य समयमा मजदुरी गर्ने उनी बुटवल झरेको २ वर्ष नपुग्दै ज्यान गुमाउन पुगे।

गाउँको घर भत्किएको छ। उनको जायजेथा पहिरोको जोखिममा रहेको नेपाल राष्ट्रिय नमुना युवा रेडक्रस सर्कल कुर्घाका अध्यक्ष विजय पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आर्थिक सहयोग उठाउने काम भइरहेको छ। तर कोरोनाले राहत संकलन प्रभावकारी हुन सकेको छैन। पौडेल परिवारलाई सहयोगका लागि चितवन, काठमाडौं र बुटवल बस्‍ने 'कुर्घेली'ले सहयोग अभियान चलाइरहेका छन्।  काठमाडौमा रहेर सहयोग अभियानलाई सहजीकरण गर्दै आएका उप-प्राध्यापक बाबुराम शर्माले विस्तारै सहयोग उठिरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.