|

कञ्चनपुर : महाकाली नगरपालिका-४ का गोरे दमाईलाई  बाजुरा बाह्रबिसेका मोहनलाल दमाईसँग छोरी अमृताको विवाह गर्दा सुखी हुने आशा थियो।

भारतीय सहर लोहाघाटमा सिलाई काम गर्ने मोहनको परिवारसँग पुरानो नाताले दुई परिवारको सम्बन्ध जोडिएको थियो। अहिले दुई परिवारको सम्बन्ध त यथावत् छ। दमाई परिवारलाई भने छोरीको घरबारसमेत हेर्नुपर्ने बाध्यता आइलागेको छ। उनी भन्छन्, ‘छोरीको यस्तो हालत छ, ज्वाइँ घरमा छैनन्, हामीले नहेरी नहुने भो।’

दुई वर्षदेखि अमृतासहित उनका तीन सन्तानलाई दमाई र उनकी धर्मपत्नी वैशाखाले लालनपालन गर्दै आएका छन्। उनीहरु घरबार छाडेर छोरीकै घरमा आएर बसेका छन्।

अमृताका श्रीमान मजदुरीका लागि भारत जानु अघिसम्म उनको परिवार राम्रोसँग चलेको थियो। दुई वर्षअघि परिवार चलाउन श्रीमान् भारत गएपछि अमृताका दुःखका दिन सुरु भएका हुन्। अहिले अमृताको मानसिक सन्तुलन ठिक नभएर उनका सन्तानलाई मावलीका बाजे बज्यैले सहारा दिएका छन्।

मजदुरी गरी परिवार पाल्ने मोहन भारत गएर सम्पर्कमा नआएपछि अमृताले मजदुरी गरी छोराछोरी हुर्काइरेहेकी थिइन्। मानसिक सन्तुलन बिग्रेपछि छोराछोरी सहाराविहीन हुन पुगेका हुन्। अहिले उनका एक छोरा र दुई छोरी बाजे बज्यैको सहारामा छन्।

‘कोही छैन, खाना बनाउनु आउनु पर्छ, नआई हुँदैन,’ वैशाखाले भनिन्, ‘अब हामिले नहेरी अरुले कोले हेर्ने हो त?’ मानसिक सन्तुलन बिग्रेपछि अमृता दिनभरि घर बाहिर बस्ने गरेकी छन्। राति मात्रै घरभित्र जाने गर्छिन्। घरमा नयाँ मान्छे आएपछि उनी भागेर झाडीमुनि लुक्ने गरेकी छन्।

‘खै के भएको हो, कोही नयाँ मान्छे आएपछि यसरी नै झाडीमुनि लुकेर बस्ने गर्छे’, उनकी आमा वैशाखाले भनिन्, ‘देवीदेवता लागेको हो भन्छन्, के रहेछ, के भयो थाहा भएन।’ 

‘पैसाकै अभावमा झाँक्री पनि देखाउन पाएका छैनौं’, उनले भनिन्, ‘उपचारका लागि अस्पताल लैजान सक्ने अवस्था नै छैन। सहायता गर्नेहरु कोही छैनन्। सामाजिक संघ संस्थाले दिएको केही राहतले केही दिन खान पुगेको थियो। अब के खाने भन्ने पिरलो छ।’

अमृताको परिवार ऐलानी जमिनमा टहरा बनाएर बस्दै आएको छ। उनको परिवार यहाँ १२ वर्षअघि बस्दै आएको छ। त्यसअघि उनको परिवार चाँदनीमै अर्को ठाउँमा बस्ने गर्थे। 

१० वर्षअघि विवाह भएकी अमृता अहिले ३० वर्ष पुगेकी छन्। उनका तीन सन्तानमध्ये जेठा छोरा १२ वर्षका छन्। उनलाई मावलीले विद्यालय पठाएको छ। दुई छोरी ६ वर्ष र अढाई वर्षका छन्। ६ वर्षकी छोरीलाई विद्यालय पठाउन उनीहरुले सकेका छैनन्।

अमृताकी आमा वैशाखाले छरछिमेकबाट मागेर समेत उनीहरुलाई खुवाउने गर्छिन्। छिमेकीहरुले अहिलेसम्म सहयोग गर्दै आएको सहयोगले उनीहरु पालिएका छन्। दमाई परिवारले नाति नातिनालाई सहयोग गरिदिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.