संघ, प्रदेश र स्थानीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

|

विराटनगर : विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न प्रक्रिया सुरु भएको छ। हालको अवस्थाबाट ३ हजार मिटरमा विमास्थललाई विस्तार गर्ने गरी सोमबार विराटनगरमा तीन तहका सरकारबीच समझदारी भएको छ।

अब विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्नेगरी क्षमता अभिवृद्धि गरिने छ। सम्झौता अनुसार विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटर पुर्‍याउने तथा अन्य आवश्यक पूर्वाधार बनाएर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ। 

संघीय सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतीसम्बन्धी त्रिपक्षीय लागत साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा विराटनगरमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
१५०० मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३००० मिटरको बनाउने समझदारीपत्रमा उल्लेख छ। 

त्यसका लागि संघीय सरकारले खासगरी जग्गाको मुआब्जाका लागि ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत बेहोर्ने समझदारी भएको छ। 

विमानस्थलको विस्तारका लागि यसअघि प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरेको थियो भने लागत सहभागिता पनि जनाउने घोषणा गरेको थियो।

विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी प्राविधिक प्रतिवेदन (गुरुयोजना) तयार गरी सोबमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरण समेतका लागि नेपाल सरकारबाट गर्ने निर्णयको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणले पाएको छ। डिजाइन, डीपीआरसहितका कार्ययोजना लगायत आवश्यक कामसमेत प्राधिकरणले गर्नेछ।

विमानस्थल निर्माणको अन्य कामका लागि पनि यथाशक्य लागत साझेदारीको पहल गरिने मन्त्री भट्टराईले जानकारी दिए। पर्यटन क्षेत्रको विकासको लागि तीन तहको सरकारबीच लागत साझेदारीको अवधारणामा बढ्न खोजेको उनको भनाइ छ। 

समझदारी पत्रमा हस्ताक्षर हुने प्रदेशको लागि गौरवपूर्ण ऐतिहासिक क्षण भएको मुख्यमन्त्री शेरधन राईले बताए। विराटनगर विमानस्थलको स्तरोन्नतिले प्रदेशको राजधानी विराटनगर मात्र नभएर सिंगो प्रदेशकै विकासमा टेवा पुग्ने उनको भनाइ थियो। 

समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब संघीय सरकारको मन्त्रीपरिषदबाट विमानस्थल निर्माणका लागि प्रस्ताव पर्यटन मन्त्रालयले अगाडि बढाउनेछ। मन्त्रिपरिषदको स्वीकृति पाएपछि नागरिक उड्डयन प्राधिकरणले डिपिआर निर्माणसहित जग्गा अधिग्रहणको काम बढाउने जनाएको छ। विमानस्थल विस्तारका लागि गत वर्ष उत्तर–दक्षिण चौडाइका लागि आावश्यक केही जमिन सरकारले अधिग्रहण गरिसकेको छ। 

विमानस्थल ३ हजार मिटरमा विस्तार भए धावन मार्गको मध्यविन्दुबाट १ सय ७० मिटर उत्तरदक्षिण चौडाइ आावश्यक पर्ने हुँदा थप जमिन अधिग्रहण गर्नुपर्ने अवस्था हुने प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए। 

विराटनगर विमानस्थल २५ सय मिटरमा विस्तार गर्दा पश्चिम केशलिया नदी पूर्वका जग्गा अधिग्रहण हुनेछ। तर, धावन मार्ग ३ हजार मिटरमा बिस्तार गर्ने तय भएपछि नदीमा पुल हाल्नुपर्ने वा नदीको बहाव परिवर्तन गर्नुपर्ने भएको छ। तर, तत्काललाई जग्गा अधिग्रहणको काम अगाडि बढेपनि विमानस्थल भने २५ सय मिटरमै विस्तार हुने बताइएको छ। 

हाल एक सय १५ बिघा क्षेत्रफल रहेको विमानस्थलको धावनमार्ग एक हजार चार सय मिटरको छ। अहिले ७२ सिट क्षमता भएका पाँच वटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईवटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाइ इन्धन, हवाई सञ्चार सेवा, हवाइ ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.