सक्रिय संक्रमित बढे पनि खाली भएका आइसियु प्रयोगविहीन

|
फाइल फोटो

काठमाडौं : मुलुकभर कोरोना संक्रमितको संख्या १ लाख नाघेसँगै अस्पतालमा उपचार गराउनेको चाप बढेको बढ्यै छ। सक्रिय संक्रमित ३० हजार ८ सयभन्दा बढी छन्। लक्षण भएका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सामान्य बेड तथा आइसियुको अभाव भइसकेको छ।

यतिखेर काठमाडौं उपत्यकाको कोभिड अस्पताल संक्रमितले भरिभराउ छन्। बाहिरी जिल्लाका अस्पतालमा पनि संक्रमितको चाप बढ्न थालेको छ। उपत्यकामा संक्रमितको उपचार गर्न आइसियुको बेड अभाव हुन थालेका समाचार सार्वजनिक भएसँगै बाहिरी जिल्लामा पनि आइसियु भरिन थालेका छन्। तर केही ठाउँका अस्पतालमा निर्माण भएका आइसियु भने जनशक्ति अभावले सञ्चालनमै आउन सकेका छैनन्।

सरकारले उपत्यका बाहिर बनाएका मुख्य-मुख्य कोभिड अस्पतालमा कुल आइसियु बेड संख्या १ सय ६२ छन्। कोभिड अस्पतालको सबै आइसियुमा संक्रमितको चाप बढेको छ। केही अस्पतालले इमर्जेन्सीमा रहेका अक्सिजन जोड्न मिल्ने गरी बनाइएको बेडलाई प्रयोगमा ल्याएर आइसियुको सुविधा प्रदान गर्न थालेको छन्।

प्रदेश १ मा २६ वटा आइसियु, केही खाली

अस्पतालमा आइसियु बनाएर जनशक्ति अभाव भएकोले आइसियु प्रयोगमा ल्याउन नसकिरहेको मेची प्रादेशिक अस्पतालका मेसु डा पीताम्बर ठाकुर बताउँछन्। संक्रमितलाई आइसियुमा राख्नुपर्ने अवस्थामा आए विराटनगर र धरान पठाउने गरिएको उनले जनाए। 

पर्याप्त जनशक्ति भए सुरुवाती दिनदेखि नै आइसियु सञ्चालन गर्न सकिने उनको भनाइ छ। संक्रमितलाई तत्कालै गाह्रो भएमा सुविधायुक्त अस्पतालमा लाँदालाँदै बाटोमा मृत्यु हुन सक्ने अवस्था आउने उनले प्रस्ट पारे।

अधिकांश स्वास्थ्यकर्मीलाई कोभिड भएकोले सबै आइसोलेसनमा बसेका र अहिले सबैले सेवा दिन नसकिरहेको उनले जानकारी दिए। भने,' अस्पतालमा भएका थोरै संख्याका स्वास्थ्यकर्मीले कोभिड संक्रमितलाई उपचार गरिरहेका छन्।'

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५४ संक्रमितको उपचार भइरहेको छ। २ वटा भेन्टिलेटरसहित बिपीमा १० वटा आइसियु बेड रहेका प्रतिष्ठानका सहप्रवक्ता आशीष श्रेष्ठले जानकारी दिए। ४ जना मात्र संक्रमितलाई मात्र आइसियुमा राखी उपचार गरिरहेको उनले जानकारी दिए।

'संक्रमितको गम्भीर अवस्था भएमा मात्र आइसियुमा राखिन्छ, श्रेष्ठले भने,' कोभिड अस्पतालमा अहिले पनि ६ वटा आइसियु बेड खाली छन्। आइसियु भरिने र खाली हुने क्रम जारी छ।'

अस्पताल व्यवस्थापनले आइसियुको अभाव भएमा थप व्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए। ननकोभिडका बिरामीलाई पनि अस्पतालले उपचार गरिरहनु परिरहेको छ। अन्य रोगका बिरामीले प्रयोग गरिरहेको आइसियुलाई तत्कालै प्रयोगमा ल्याउन नसकिने उनले बताए। 

विराटनगरस्थित कोसी अस्पतालको कोभिड उपचार केन्द्रको आइसियु बेड पनि संक्रमित संख्याले भरिएको अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए। उनी भन्छन्,' अस्पतालमा विभिन्न तह गरेर ११ वटा आइसियु छन्। सबै संक्रमितले भरिएका छन्।'

सिग्देलका अनुसार भर्ना भएका सबै ५० प्रतिशत संक्रमितलाई अक्सिजन दिएर राखिएको छ। थोरै संख्यामा लक्षण भएकालाई आइसोलेसनमा राखिएको छ। संक्रमित संख्या बढ्न थालेपछि ६ घण्टामा ड्युटी परिवर्तन गरी २९ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिइरहेका उनले जनाए।  

जनकपुर अस्पताल आइसियु खाली हुँदै

जनकपुर प्रादेशिक अस्पतालमा २ सय ४२ बेडको आइसोलेसन छ। उपचारका लागि थोरैको संख्यामा संक्रमित आउने गरेका अस्पतालका मेसु डा. जामुन सिंह बताउँछन्। उनका अनुसार अस्पतालमा आइसोलेसन बेडभन्दा निकै थोरै संख्यामा आइसियु बेड निर्माण गरिएका छन्। ८ वटामा अहिले ४ जना मात्र संक्रमित उपचाररत छन्।

डा. सिंहका अनुसार त्यहाँ आइसोलेसनमा १० जना संक्रमित उपचाररत छन्। तीन वटा भवनमा आइसोलेसन बनाइएको छ। लक्षण नभएका संक्रमितलाई छुट्टै भवनमा राखिएको उनले जानकारी दिए। तत्काललाई २ वटा भवनको आइसोलेसन बेड सञ्चालनमा आएको र आवश्यक परे प्रयोगमा नआएको आइसोलेसन सेन्टरलाई सञ्चालन ल्याइने उनले बताए।

त्यसैगरी सेती प्रादेशिक अस्पतालमा संक्रमित संख्या कम हुँदै गएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। कोभिड उपचार केन्द्रमा भएका १० आइसियु बेडमध्ये २ जना संक्रमितलाई मात्र राखिएको छ। उनले भने, 'आइसियुमा राखी उपचार गर्दा केही निको हुन्छन्। पुनः लगिन्छ अन्य ८ बेड खाली छ। २ वटा भेन्टिलेटर छ।' यहाँ ४८ बेड निर्माण गरिएका छन्। संक्रमितको अवस्था हेरेर विभिन्न प्रकारका औषधि प्रयोगमा ल्याइएको उनले बताए। गम्भीर अवस्था भएमा रेमडिसिभर र प्लाज्मा थेरापी चलाउने गरिएको उनले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड उपचारका लागि १२ वटा आइसियु बेड छन्। जसमध्ये ५ संक्रमित उपचाररत छन् भने अन्य खाली रहेका प्रतिष्ठानले जनाएको छ। भेन्टिलेटर २ वटा रहेकोमा चाँडै ७ वटा बनाउने योजना रहेको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारीले दिए। प्रतिष्ठानमा संक्रमितको उपचारको लागि ४० बेड छन्। 

'सबै बेडलाई आइसियुको सुविधा दिन सकिन्छ'

भेरी अस्पतालमा बाँकेमा ७२ बेड छन्। सबै बेडमा अक्सिजन जोडेर संक्रमितको उपचार गर्न सकिने अस्पतालका मेसु डा. प्रकाश थापा बताउँछन्। उनका अनुसार आइसियुको सुविधा दिन सकिन्छ। अस्पतालमा भएका बेड आवश्यक परे प्रयोगमा ल्याउन सकिने उनले प्रस्ट पारे। 'आइसियु बेड ८ वटा छन्। तीमध्ये ३ वटा खाली छन्,' उनले जानकारी दिए।

आइसियु सहितको बेड बनाउन यस अस्पतालमा कुनै पनि समस्या नरहने उनको दाबी छ। यहाँ उपचार गर्न आएकाले आइसियु बेड अभावमा ज्यान गुमाउनु नपर्ने उनी बताउँछन्। 

चितवनको कोभिड उपचार केन्द्रका आइसियु भरिभराउ

चितवनमा तीन वटा कोभिड उपचार केन्द्रमा ८५ वटा आइसियु बेड छन्। तर सबै संक्रमितले भरिभराउ छन्। भरतपुरमा अस्पतालमा ५ भेन्टिलेटरसहित १० आइसियु छन्। चितवन मेडिकल कलेजमा ५९ बेडको आइसियु छन्। नपुगेका ठाउँमा इमर्जेन्सीका केही बेडमा अक्सिजन जोडेर प्रयोग गरिएको छ। भरतपुर मेडिकल कलेजमा १६ आइसियु बेड नै भरिभराउ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.