|

अर्घाखाँची : सन्धिखर्क नगरपालिका-१ मा एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ। शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्का परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए। यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जनाए। यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ। कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ। 

बेलझुण्डी अस्पतालमा एक सङ्क्रमितको मृत्यु

दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
 
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उनलाई बुटवलमा आइसियु खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो। मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो। उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.